Comments Add Comment

मोहनी लगाउने लुम्बिनीको मनोरम दृश्य (फोटो फिचर)

१५ माघ, काठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ४० को दशकताका खासै चर्चामा थिएन । ५० को दशकबाट चर्चामा आउन थालेको लुम्विनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको मनमा बसेको छ । बौद्ध मार्गीहरुको धार्मिक केन्द्र मात्रै होइन, लुम्विनी बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थल हो ।

त्यसो त शान्त वातावरण, चराचुरुङ्गीहरुको आवाज, फुलफुलैको बगैंचाका साथै चारैतिर नेपाली तथा विदेशी कला संस्कृति झल्काउने विभिन्न विहार तथा चैत्यहरु एवं चरा अवलोकनका लागि पनि लुम्बिनी कम आकर्षक नभएको होइन ।

शान्त वातावरणमा रमाउन चाहनेहरुका पर्यटकहरुका लागि यो निकै उपयुक्त स्थल हो । परिवारका वा साथीभाइको साथ लुम्बिनी घुम्न आएमा यहाँ दिन बितेको थाहै हुँदैन । यहाँको मनोरक प्राकृतिकको दृश्यमा पर्यटकहरु निकै रमाउने गर्छन् ।

यहाँ वर्षेनी लाखौँको संख्या तीथार्लु, पर्यटक तथा अध्येताहरु आउने गर्दछन् । विश्वभरका बौद्ध धर्मालम्वीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो ।

यहाँ आउने प्रत्येक पर्यटकलाई लुम्बिनीले मोहनी लगाउने गर्छ । यहाँ करिब २ सय ५० प्रजातिका चराहरु, जसमध्ये सारस लगायतका दुर्लभ प्रजातिहरु छन् । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद, वनस्पतिविद, जीवशास्त्रीहरुलाई लुम्बिनीले मोहनी लगाउँछ । अहिलेको मौसम लुम्बिनी घुम्नका लागि उत्तम मौसम हो ।

ई.पु ६२३ मा यहाँको सुन्दर बगैचाँमा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो । उनी जन्मिने वित्तिकै सात पाइला हिँडेको किम्वदन्ती छ । सन् १९९७ देखि लुम्बिनी विश्व सम्पदा सुचीमा सुचीकृत छ ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु भनेको मायादेवी मन्दिर हो । बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवी मूर्ति मायादेवी मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. पाँचौँ शताब्दीदेखि सातौँ शताब्दीसम्मका छन् ।

चौथो शताब्दीमा निर्मित मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । आमा मायादेवीले सहाराका लागि दाहिने हातले रुखको हाँगा समातेकी छिन् । दायाँतिर छेउमा उनकी बहिनी प्रजापति उभिएको देखिन्छ भने दुई देवगणहरु बुद्धको स्वागतका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

त्यस्तै मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी रहेको छ । ई.पू २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य ऐतिहासिक प्रमाण दिन्छ । यो स्तम्भ ढुगांले बनाइएको छ ।

यस्तै अशोक स्तम्भको दक्षिणमा पवित्र पोखरी अवस्थित छ । मायादेवी बुद्धलाई जन्मदिनु भन्दा अघि उक्त पोखरीमा नुहाउनु भएको र साथै बुद्धलाई प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

साथै मन्दिर परिसरमा एउटा बोधिवृक्ष समेत रहेको छ । उक्त वृक्ष तल मायादेवीले बुद्धलाई जन्म दिएको किम्वदन्ती छ । लुम्बिनी आउने पर्यटकले उक्त पवित्र वृक्षका पातहरुसमेत लैजाने गर्दछन् । यहाँहरु बौद्ध धर्मालम्वीहरुका लागि ध्यान केन्द्र रहे पनि मायादेवी परिसरको फूलैफूलको बगैंचाको शान्त वातवरणमा ध्यान गर्न गर्दछन् ।

त्यस्तै मान्दिर परिसरमा बाहिर उत्तर दिशातर्फ शान्तिदीप छ । जुन २४ घण्टा नै जलिरहन्छ । अदभुत मानिएको यो दीप पानी पर्दा समेत निभ्दैन ।

दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुंगा चढेर पनि रमाउने गर्छन् । लुम्बिनी गुरुयोजना अन्र्तगत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुंगा चल्ने गर्दछ ।

कसरी जाने लुम्बिनी ?
अन्य पर्यटकीय स्थलभन्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नलाई निकै सहज छ । लुम्बिनी रुपन्देही जिल्लामा अवस्थित छ । देशको कुनै पनि स्थानबाट सार्वजनिक वा निजी सवारीमार्फत् लुम्बिनी पुग्न सकिन्छ । त्यस्तै हवाइमार्गबाट आउन चाहनेहरु हवाइजहाजबाट पनि लुम्बिनी घुम्न आउन सक्छन् । छोटो दुरीमा लुम्बिनी जानका लागि पहिला भैरहवा शहर पुग्नुपर्दछ । भैरहवाको बुद्ध चोकबाट लुम्बिनी २० किलोमिटरको दुरीमा पर्दछ । भैरहवाबाट लुम्बिनीको पुग्न राम्रो सडक छ ।

भैरहवाको बुद्धचोक पुगेपछि उक्त चोकबाट सार्वजनिक बस वा ट्याक्सीमा सहजै लुम्बिनी पुग्न सकिन्छ । सार्वजनिक बसमा जादाँ प्रत्येक व्यक्ति ४५ रुपैयाँ भाडा लाग्ने गर्दछ भने ट्याक्सीमा जानका लागि एक हजार २ सय रुपैयाँ लाग्ने गर्दछ ।

लुम्बिनी घुम्नका लागि रिक्सा, ट्याक्सीको सुविधा लिन सकिन्छ भने सवारी नचहानेका लागि पैदल पनि घुम्न सकिन्छ ।

लुम्बिनी आउने पर्यटकहरुका लागि यहाँ होटलहरुको पनि व्यवस्था रहेका छ । पर्यटक अनुसारको यहाँ होटलहरुमा बास बस्न पाइन्छ । एक रातको एक हजारदेखि लिएर ५ हजार रुपैयाँसम्म पर्ने यहाँ होटलको कोठाहरु पाइन्छन् ।

यहाँ सस्तो र महंगो दुवै होटल उपलब्ध छन् । लुम्बिनीमा पर्यटकहरुको धेरै खर्च हुँदैन । किनभने यहाँ खाद्यवस्तु बजार दररेट अनुसारकै हुनाले महंगा छैनन् ।

कहाँ कहाँ घुम्ने ?
आउने जाने समय छाडेर लुम्बिनी मात्रै घुम्नका लागि एक/दुई दिनले पुग्छ । तर, बुद्धसँग सम्बन्धित अन्य स्थान पनि भ्रमण गर्ने हो भने ३/४ दिन भ्रमण प्याकेज टुर बनाएमा उत्तम हुनेछ । मुख्य भनेको लुम्बिनी हो जुन घुम्नको लागि एक दिनले पुग्छ ।

तिलौराकोट
त्यसपश्चात दोस्रो दिन बुद्धले आफ्नो जिवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ । जहाँ बुद्धले ज्ञान प्राप्त गरी कपिलवस्तु आउँदा पहिलोपटक आफ्ना बुबा शुद्धोधनलाई भेटेका थिए । यो स्थान लुम्बिनीदेखि २८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्छ । लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित स्थल गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।

देवदह
त्यस्तै तेस्रो दिन रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम घुम्न सकिन्छ । भैरहवादेखि करिब ३५ किलोमिटर पूर्व प्राचीन कोलिय वंशको राजधानी देवदह स्थित छ । यो बुद्धको आमा मायादेवीको माइतीको रुपमा चिनिन्छ । बुद्धत्व प्राप्तिको ७ वर्ष पछि गौतम बुद्ध देवदह आएका थिए । देवदह वरिपरि अन्य पुरातात्विक स्थलहरु रहेका छन् ।

रामग्राम
यस्तै नवलपरासीको रामग्राममा रहेको सात मिटर अग्लो स्तुपमा बुद्धको अस्तु रहेको छ । उक्त स्तुप रामग्रामका राजाले बनाउन लगाएका थिए । झराही खोलाको किनारमा अवस्थित रामग्राम स्तुप इटाद्धारा निर्माण गरिएको छ । यो स्थल भैरहवादेखि २४ किलोमिटर र नवलपरासीको सदरमुकाम परासीदेखि ४ किलिोमिटर दक्षिणीपूर्वमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment