Comments Add Comment

भरतपुर अस्पतालका डाक्टर भन्छन्ः आठ-पाँचको ड्युटी गर्दैनौं

bharatpur-hospital
१० माघ, चितवन । चितवनको सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्मको ड्युटी नगर्ने घोषणा गरेका छन् ।

सरकारले हठात रुपमा र बिना परामर्श आठ-पाँचको ड्युटी तोकेको भन्दै त्यसको अवज्ञा गर्ने घोषणा गरेका हुन् ।

सरकारले देशभरका सरकारी अस्पतालहरुको ओपीडी सेवा बिस्तार गरेको छ । त्यसविरुद्ध सरकारी अस्पतालका चिकित्सकहरु आन्दोलन गर्ने मनस्थितिमा छन् ।

स्वास्थ्य मन्त्रालयले पेस गरेको नेपाल सरकारको स्वामित्वका स्वास्थ्य संस्थामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु सम्बन्धमा जारी निर्देशन २०७३ पारित गरेसँगै चिकित्सकहरुले यो निर्णय फिर्ता लिन दवाव बढाएका छन् । नेपाल चिकित्सक संघ मार्फत उनीहरुले सरकारको निर्णय अव्यहारीक, हठात र एकांकी भएको भन्दै जिल्ला जिल्लाबाट दवाव सिर्जना गरेका छन् ।

चितवनको भरतपुर अस्पतालमा कार्यरत अधिकांश सरकारी चिकित्सकहरुले सरकारले जबर्जस्ती गरे आन्दोलनमा उत्रिने चेतावनी दिए । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले भने, ‘यो निर्णयको हामी घोर भर्त्सना गर्दछौं । यो हाम्रो श्रम शोषण हो ।’

ओपीडी सेवा बिस्तार गर्ने सरकारको निर्णयले स्वास्थ्य क्षेत्र लथालिङ्ग हुने उनले दाबी गरे ।

उनले आफूहरुलाई निजामती सेवाको कर्मचारी सरह व्यवहार नभएको भन्दै आक्रोश समेत पोखे । डा. खतिवडाले भने, ‘निजामती सेवामा ११ औं तहमा काम गर्ने मान्छे सचिव हुन्छ । उसका घरमा गाडी-घोंडा हुन्छ । सारा सुविधा हुन्छ । तर, हामीलाई सरकारले के दिएको छ ? एउटा क्वाटर त दिएको छैन ।’

अस्पतालका मानसिक रोग बिषेशज्ञ डा. सुनिलकुमार शाहले सरकारी कार्यालय बिहान १० बजेबाट ४ बजेसम्म खोले पनि हुने, तर सरकारी चिकित्सक किन बिहान ८ बजे नै आउनुपर्ने भन्दै प्रश्न गरे । उनले सरकारी अस्पतालका चिकित्सकले सरकारले दिएको अत्तिरिक्त रकम पनि लिन्न र अतिरिक्त समय काम पनि गर्दिन भन्न पाउने अधिकार पनि रहने जिकिर गरे ।

भरतपुर अस्पतालका रेडियोजोष्टि डा. केशव पौडेलले श्रम ऐन अन्तर्गत नै चिकित्सकहरुले काम गर्ने भन्दै श्रम शोषण गर्न नपाइने बताए ।

चिकित्सक संघ चितवनका सचिव डा. भोजराज अधिकारीले २४ सै घण्टा काम गरेकेा चिकित्सकलाई सरकारले नै बिहान ८ बजेदेखि ५ बजेसम्म मात्रै काम गर्न किन भन्यो यो अर्को आश्चर्यको बिषय भएको बताए ।

यता, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले सरकारले जारी गरेको निर्देशिका अस्पष्ट रहेको प्रतिक्रिया दिए । चिकित्सक र सरोकारवालाहरुको बीचमा प्रयाप्त छलफल नै नगरी निर्देशिका आएकाले दुवै पक्षको समन्वयमा निर्णय भए कार्यान्वयनमा सहजता आउने डा. मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment