Comments Add Comment

केपी ओलीको सिके राउतसँग साँठगाँठ त छैन ?

mani-thapa-810-1

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाले एमाले अध्यक्ष केपी ओलीले विखण्डकारी सिके राउतलाई सहयोग पुर्‍याइरहेको आरोप लगाएका छन् । अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा माओवादी नेता थापाले भने- ‘मेरो गम्भीर आरोप छ, केपी ओलीको कतै सिके राउतसँग त साँठगाँठ छैन  ?’

एमालेले देश टुक्रिन सक्छ भन्ने कन्सेप्ट ल्याएर राष्ट्रिय एकतालाई घुमाउरो रुपमा अस्वीकार गरेको र सिके राउतको सेवा गरिरहेको थापाको आरोप छ ।

थापाले अनलाइनखबरसँग भने- ‘नेपाल कसैको उपनिवेश भएको छैन । सुघौली सन्धी एउटा परिस्थित भयो, तर नेपालको भूगोल कहिल्यै गुमेको छैन बरु नेपालको कुटनीतिक सफलताबाट गुमेको भूमि फिर्ता लिएको छ । तर, एमालेले नेपालको भूमि टुट्न सक्छ, फुट्न सक्छ भनेर अफवाह गरिरहेको छ, उसले नेपाली जनताप्रति पनि विश्वासघात गरिरहेको छ । मलाई कता-कता के शंका छ भने केपी ओलीले कतै सिके राउतलाई सहयोग पुग्ने गरी नियतवस यस्तो अभिव्यक्ति त दिइरहेका छैनन् ?’

माओवादी नेता थापाले आगामी चुनावमा एमाले तेस्रो दल बन्न सक्ने दाबीसमेत गर्न भ्याए । प्रस्तुत छ, थापासँग गरिएको कुराकानीः 

स्थानीय तहको निर्वाचनका लागि माओवादीको आन्तरिक तयारी कस्तो हुँदैछ ?

स्थानीय तहको निर्वाचनबाट परिवर्तनहरुलाई संस्थागत गर्दै राजनीतिक स्थायित्व र विकासलाई गतिशिलता दिनुपर्छ भन्ने नै माओवादीको मुख्य बुझाइ हो । अहिले निर्वाचनलाई लक्षित गरी गाउँ पार्टी र जिल्ला पार्टीका एकता अधिवेशनहरु चलिरहेका छन् । ती सम्मेलनले स्थानीय तहको निर्वाचनलाई ध्यान दिएको छ ।

यस्तै स्थानीय निर्वाचनमा पनि संयुक्त मोर्चाको अवधारणाबाट जानुपर्छ भन्ने पनि हाम्रो अहिले बहसको विषय हो । अर्को, हाम्रो नारा/मुद्दासँग मिल्ने दलहरुसँग सहकार्य गरेर जाने तयारीमा छौँ ।

स्थानीय निर्वाचनमा माओवादीले आफ्नो स्थान कहाँ देखेको छ ?

पार्टी एकतापछि र विकास निर्माणमा माओवादीले लिएको पहलकदमीपछि जनतामा हाम्रो पक्षमा राम्रो माहोल बनेको छ । हाम्रो बुझाइमा प्रमुख तीन दलवीच नै कडा प्रतिस्पर्धा हुन्छ ।

माओवादीले स्थानीय तहको निर्वाचनमा लोकपि्रय र सामाजिक मान्छेलाई स्थान दिँदैछ । हामी स्थानीय तहलाई राजनीतिक दृष्टिकोणले भन्दा बढी त्यहाँको आर्थिक समृद्धिको दृष्टिकोणले हेर्छौं । गाउँका विकास प्रेमी मान्छे, भद्रभलादमीहरु जो कुनै राजनीतिक पार्टीमा नभए पनि हामी उहाँहरुलाई स्थान दिएर अगाडि जान्छौँ । स्थानीय तहमा त्यस्तो जनसंख्या ठूलो छ ।

केन्द्रमा बस्ने पार्टीको कार्यकर्ता मात्र होइन, गाउँमै बस्ने र त्यहाँका जनतालाई सुखदुखमा साथ दिने समाजसेवीलाई हामी ध्यान दिन्छौँ । यही कारण पनि माओवादीले स्थानीय निकायको निर्वाचनबाट बलियो उपस्थिति देखाउँछ । त्यहाँ पनि हामी परिवर्तनका पक्षधर दलहरुसँग कार्यगत एकता गरेर चुनावी तालमेल गर्नुपर्छ भन्ने पक्षमा छौँ ।

यस्तै संविधान जारी गर्नेदेखि राजनीतिक स्थायित्वका लागि माओवादीले महत्वपूर्ण पहलकदमी लिइरहेको र स्थानीय तहको पुनर्संरचनामा पनि माओवादीको पहलकदमी राम्रै भएकाले नागरिकले बुझ्छन् भन्ने बुझाइ छ ।

एमालेले एउटा भूगोललाई केन्द्र बनाएर अर्को भूगोलको जनतालाई कमजोर पार्ने, अपमान गर्ने र समाजमा घृणाभाव फैलाउने दुष्प्रयास गरिरहेको छ । उसको त्यो गतिविधिलाई जनताले राम्रोसँग बुझे भने एमालेको उपस्थिति तेस्रोमा झर्छ

कांग्रेस नेता विमलेन्द्र नीधिले अब एमालेविरुद्ध माओवादी-कांग्रेसले संयुक्त रुपमा निर्वाचनमा जाने भनेका थिए, माओवादी-कांग्रेसवीच त्यस्तै तयारी हो ?

नारा र मुद्दाका आधारमा स्थानीय निर्वाचनमा सबैसँग तालमेलको ढोका खुल्ला रहन्छ । एमालेलाई पुरै बाहिष्कार गरेर स्थानीय तहलाई धेरै राजनीतिकरण गर्न हुँदैन भन्नेमा माओवादी सचेत छ । तर, एमालेले राष्ट्रवादका नाममा अति दक्षिणपन्थतिर जाने र दक्षिणपन्थहरुसँगको एलाइन्सलाई बलियो बनाएर जनयुद्ध, जनआन्दोलनले प्राप्त गरेको उपलब्धीहरुलाई उल्टाउने दिशामा गयो भने ऊ विरुद्ध कडारुपमा प्रस्तुत हुनुपर्छ ।

यसरी हेर्दा सम्पूर्ण परिवर्तन पक्षधर पार्टीहरु परिवर्तनको रक्षाका लागि ठूलै एलाइन्स बन्ने सम्भावना पनि बलियो छ । कांग्रेस र माओवादी सरकारमा सँगै रहेकाले स्थानीय तहमा पनि सँगै रहन सकिन्छ भन्ने हो ।

एक्लै लड्नुपर्दा माओवादीले पाउने भोट कहाँ सुरक्षित छ ?

हामीले हिमाल, पहाड र मधेसको एकता चाहेका छौँ । यस्तै नेपालका सबै जातजाति, भाषा, धर्म र समुदायका मानिसहरुवीचको एकतालाई राष्ट्रिय एकता मानेको छ । र, नयाँ संविधानले आत्मसाथ गरेका सबै परिवर्तनको नेतृत्वकर्ता दल माओवादी नै हो ।

हामी सबै नेपाली नागरिकको नेपालमा समान अधिकार हुनुपर्छ भनिरहेका छौँ र सबैवीच एकता भएको नेपालको कुरा गरिरहेका छौँ । यो नाराका आधारमा पनि माओवादीको मत देशभरि उत्तिकै फैलिएका छन् । म ठोकुवा गरेर भन्छु, हाम्रो पार्टी एकता भएर गाउँ-गाउँमा संगठन निर्माणको अभियान चलिरहेको छ, यही आधारमा निर्वाचनमा जाँदा दोस्रो स्थानमा उक्लन सक्छौँ ।

प्रतिस्पर्धा एमालेसँग किन कांग्रेससँग ?

प्रमुख तीन दलवीच समान प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो बुझाइ छ । तर, पछिल्लो समयमा एमालेजति हौसिएको जस्तो देखिएको छ, यथार्थ के हो भने ऊ आत्तिएको छ । किनकि नेपालको राजनीतिमा एमालेले एउटा भूगोललाई केन्द्र बनाएर अर्को भूगोलको जनतालाई कमजोर पार्ने, अपमान गर्ने र समाजमा घृणाभाव फैलाउने दुष्प्रयास गरिरहेको छ । उसको त्यो गतिविधिलाई जनताले राम्रोसँग बुझे भने एमालेको उपस्थिति तेस्रोमा झर्छ ।

कसरी त्यस्तो होला ? नागरिकले त माओवादीलाई नै गाली गरिरहेका छन् नि ? अहिले एमाले लोकप्रिय भइरहेको होइन र ?

हामीले गर्नुपर्ने धेरै कुरा छन्, सबै सकेका छैनौँ । तर, ०६४ को निर्वाचनपछि माओवादीका तीनवटा सरकारलाई हेर्यो भने पुग्छ । पहिले बनेको प्रचण्ड सरकारले राजनीतिक मुद्दामा अल्झिनुपर्‍यो । र, पनि कर संकलनमा अहिलेसम्मकै सुधार माओवादीले ल्याएको हो । बाबुराम नेतृत्वको दोस्रो सरकारले देशभर सडक विस्तार तिव्र बनाएर अर्को सुधार गर्‍यो । नागरिकले बुझ्दिनु पर्‍यो कि त्यतिबेला माओवादीले यो सडक विस्तार नगरेको भए अहिले काठमाडौको ट्राफिक जामको हालत कस्तो हुन्थ्यो ? यो माओवादी पार्टीले गरेको हो ।

प्रचण्ड सरकारको उपलब्धी के हो ?

पहिलोः नेपालको इतिहासमै माओवादीले नेपाललाई पुरै उज्यालो नेपाल बनायो । लोकसेडिङ मुक्त देश घोषणा गर्ने स्थितिमा काम भइरहेको छ । हरेक क्षेत्रमा माओवादीले गर्न खोजेको विकासको शैली यही हो । त्यहाँ हिजो कांग्रेस एमालेका उर्जामन्त्रीहरु थिए । उनीहरुले जनतालाई किन दैनीक १८ घण्टासम्म लोडसेडिङ्गमा राखे ? अहिले माओवादीको उज्यालो नेपाल अभियान विरुद्ध एमालेले आफ्ना ट्रेड युनियन उचालेर अँध्यारै बनाउनुपर्छ भनेझै आन्दोलन गर्ने, विरोध गर्ने गरिरहेका छन् ।

mani-thapa-455विद्युत प्राधिकरणभित्र रहेका अपराधिक गतिविधीहरु, जसले नागरिकलाई कति शोषण गरेका रहेछन् भन्ने देखाएको छ । हामीले भनेको क्रान्तिकरी हस्तक्षेप यही हो । उर्जा मन्त्रालयले अहिले देखाएको कन्सेप्ट नै देशको विकास निर्माण गर्ने माओवादीको कन्सेप्ट नै हो ।

दोस्रोः प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरुलाई सम्पन्न गर्न ताकेता गरेको गर्यै हुनुहुन्छ । दुई/चारवटा गौरवका आयोजना पूरा गर्न सक्नेवित्तिकै नेपालको मुहार नै अर्कै हुन्छ । अहिले धुलो उडेपनि मेलम्चीको पानीका लागि घर-घरमा पाइप बिच्छ्याउने काम भइरहेको छ । यो प्रचण्ड सरकारकै पालामा भइरहेको छ । प्रचण्डले आयोजनास्थलमै पुगेर गौरव आयोजनाको प्रगति हेर्ने र समस्याको गाँठो फुकाउने काममा लाग्नुभएको छ ।

यस्तै हाम्रो चिन्ता रोजगारीको खोजीमा साउदी/अरब जाने नागरिकतिर छ । कम्तिमा प्रचण्ड सरकारले उहाँहरुका लागि विमा रकम दोब्बर गर्ने काम गर्‍यो । सधैं कमजोर अवस्थामा रहेका किसानका लागि किसान पेन्सनको कुरा ल्याउँदैछौँ ।

एक बर्ष र अहिलेवीचको भिन्नता हेर्नुपर्‍यो । यस्तै बजारको कालोबजारी केही प्रतिशत घटेको छ ।

तेस्रोः सरकारले ७ महिनामा जति उपलब्धीहरु देखाइरहेको छ, हिजो एमालेले पनि सरकार चलाएको हो । तर उसले दोस्रो पार्टी हुँदा नागरिकले महसुस गर्नेगरी के गर्‍यो ? पानीजहाज चलाउने, पाइपलाइनबाट घरघरमा ग्यास लैजान्छु भन्यो, तर के भयो ?

हावाबाट बिजुली निकाल्छु भनेर नागरिकलाई अँध्यारोमा राख्यो । केपीजीले हिजो नाकाबन्दीका बेला वत्तिमात्रै दिएको भए कति सजिलो हुन्थ्यो ! उहाँलाई लाज लाग्नुपर्ने हो, आज आएर अझै पनि माओवादीविरुद्ध बोल्दै हिँडिरहनुभएको छ । तर, माओवादीले हावाबाट बिजुलीको सपना देखाएन, उज्यालोमा राखेरै सपना देखायो ।

अर्को, भारत/चीन सन्तुलनका लागि प्रचण्ड सरकारले चीन र नेपालीवीच संयुक्त सैन्य अभ्यास गर्दैछौँ ।

अबको योजना के छ ?

उद्योगधन्दा विकासका लागि उर्जा अनिवार्य शर्त हुन्छ । त्यही कारण माओवादीले ठूलो जोखिम मोलेर उर्जाक्षेत्रभित्र हस्तक्षेप गरेको हो । जर्नादनजीले त्यहाँ जे गरिरहनुभएको छ, त्यही मोडलमा हामी अब उद्योग र भौतिक मन्त्रालयमा हस्तक्षेप गर्छौं । यो पक्का कुरा हो । यतिमात्र भन्छौँ, स्थानीय तहको निर्वाचनपछि सरकार पुर्नगठन हुँदा माओवादीले भौतिक पूर्वाधार मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी लिएर त्यहाँ ठूलो हस्तक्षेप गर्नेवाला छ । त्यहाँ पनि माओवादीले उर्जा मन्त्रालयको जस्तै परिणाम निकाल्छ । त्यसपछि नेपालको आर्थिक विकासको अवस्था नै छुट्टै हुन्छ ।

माओवादीले राजतन्त्रको विरुद्ध एकै पटक, सेना, प्रहरी, कर्मचारी प्रशासनमाथि आक्रमण गर्‍यो । त्यो रुलिङ वर्ग माओवादी कमजोर भएका बेला प्रतिशोध लिन खोजिरहेको छ

तर, प्रमुख विपक्षीले त तपाईहरुलाई राष्ट्रियता माथि नै इमान्दार नभएको गम्भीर आरोप लगाइरहेको छ नि ?

त्यतिधेरै समय सत्तामा बस्दा आफू र आफ्नो पार्टीलाई बाहेक केही गर्न सकिएन, आज तेस्रो ठूलो पार्टीले देशलाई पूरै उज्यालो बनायो भनेर अत्तालिँदा फुत्किएका शब्दहरु हुन् ती । उहाँहरुले माओवादीलाई रीसले गाली गर्नुभएको होइन, लाज ढाक्न र गाल टार्न गाह्रो हुँदा पीडामा फुस्किएको शब्द हो । हामीले त्यतातिर अल्मलिनुहुँदैन ।

तपाईले यसो भन्नुभयो तर, सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा माओवादी झनै अलोकप्रिय देखिन्छ नि ?

साामाजिक सञ्जालमा मध्यम वर्ग, यहाँको पुरानो रैथाने वर्ग र घरानीय वर्गको वर्चश्व छ । त्यो वर्गको सत्तामाथिको वर्चश्वलाई कमजोर बनाएर बाहिर निकाल्ने काम माओवादी नेतृत्वको जनयुद्धले गर्‍यो । माओवादीले राजतन्त्रको विरुद्ध एकै पटक, सेना, प्रहरी, कर्मचारी प्रशासनमाथि आक्रमण गर्‍यो । त्यो रुलिङ वर्ग माओवादी कमजोर भएका बेला प्रतिशोध लिन खोजिरहेको छ ।

दोस्रो पक्ष माओवादीले यहाँको आदिवासी, जनजाति, दलित, उत्पीडित, मधेसी, विपन्न वर्गको पक्षमा आवाज उठायो । र उनीहरुले परम्परागत रुपमा चलाइरहेको सत्ता खोस्यो । यो कुरा पुरानो शासक वर्गलाई मन परिरहेको थिएन । त्यसकै सक्रियता हो, यसैलाई आधार मानेर जनमतको रुपमा ब्याख्या गर्न हुँदैन ।

यस्तै माओवादीले केही नैतिकता, इमान्दारिता गुमायो । त्यसले गर्दा माओवादीको सुभचिन्तकहरु पनि केही रुष्ट छन् । यसले गर्दा सामाजिक सञ्जाल माओवादीविरुद्ध जस्तो देखिएको हो । तर, त्यो अति पुरानो दक्षिणपन्थी शासक वर्गको नेतृत्व अहिले एमालेले गरिरहेको छ ।

एमालेमात्रै होइन आम नागरिकले पनि माओवादीले राष्ट्रघाती काम गरिरहेको छ भनिरहेको छ नि ?

कामरेड प्रचण्ड भारतविरुद्ध सुरुङ्ग युद्ध पनि लड्नुपर्छ भन्ने नेता हुन् । र भारतलाई नेपालमा आकाशवाणीबाट शासन गर्न नखोज भनेर च्यालेन्ज गर्ने पनि प्रचण्ड नै हुन् ।

तर, केपी शर्मा ओली प्रवृत्ति के हो भने एकफेर उनी भारतको दलालको रुपमा नाङ्गिए । टनकपुरको कुरा हेर्नुस् । पशुपतिको भट्ट हटाउने बेला केपी ओली एमालेका नेता थिए कि भारतीय दूतावासका कर्मचारीको भूमिकामा थिए ? कटुवाल काण्डमा ओली किन आफैँ भारतीय राजदूतका रुपमा हिँडेको ?

उनमा स्मरणशक्ति बाँकी छ भने लाज मान्नुपर्ने हो । आज आएर कम्तिमा केपी शर्मा ओलीले आफुलाई राष्ट्रवादी भन्न मिल्दैन । ठिकै छ, हिजो राष्ट्रघात गरिएछ भन्ने महसुस भएको हो भने सार्वजनिकरुपमा माफी माग्नुपर्‍यो नि त ।

यी सबै घटनामा भारतको प्रतिनिधित्व गरेको कुरा कसलाई थाहा छैन । ओली राष्ट्रियताको कोणबाट नभएर मधेसविरोधी कोणबाट राष्ट्रवादी बन्न खोजिरहेका छन् । जनजाति विरोधी कोणबाट राष्ट्रवादी हुन खोजिरहेका छन् । एमालेलाई राष्ट्रवादी पार्टी होइन, ढुलमुले, दलाल र मध्यमवर्गको पार्टीको रुपमा बुझ्नुपर्छ ।

सिद्धान्ततः ढुलमुले चरित्र कहिले राष्ट्रवादी हुन सक्दैन । जे भए पनि केपी ओली आफुलाई राष्ट्रवादीको रुपमा चिनाउन चाहन्छन् । त्यो राष्ट्रवाद भनेको मधेसलाई भारतसँग जोडेर आफु राष्ट्रवादी हुने जुन परिकल्पना गरेका छन् । त्यसले राष्ट्रिय एकतालाई ठूलो अहित गर्दैछ ।

बरु मलाई कता-कता के शंका छ भने केपी ओलीले कतै सिके राउतलाई सहयोग पुग्ने गरी नियतवस यस्तो अभिव्यक्ति त दिइरहेका छैनन् ? होइन भने तराईका हाम्रा नेपाली दाजुभाइ/दिदीबहिनीलाई एमालेले किन भारतीयको रुपमा हेरिरहेको छ ?

तर, नागरिकले उनैलाई राष्ट्रवादी भनिरहेका छन्, तपाईहरुलाई भनेका छैनन्….

ठीक छ, म गलत हुँ । एमाले साँच्चै राष्ट्रवादी हो भने ०४६ सालदेखि एमाले लगातार सत्तामा छ । एमाले कहिल्यै सरकार बाहिर छैन । यदि उ राष्ट्रवादको असली प्रतिनिधि थियो भने देश अलिकति समुन्नत हुन्थ्यो होला नि ? राष्ट्रवाद भनेको हिमाल, पहाड र तराइको एकता, त्यसको एकता झनै बलियो बनाउने काम एमालेले गथ्र्यो होला नि ?

तर, एमालेले एक जाति, एक भाषा, एक धर्मको राष्ट्रवादी नीति लिएको छ । एमालेले एउटा वर्गको मात्र राष्ट्रवाद खेजिरहेको छ, यो अन्तत राष्ट्रघात हो । मधेसलाई अधिकार दियो भने टुक्रिन्छ भनिरहेको छ । देश टुक्रिन्छ भन्ने एमालेले जुन कन्सेप्ट ल्याएको छ, संविधान संशोधनलाई पनि देश टुक्राउने योजना भनेको छ, यो एमालेले नेपालको इतिहासमाथि गरेको गम्भिर विश्वासघात हो ।

नेपाल कहिल्यै टुक्रिएको देश होइन । एमालेले इतिहास पढ्न भुलेको हो भने इतिहास पल्टाएर सच्चियोस्, नेपालमा टुक्रिने विषयमा कहिले बहससम्म पनि भएको छैन । तर, जबरजस्त यो बहस घुसाएर एमालेले ठूलै गम्भीर राष्ट्रघात गरिरहेको छ । त्यसकारण एमालेले नेपालको इतिहास बुझेन वा बुझेर पनि राष्ट्रघात गर्‍यो भन्ने माओवादीको गम्भीर आरोप छ ।

नेपालको राष्ट्रिय एकतामाथि नै एमालेले प्रश्न उठायो भन्न खोज्नुभएको हो ?

हो । उसले राष्ट्रिय एकतालाई घुमाउरो रुपमा अस्वीकार गरेको छ । किनकि नेपाल कसैको उपनिवेश भएको छैन । सुघौली सन्धी एउटा परिस्थित भयो, तर नेपालको भुगोल कहिले गुमेको छैन बरु नेपालको कुटनीतिक सफलताबाट गुमेको भूमि फिर्ता लिएको छ ।

इतिहास त्यो हो । राणाकालदेखि पञ्चायत हुँदै आजसम्म आउँदा समस्या आन्तरिक हुन् । तर, एमालेले नेपालको भूमि टुट्न सक्छ, फुट्न सक्छ भनेर अफवाह गरिरहेको छ, उसले नेपाली जनताप्रति पनि विश्वासघात गरिरहेको छ । बरु मलाई कता-कता के शंका छ भने केपी ओलीले कतै सिके राउतलाई सहयोग पुग्ने गरी नियतवस यस्तो अभिव्यक्ति त दिइरहेका छैनन् ? होइन भने तराईका हाम्रा नेपाली दाजुभाइ/दिदीबहिनीलाई  एमालेले किन भारतीयको रुपमा हेरिरहेको छ ?

एमालेले किन यस्तो गर्दैछ ? के उसले नबुझेको हो ?

एमाले हिजो नाङ्गै राष्ट्रघाती थियो । उसले भारतसँग टनकपुरदेखि केही सम्झौताहरु गरेको छ । सायद केपी ओलीको भारतसँग केही लेनदेन थियो । एमालेका अन्य केही नेताको भारतसँगको सम्वन्ध सबैलाई थाहा छ । उसले इतिहासमा गरेको गल्तीलाई छोप्न खोजिरहेको छ । अर्को उ अज्ञानी छ, जानाजान उसले नेपालमाथि कालो धब्बा लगाएको छ ।

नेपालको सामाजिक बनोट छ, त्यसमा उ अज्ञानी छ । र, नेपालको विविधतामा एकताको सामाजिक बनोट छ, त्यसलाई गलत सन्देश दिन खोजिरहेको छ । र, उसले सबैभन्दा ठूलो गल्ती त के गरेको छ भने कहिल्यै नटुक्रिएको र टुक्रिने विषयमा बहस पनि नभएको देशलाई टुक्रिन सक्छ भन्ने धारणा जनतामा छिराएर जनतावीचको एकतामा शंका जन्माउने विस्वासघात गरेको छ । त्यसैले मेरो गम्भीर आरोप छ, केपी ओलीको कतै सिके राउतसँग छ साँठगाँठ छैन  ?

अर्को पक्ष, उसले देशको भूगोल, अखण्डता, सामाजिक बनोटका बारेमा केही हेरेको छैन, मात्र एमाले पहिलो पार्टी बन्नु छ । एमालेलाई पहिलो पार्टी बनाएर सबै परिवर्तनलाई उल्ट्याएर राष्ट्रवादको नारा दिएर पुरानो रुलिङ्ग वर्गको हातमा सत्ता लैजान खोज्दैछ । एमालेको उद्देश्य यत्ति हो ।

जनयुद्धको नेतृत्व माओवादीले गर्‍यो, जनआन्दोलनको नेतृत्व कांग्रेसले गर्‍यो र मधेस आन्दोलन मधेस केन्द्रित दलले गरे । यो परिवर्तनमा एमालेको हिस्सा कहीँ भेटिँदैन । यही छट्पट्टीले एमाले अहिलेको परिवर्तनको विरुद्ध उभिने खतरा छ

यदि तपाईको आरोपलाई सत्य मान्ने हो भने, एमालेको यस्तो रणनीतिको काउन्टर माओवादीले कसरी गर्छ ?

अहिलेसम्मका परिवर्तन उल्ट्याउने, नेपालका आधा जनसंख्या भएका मधेसी जनतालाई भारतीय देख्ने र मंगोल अनुहारलाई दोस्रो दर्जाको नागरिक ठान्ने एमालेको चेतना छ, त्यसमा परिवर्तन आएन भने एमाले विरुद्ध हरेक मोर्चामा माओवादी कांग्रेसको मोर्चाबन्दी हुन्छ ।

किनकि अहिले एमालेले ज्ञानेन्द्रसँग सम्बन्ध सुधारको कोसिस गरिरहेको छ, त्यसको प्रमाण राष्ट्रपतिको छोरीको विवाहमा ज्ञानेन्द्रलाई निम्तो भयो । यही आधारमा एमालेविरुद्ध माओवादी कांग्रेसको एलाइन्सको प्रस्ताव आएको हो ।

दोस्रो कुरा, एमाले घोर अति दक्षिणपन्थ बाटोतिर गयो भने एमाले विरुद्ध महिला, जनजाति, मुस्लिम, मधेसी सबै मिलेर आन्दोलन उठ्न सक्छ । यसरी जसरी पनि एमालेलाई अति दक्षिणपन्थको बाटोमा जान रोक्नुपर्छ ।

अब एमालेविरुद्ध चुनावी मोर्चा र आन्दोलनको मोर्चाबाट भए पनि ठीक ठाउँमा ल्याउन मुद्दा मिल्ने दलहरु एक ठाउँमा आउनुपर्छ ।

कांग्रेससँग माओवादीको सहकार्य कहिलेसम्म हुन्छ ?

आगामी तीनवटा निर्वाचनसम्मका लागि कांग्रेससँग हाम्रो सत्तासमीकरण हो । र, एमालेले दिने चुनावी नाराका आधारमा पनि कांग्रेस र माओवादीको सहकार्यलाई निर्भर गर्छ । यदि एमालेले अहिलेका परिवर्तनविरोधी र एक जाति, एक भाषाको नारा दिन्छ भने सबै परिवर्तन पक्षधरहरु एक ठाउँमा आउँछन् ।

एमाले किन छट्पटाइरहेको छ भने अहिलेको परिवर्तन जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको परिणाम हो । जनयुद्धको नेतृत्व माओवादीले गर्‍यो, जनआन्दोलनको नेतृत्व कांग्रेसले गर्‍यो र मधेस आन्दोलन मधेस केन्द्रित दलले गरे । यो परिवर्तनमा एमालेको हिस्सा कहीँ भेटिँदैन । यही छट्पट्टीले एमाले अहिलेको परिवर्तनको विरुद्ध उभिने खतरा छ । बाहिर जस्तो देखिए भने भोलि एमालेलाई एकदमै अप्ठेरो अवस्था आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment