Comments Add Comment

संगीता माननीयलाई मध्यराति फोन गर्दा महोत्तरीका एसपी हेडक्वार्टर तानिए

सांसद भन्छिन्- उहाँले 'सरी' भनिसक्नुभयो

police

१० माघ, काठमाडौं । एकजना महिला सांसदलाई आधा रातमा फोन गरेको आरोपमा महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय सोमबार हेडक्वार्टर तानिएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसकी सांसद संगीता मण्डल (धानुक) लाई महोत्तरीका एसपी उपाध्यायले आइतबार राति फोन गरेका थिए । आफूलाई एसपीले फोनमा दुव्र्यवहार गरेको भन्दै संगीताले आफ्नै पार्टीका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधीलाई जानकारी गराएकी थिइन् । त्यसलगत्तै मन्त्री निधीको निर्देशनमा एसपी उपाध्यायलाई सोमबार हेडक्वार्टर झिकाइएको स्रोतले अनलाइनखबरलाई बतायो ।

एसपी उपाध्याय करिब दुई महिना अघिमात्रै प्रहरी प्रधान कार्यालयबाट महोत्तरी सरुवा भएका थिए । एसपी उपाध्यायले राति सांसद संगीतालाई फोनमा छाडा शब्द प्रयोग गरेको स्रोतको दाबी छ ।

यसबारे चासो राख्दा महोत्तरीकी कांग्रेस सांसद संगीताले अनलाइनखबरसँग भनिन्- ‘त्यस्तो ठूलो केही पनि हैन, एसपीसा’बले ममाथि मिस बिहेब गर्नुभयो, र यो कुरा मैले गृहमन्त्रीज्यूलाई जानकारी गराएँ ।’

फोनमा त्यस्तो व्यवहार गरिसकेपछि एसपीले आफूसित माफीसमेत मागिसकेको सांसद धानुकले अनलाइनखबरलाई बताइन् । धानुकले भनिन्- ‘उहाँले सरी पनि भनिसक्नुभएको छ । तर, म सांसदजस्तो व्यक्तिमाथि त्यस्तो अपमान हुँदा चुपलाग्नुहुँदैन भनेर मैले गृहमन्त्रालयमा जानकारी दिएकी हुँ ।’

एसपी उपाध्यायसँग आफ्नो पूर्व चिनजान भए/नभएको र कुन प्रयोजनका लागि उनले फोन गरेको भन्ने चाँहि सांसदले खुलाइनन् । उनले भनिन्- ‘मेरा श्रीमान र छोराछोरीका अगाडि उहाँले फोनमा त्यस्तो व्यवहार गर्दा चुप लागेर बस्ने कुरा पनि त भएन ।’

४६ वर्षीया धानुक महोत्तरीको राम गोपालपुर गाविस निवासी हुन् । उपत्यकामा उनको भक्तपुरको लोकन्थलीमा घर छ । ०६२ सालदेखि राजनीतिमा लागेकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् । उनका एक छोरा र छोरी छन् । कांग्रेसको महासमिति सदस्यसमेत रहेकी उनले ५ वर्ष सामाजिक सेविकाका रुपमा काम गरेकी छिन् ।

यसबारेमा एसपी उपाध्यायसँग बुझ्न खोज्दा उनले टेलीफोन रिसिभ गरेनन् । अनलाइनखबरबाट गरेको म्यासेजको पनि एसपी उपाध्यायबाट कुनै रिप्लाइ आएन ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयले भने ‘एसपी साहेब केही दिनको बिदामा काठमाडौं गएको’ जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment