Comments Add Comment

ओलीलाई राजनेता भन्दै लेखक र स्तम्भकारको प्रशंसा

सौरभले भने- पृथ्वीनारायण र वीपीपछि माननीय भन्न लायक नेता

kp-oli-1

१४ माघ, काठमाडौं । केपी ओलीका बारेमा नेपाली समाज तटस्थ छैन । कि त उनका प्रखर आलोचक छन् कि उनका प्रखर समर्थक । शुक्रबार राजधानीको अल्फा हाउसको हलमा राखिएको मञ्चमा लगभग उस्तै दृष्य देखियो ।

मुलुकले चिनेका लेखक/पत्रकारको बीचमा ओली थिए । ओलीका उखान टुक्कासँग परिचित पंक्तिले भरिएको थियो हल । फरक के थियो भने-कार्यक्रम अवधिभर हलमा हाँसो चलिरहृयो तर हसाउने ओली थिएनन्,पछिल्लो समय उनले लिएको ‘देशभक्ति र सम्बृद्धि’को सपनाबाट प्रभावित लेखक/स्तम्भकारहरु थिए ।

औषत रुपमा स्वतन्त्र भनिएका नेपालका लेखक/स्तम्भकार र विश्लेषकहरु पनि ओलीको सन्दर्भ आएपछि दुई कित्तामा बिभाजित हुन्छन् । अल्फा हाउसको मन्चमा बसेका बिजयकुमार पाण्डे,शौरभ,कृष्ण मुरारी भण्डारी र श्रीकृष्ण अनिरुद्ध गौतमले ओलीलाई समकालीन नेपालका राजनेताको उपाधी दिएर ओलीका सन्दर्भमा ‘ग्रे एरिया’ छैन भन्ने जनाऊ दिए ।

कार्यक्रममा स्तम्भकारहरुबीच ओलीको प्रशंसा गर्ने एककिसिमको होडवाजी नै चल्यो । विजयकुमारलाई छोडेर सबै स्तम्भकारले ओलीलाई महान राजनेताको संज्ञा दिए । कार्यक्रममा कसले के भने ? यहाँ छोटो चर्चा गरिएको छः

मेरो नजर बदलियोः गौतम

कार्यक्रममा बोल्दै स्तम्भकार श्रीकृष्ण अनिरुद्ध गौतमले ओली प्रधानमन्त्री बनेपछि उनलाई हेर्ने आफ्नो नजर बदलिएको बताए । उनले भने, ‘म पहिला ओलीको आलोचक थिएँ र उहाँ प्रधानमन्त्री बनेको हेर्न चाहेको थिइनँ । तर प्रधानमन्त्री बनेपछि मेरो दृष्टिकोण पुरै रुपान्तरण भयो ।’

‘उहाँ प्रधानमन्त्री बन्ने बेलामा देश नाकाबन्दीले थिलथिलो अवस्थामा थियो । त्यो अवस्थालाई चिरेर उहाँले देशलाई स्थिरतामा लैजानुहुनेछ भन्ने मलाई कत्ति पनि आशा थिएन । तर मैले आशा नगरेको कुरा भयो,’ उनले भने । ओलीले चीनसित गरेको यातायात तथा पारवहन सम्झौताका कारण ओलीलाई आफूले राजनेताको दर्जामा राखेको बताए ।

गौतमले भने, ‘त्यो सम्झौताले ओलीको उचाई मात्र बढाएन, भारतीय नाकाबन्दीका कारण सम्पूर्णरुपमा गिरेको जनताको आत्मविश्वासलाई पुन जागृत गरिदियो । अब हामी बंगालको खाडी वा हिन्द महासागरसँग मात्र जोडिएको छैनौ, प्रशान्त महासागरसम्म पनि हाम्रो पहुँच छ भन्ने सांकेतिक सन्देश दियो ।’ उक्त सम्झौतालाई भारतले पनि गम्भीरतासाथ लिएको भन्दै गौतमले त्यही सम्झौतापछि ओली सरकारका विरुद्ध घरेलु तथा बाह्य षडयन्त्र प्रारम्भ भएको बताए ।

ओलीको भाषणका विषयमा चर्चा गर्दै गौतमले भने, ‘ठेट पूर्वेली भाका र वर्णविन्यासयुक्त उहाँको भाषण सँधै सुनिरहुँ जस्तो लाग्छ । भाषणकै कारण अरु त अरु राजनीतिमा चासो नराख्ने गृहणीहरुसमेत ओलीका कायल भएका छन् ।’

सौरभको प्रशंसा

kp-oli-8

कार्यक्रमका अर्का वक्ता थिए-राजनीतिक विश्लेषक तथा स्तम्भकार सौरभ । विरलै कुनै नेताको प्रशंसा गर्ने सौरभ ओलीको प्रशंसा गर्न भने हिच्किचाएनन् । तेह्रथुमको पुख्र्यौली घर ओलीले किनेकोमा आफूलाई निकै घत परेको उनले बताए । सौरभले भने, ‘धेरै मानिसकहरु माथि पुगेपछि आफ्नो जरा के हो भन्ने भुल्छन् । केपी ओलीले आफ्नो पुख्र्यौली घर किनेर आफ्नो जरो कहिल्यै विर्सनु हुँदैन भन्ने सन्देश दिनुभएको छ ।’

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बेलामा संसदमा गरेको सम्वोधन ऐतिहासिक रहेको सौरभले बताए । ‘त्यो सम्वोधन ३७ सालमा सुर्यबहादुर थापाले राजीनामा गर्ने बेला गरेको सम्वोधन र प्रजातन्त्र आएपछि कृष्णप्रसाद भट्टराईले राजीनामा गर्ने बेला गरेको सम्वोधनभन्दा कताकता माथिल्लो स्तरको थियो,’ उनले भने । एउटा महान राजनेताका रुपमा ओलीसँग सही राजनीतिक आस्था, भिजन, आँट र दृष्टिकोण रहेको सौरभले बताए ।

ओलीले देशलाई बौराउनुभयो: भण्डारी

अर्का वक्ता स्तम्भकार कृष्णमुरारी भण्डारीले ओली दक्षिण एशियामै अब्बल नेता भएको बताए । राजनेताको परीक्षा संकटको क्षणमा हुने भन्दै उनले ओली परिक्षामा उत्तिर्ण भएको टिप्पणी गरे । ‘मुर्छित अवस्थामा रहेको देशलाई उहाँले नै बौराउनुभएको हो,’ ओलीको प्रशंसाको पुल बाँध्दै उनले भने, ‘१४ वर्ष जेलमा ४ वर्ष गोलघरमा राखिँदा पनि नढलेको ज्यान आज देशलाई संकटबाट बाहिर निकाल्नका निम्ति नै रहेछ ।’

उनले म्याक्सिम गोर्कीको प्रसंग निकाले । बुवाको मृत्यूपछि गोर्की आफ्नो मामाघरमा पालिएको उल्लेख गर्दै भण्डारीले एउटा सन्दर्भ सुनाए । ‘एकपटक गोर्कीको मामाघरमा आगो लाग्यो । घरका सबै सदस्यहरु किंकर्तव्यविमुढ भएर हेरिरहेका थिए । तर, गोर्कीकी हजुरआमाले नेतृत्व लिएर सबैलाई जगाएर आगो निभाइन् । ओलीले प्रधानमन्त्री बन्दा गोर्कीकी हजुरआमाको जस्तो भूमिका निभाउनुभयो ।’

‘हामी चायवाला भनेर भारतीय प्रधानमन्त्री मोदीले गरेको संघर्षको प्रशंसा गर्छौं,’ उनले अगाडि भने, ‘तर उहाँभन्दा कता-कता नाजुक अवस्थाबाट गुज्रेर यहाँसम्म आउनुभएका ओलीको प्रशसा गर्न भने लाज मान्छौं । ओलीजस्तो राजनेता पाएकोमा हामीले गर्व गर्नुपर्छ ।’

उहाँलाई बलिबेदीमा नपुर्‍याउँ: विजयकुमार

लेखक तथा स्तम्भकार विजयकुमारले ओलीको ८० प्रतिशत प्रशंसा र २० प्रतिशत कटाक्ष गरे । ओलीको निमन्त्रणमा आफू पहिलोपटक बालुवाटार गएको प्रसंग उनले उल्लेख गरे । उनले सुनाए, ‘बालुवाटारको गेटमा छिरेपछि मलाई एउटा विरुवा रोप्न भनियो र मैले रोपेँ । ओलीलाई भेटेपछि मैले सोधेँ, ‘किन मलाई बिरुवा रोप्न लगाउनुभयो ?’ उहाँले जवाफ दिनुभयो, ‘यसकारण कि, भविष्यमा तपाईं बालुवाटारमा आउँदा भन्न सक्नुहुनेछ, मैले रोपेको रुख हेर्न आएको हुँ ।’

kp-oli-3-1-copy

‘त्यसो त बालुवाटार मेरोलागि नौलो ठाउँ होइन, त्यहाँका कोठा-कोठामा मैले रक्सी खाएर छादेको छु,’ उनले अगाडि भने, ‘तर ओलीजीलाई भेट्दा मैले रक्सी छाडिसकेको थिएँ ।’

कृष्णप्रसाद भट्टराइपछि आफूलाई छोएको नेता केपी नै भएको उनले बताए । १४ वर्ष जेल बसेको नेता भएकाले पनि ओलीलाई आफूले श्रद्धा गर्ने उनको भनाई थियो ।
ओलीलाई महान राजनेता भनेर प्रशंसा गर्ने अन्य स्तम्भकारहरुप्रति भने उनले कटाक्ष गरे । पाण्डेले भने, ‘उहाँलाई सुर्‍याउँदा सुर्‍याउँदै बलिबेदीमा नपुर्‍याउनुस ।’

ओलीका सपनाजन्य भाषणहरुप्रति उनले टिप्पणी गरे, ‘हामीले सपना देख्नुपर्छ तर पुरा हुन सक्ने मात्र । ‘विसफुल थिंकिङ’ले हामीलाई कतै पुर्‍याउँदैन ।’

ओलीको प्रमुख शक्ति वाचन कलामा नै रहेको पाण्डेले उल्लेख गरे । इतिहासले ओलीलाई ठूलो जिम्मेवारी दिएको भन्दै यो जिम्मेवारी पूरा गर्न ओलीले फराकिलो छाति बनाउनुपर्ने सुझाव दिए ।

पाण्डेले अगाडि भने, ‘तपाईंले राष्ट्रियताको मुद्दालाई यो धर्तिमा यति बलियोसँग गाडिसक्नुभएको छ कि कसैले चाहेर पनि उखेल्न सक्दैन ।’ ओलीले राष्ट्रिय मुद्दाहरुको सही ‘डाइग्लोसिस’ गरेको तर सही ‘प्रेसक्रिप्सन’ दिन नसकेको पाण्डेको भनाई थियो ।

ओली जन्मजात राष्ट्रवादीः महासेठ

कार्यक्रममा एमालेका मधेसी नेता रघुवीर महासेठलाई पनि वक्ता बनाइएको थियो । महासेठले ओली प्रधानमन्त्री भएपछि मात्रै राष्ट्रवादी बनेको नभई जन्मजात राष्ट्रवादी रहेको उल्लेख गरे । ओलीलाई मधेसविरोधि भनेर भ्रम छरिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘उहाँकै पालामा मधेसको विकासका लागि ठूलो बजेट छुट्याइएको छ,’ महासेठले भने, ‘तर, उहाँमाथि लागेको मधेसविरोधिको आरोप हामीले चिर्न सकेनौं ।’

ओलीले निराश पारे

कार्यक्रमको अन्तिममा बोल्न उभिए केपी ओली । अब के-के भनेर हँसाउने हुन् भनेर सबैका कान ठाडा भए । तर, ओलीले यसपटक निराश बनाए । उनले एकदम संक्षिप्त र औपचारिक भाषण गरे । आफूले प्रधानमन्त्री छँदा गरेका भाषणहरु विचार बनाउनका निम्ति नभएर समस्या समाधानका निम्ति भएको उनले बताए । बुद्धिजीवीहरुको टिप्पणीबाट आफ्नो हौसला बढेको भन्दै उनले ३ मिनेटमै भाषण टुंग्याए ।

यो पनि पढ्नुहोस्

ओलीलाई विजयकुमारको प्रश्न- राष्ट्रवाद त भन्नुभयो, परिभाषा के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment