Comments Add Comment

शंकर लामिछानेको कथा: त्यो रात पनि यस्तै थियो

एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो आँखामा एउटा मुख झल्किन्छ !

म चाहिँ संसारैलाई बटुलेर, सयलाई एकमुष्ठ लिएर, मुछी, भन्न चाहन्छु- कसैले ! तर, त्यो कोही संसारभन्दा छुट्टा भएर ‘म’ भन्दै मेरो आँखामा नाच्न थाल्छे । कस्ती शक्तिशालिनी छ ! आफ्नो मुटुको रगत निचोरी-निचोरी मैले उसलाई हुर्काएँ । उसलाई ठूलो पार्ने मैं हुँ । नत्र त, त्यो एउटी साधारण नारी हो । मेरा आँखामा अरु जस्ता छन्, ऊ पनि त उस्तै होली नि अरुका आँखामा । उसलाई ठूली देख्ने दोष त मेरै आँखाको न हो । दोष मेरै हो ।

आज मेरो मन किन यस्तो भएको ? म किन कतै केही सौन्दर्य देख्दिनँ ? जीवनमा मेरो, अरुको, सबैको, एक किसिमको जडता छ । कोही पनि सुखी छैन, खुसी छैन । त्यो सायद मेरो आफ्नै दृष्टिको दोष होला । जुन दृश्यमा एक हाहाकार, एक रोदन, एक पीडा छ ।

shankar-lamichhane
शंकर लामिछाने

मैले किन उसलाई प्रेम गरेँ ? किन ? किन मैले उसलाई भनेँ- ‘तिमी भइनौ भने त… ….’ त्यस दिन ।

… आमाको १३ दिन सकेर बरखी बारेको लुगामा उसका सामुन्ने उभिएको थिएँ । गहभरि आँसु भरी उसले मलाई हेरी !

… के जोशमा हो, अथवा कुन बहुलट्ठीपनामा हो, मैले उसलाई अँगालेर भनेछु- ‘अब मेरो तिमी बाहेक को छ र माया गर्ने ?’ आफ्नो सप्कोले मेरा आँखा पुछेर उसले भनिथी- ‘छि: छि: लोग्नेमानिस भएर पनि हिम्मत हार्ने हुनुहुन्छ ? आमा कसका सधैं बाँचिरहन्छन् र ? एकदिन त … फेरि म पनि ?’

मैले जवाफ दिन सकेको थिइनँ । तर, मेरो रुवाइ अलि कम भएको थियो ।

‘… नरोऊ, मलाई नराम्रो लाग्छ !’

उसलाई नराम्रो लाग्छ रुनु ! … भो म रुन्नँ, तर उसलाई नरमाइलो लाग्छ मेरी आमा खस्नु, त ऊ किन खसेकी ?

‘तिमी पनि भइनौ भने त …’, मैले घाँटीबाट यत्ति शब्द छिराएँ मुश्किलसाथ । उसले घाँटी वरिपरि बेरिराखेको हात अलि कसिदिई, मानो मलाई अरु कोही, कसैले पनि फुत्काउन सक्दैन थियो त्यहाँबाट । कत्रो विडम्बना, कत्रो छल !! खै, आज ती हात खै ? यस रातमा, जब कालो ओड्नी ओढेर मृत्यु मेरो छेउ आउँदै छ, त्यो तिम्रो, तिम्रो होइन, कसैको, प्रतिज्ञा खै !

उँह ! … …

आज मेरो मन किन यस्तो भएको ? म किन कतै केही सौन्दर्य देख्दिनँ ? जीवनमा मेरो, अरुको, सबैको, एक किसिमको जडता छ । कोही पनि सुखी छैन, खुसी छैन । त्यो सायद मेरो आफ्नै दृष्टिको दोष होला । जुन दृश्यमा एक हाहाकार, एक रोदन, एक पीडा छ । त्यसबाट कसरी स्वस्थ, संगीतमय ध्वनि निस्कन सक्छ ! मेरो दृष्टिकोण नै धमिलिएको छ- अस्पष्ट छ ।

त्यसमा आँसु छ ।

दुई हृदयको आँसु । … … मैले बिर्सेको छैन । उसको विवाह भइसकेको थियो । बाछै बाजा बजाएर, जग्गेको आगोमा तीन फन्का घुमेर, पुरेतहरुको शुद्ध मन्त्रको उच्चारण दोहोर्‍याउँदै- सिन्दूरले उसको त्यो कपालभित्रको विचार छोप्दै । समाजले दुई जीवनलाई सिँगार्ने डोरीलाई जत्ति सिँगार्न सक्थ्यो, उत्तिकै सिँगारेको थियो ।

तर, समाजले उसलाई सुख दिन सकेको रहेनछ । बरु, बाछै-बाजामा उसको आवाज थिचियो, जग्गेको आगामा उसको रगतिली अनुहार उडेछ- नौलो भएछ, तीन फन्का जिउ घुम्दा पनि मनलाई एक फन्का पनि घुमाउन सकिनछ । पुरेतहरुको शुद्ध मन्त्रले उसको जपना मेटाउन सकेनछ । सिन्दूरले उसको विचारलाई त छोपिदिएछ, ननिभ्ने गरी, खरानीले भुङ्ग्रोलाई छोपे झैं ।

ऊ भित्रको आगो त निभेको छैन ।

म भेट्न गएको थिएँ, विवाहका कैयन् महिनापछि । सेतो मैलो लुगामा सुनिएको नीलडामै जिउ लिएर, भरसक छोप्ने प्रयत्न गर्दै ऊ मेरो अगाडि परी । आँखामा हेरेँ । — खै, तिनमा मोहनी लाग्न सक्ने शक्ति छैन, तिनै आँखामा जसमा, कुनै दिन यस्तो बाढी थियो कि मैले आफ्नो मन रोक्न सकेको थिइनँ । त्यस्तो धारा, त्यस्तो तेज, त्यस्तो बिझ्ने । तिनै आँखामा–

के जोशमा हो, अथवा कुन बहुलट्ठीपनामा हो, मैले उसलाई अँगालेर भनेछु- ‘अब मेरो तिमी बाहेक को छ र माया गर्ने ?’ आफ्नो सप्कोले मेरा आँखा पुछेर उसले भनिथी- ‘छि: छि: लोग्नेमानिस भएर पनि हिम्मत हार्ने हुनुहुन्छ ? आमा कसका सधैं बाँचिरहन्छन् र ?’

सुकिबसेको खोलाको बगर थियो । चिसो-चिसो बालुवा, आह ! आँसु पनि बिचरीले बगाइसकिछ सुकुन्जेल ।

‘तिमीलाई दुःख छ ?’ मैले रोक्न नसकी सोधेको थिएँ ।

‘दुःख ? दुःख त… अब के को दुःख ?’ उसले तातो आँधी झिकेकी थिई ।

पक्क परेर उसको मुख हेरिरहेँ ।

‘सहँदा-सहँदा, अब दुःख दुःख रहेन । तर, शंकर, पछिल्लो सपनाले दुःख दिन्छ । सुख सम्झँदा दुःख हुन्छ बरु ।’

उसको जीवनमा अनौठो दर्शन देखेर, मैले बुझ्न सकिनँ । ‘सुख सम्झँदा दुःख हुन्छ !!!’

सुख सम्झँदा दुःख हुन्छ ।

त्यो कस्तो जीवन जसमा सुख सम्झँदा दुःख हुन्छ ।

भोलिपल्ट आउने वचन दिएर म हिँडेथेँ । तर, त्यो भोलि कहिले पनि आएन । पाइला बढाउनै सकिनँ ऊ तिर । उसको दुःखको सामना गर्ने शक्ति समेत थिएन ममा । छि: कातर !

एउटी यस्ती छ, जसको जीवन नै धाप छ ।

एउटा तँ छस्, जो उसलाई सहानुभूति समेत दिन्नस् । … रेलमा सुनेँ, मसँग भेटेकोमा उसका आङमा नीलडाम थपिएछन् । नयाँ पुरस्कार । अनि मैले सम्झेँ मेरो सहानुभूति पनि उसले केही नतिरी लिन पाउँदिन । ऊ देखि टाढा-टाढा भागिरहेको रेलमा बसेर म झन्-झन् उसको नगीच पुग्दै गएँ । उसलाई आशीर्वाद दिँदै थिएँ !

त्यो पनि यस्तै रात थियो ।

एक, कालो ओड्ने ओढे झैं मीठो रात बादलको घुम्टोमा लुकेकी थिई । चिसो-चिसो हावा आएर जिउलाई अँगालिरहेको थियो । एकतमासको सिरिङ्ग गर्थ्यो जिउ । कसैले सुम्सुम्याए झैं प्यारले ।

(पारसमणि प्रधानको सम्पादनमा निस्किने भारती मासिक पत्रिकाको २००९ पुस अंकबाट ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment