Comments Add Comment

यम बुद्धको मृत्युले जन्माएको प्रश्नः जिन्दगीलाई मृगतृष्णामा कहाँसम्म दौडाउने ?

बुरुक्क उफ्रेर किन जानु विदेश ?

बेलायतमा ‘आत्महत्या गरेका’ भनिएका चर्चित र्‍यापर अनिल अधिकारी उर्फ यम बुद्धको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि भयो । २९ वर्षे यी युवाको शरीर त खरानी भइ नै सक्यो, तर उनको चिहानबाट जन्मिएका केही प्रश्नहरु चाहिँ धुँवाजसरी मडारिइरहेका छन् । शायद, मडारिइरहनेछन् हामीमाझ ।

पारिवारिक पृष्ठभूमि

यम बुद्धको पुर्ख्याैली थातथलो मोरङ जिल्लाको सलकपुर हो । नायिका रेखा थापा र यम बुद्धको पुर्ख्याैली घर खासै टाढा होइन । यी दुबै व्यक्ति एउटै थातथलोबाट राष्ट्रिय चर्चामा आएका व्यक्तिहरु हुन् । र, संयोग पनि कस्तो परेको छ भने रेखा थापा र यम बुद्ध दुबैका परिवार एउटै पार्टीमा, अर्थात कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । यमवुद्धका मातापिता पहिल्यैदेखि राप्रपा नेपालका कार्यकर्ता हुन् । रेखा र उनकी आमा भर्खरै राप्रपामा लागेका छन् ।

यम बुद्धका पिता अम्बिकाप्रसाद अधिकारी सलकपुरका प्रतिष्ठित एवं वौद्धिक व्यक्ति हुन् । लामो समय जनप्रतिनिधिका रुपमा काम गरेका अम्बिकाप्रसादलाई स्थानीयवासीले जनसेवकका रुपमा समेत सम्झन्छन् । उनीहरु अहिले सपरिवार काठमाडौको मैतीदेवीमा बस्न थाले पनि सलकपुरमा अम्बिकाप्रसादको घर र जमीन यथावत छ । यमबुद्धका पिता आफ्नो थातथलोको मायाले मोरङ गइरहन्छन् ।

यम बुद्ध धनी बाबुका एक्ला छोरा हुन् । उनलाई आमाबुबाले समाजमा नाम र इज्जत दुबै कमाइदिएका थिए । नाममात्रै होइन, दाम पनि कमाइदिएकै थिए । मैतीदेवी चोकै छेउमा ४/५ तल्ले घर किनिदिएकै थिए । गीत-संगीतको क्षेत्रमा कलिलो उमेरमै नयाँ पुस्तामाझ चर्चा कमाइसकेका यम बुद्धलाई काठमाडौं र मोरङको सम्पत्तिले आरामका साथ बाँच्न र कला क्षेत्रमा लाग्न नपुग्ने केही थिएन ।

अष्ट्रेलियामा रहेकी छोरीले ‘आमा धेरै दुःख नगर्नु’ भनेर गाली गरे पनि यम बुद्धकी आमालाई काम नगरी खाली हात बस्न मन लाग्दैन । उनले आफ्नै व्यवसाय गरिरहेकी छिन् मैतीदेवीमा । यम बुद्धकी आमाले मैतीदेवीस्थित आफ्नै घरमा गल्र्स होस्टेल चलाएकी छिन् । छात्राहरुलाई उनी आफैं खटेर छोरीहरुलाई जस्तै हेरचाह गर्छिन् । घरको माथ्लो तलामा यम बुद्धका आमाबुबा बस्छन्, बाँकीमा उनीहरुले होस्टेल सञ्चालन गरेका छन् । घरभाडामा लगाएर चुपचाप बसे पनि खान पुग्ने यो परिवार अझैसम्म श्रम गरेरै बाँचिरहेको रहेको छ ।

यम बुद्ध वाल्यावस्थादेखि नै मेघावी थिए । आफूभित्र केही असामान्य प्रतिभा र क्षमता भएकै कारण उनी २९ वर्षको उमेरमै किशोर पुस्तामाझ लोकप्रिय भएका हुन् ।

नेपालमा मात्रै होइन, र्‍यापको क्षेत्रमा उनको प्रतिभाको क्षितिज देसान्तरसम्म उघ्रन थालिसकेको थियो । हुन सक्छ, बाँचिरहेका भए उनी विश्वस्तरकै प्रथम नेपाली र्‍यापर बन्ने थिए कि ? उनीसँग यसका लागि प्रशस्तै समय र सम्भावना थियो ।

बुरुक्क उफ्रेर किन जानु विदेश ?

यम बुद्धको मृत्यु कसरी भयो, उनले आत्महत्या गरेका हुन् या षड्यन्त्रपूर्वक हत्या गरिएको हो ? यी प्रश्नहरुको विश्लेषण गर्नुभन्दा पनि यम बुद्धको मृत्युसँगै जन्मिएको अर्को महत्वपूर्ण प्रश्न हो- उनी जत्तिको मानिस किन जानु विदेश ? के यो बाध्यता हो ? यो रहर हो ? वा नेपाली युवा पुस्तामा देखिएको गलत फहमी ? यसबारेमा सोच्नुपर्छ अब यम बुद्धको पुस्ताले ।

यम बुद्ध पारिवारिक गर्जो टार्नुपर्ने समस्याले विदेश गएका होइनन् । नेपालमा बसेर जिविकोजपार्जन हुन नसक्ने बाध्यताले अरबतिर लागिरहेका युवाहरुको जस्तो नियति थिएन उनको । तै पनि उनी विद्यार्थी भिसामा बेलायत गए । पछि पत्नीको ‘डिपेन्डेन्ट’ भएर उतै बसे । ससुराली घरमा आश्रय लिएर उनले बेलायतमा ‘कुरियर ब्याय’ (हुलाकी केटा) को काम गरे ।

नेपालको एउटा चर्चित कलाकारले यति साह्रो परनिर्भर जिन्दगी बिताइरहनुपर्ने कुनै जरुरी थिएन । यमबुद्धले आफैं रोजेको जिन्दगी थियो त्यो । जुन नेपालका आम धनीमानीका छोराछोरीमा देखिएको रोग हो यो । आफ्नो जीवनलाई कसरी बिताउने भन्ने नजान्दा यो दुर्घटना भयो । यो दुर्घटना आत्महत्या होस् या हत्या, देशको चर्चित कलाकारले यसरी विदेशिनु हुँदैनथ्यो ।

नेपालका चर्चित कलाकारहरु अमेरिका वा युरोप जान पायो भने जुत्ताका तुना पनि नबाँधी दौडन्छन् । नेपालमा हुँदा ठूलो कुरा गर्ने केही पत्रकार पनि अहिले त्यसैगरी विदेशमा पुगेर बर्गर खाँदै भाँडा माझ्दैछन् । र उनीहरु सामाजिक सञ्जालमा ‘बर्गर राष्ट्रवाद’ को वकालत गर्दैछन् ।

विदेशका कार्यक्रममा गएका कलाकारहरु उतै लुक्छन् । कोही स्वतन्त्र नेपाली नागरिकहरु नक्कली बिहेको कागज बनाएर ‘डिपेन्डेन्सी’ भिसामा विदेश हानिन्छन् । देशभित्रैको नाम, धन र सान सौगात भुलेर धनीमानीका छोराछोरीहरु समेत विदेशमा भाँडा माझ्न, लुगा थुन, ग्यास स्टेसनमा काम गर्न अनि यस्तै यस्तै काम गर्न १०/२० लाख खर्च गरेर जाने चलन छ ।

विदेश गयो भने ठूलो भइन्छ भन्ने उनीहरुलाई भ्रम छ । यता नेपालमा रहेका परिवारका सदस्यहरुलाई पनि आफ्ना छोराछोरी युरोप, अमेरिकामा छन् भने पछि छरछिमेकमा सामन्ती दम्भ देखाउन पाइन्छ भन्ने भ्रम छ । यस्तै-यस्तै भुलभुलैयामा लागेर देशका धेरै प्रतिभाहरु विदेश पलायन भइरहेका छन् । यम बुद्ध पनि यसैको एउटा बिम्ब हुन् ।

यम बुद्धले बेलायतमा जुन काम गर्दै थिए, त्यो हेय काम होइन । काम सानो-ठूलो विल्कुलै हुँदैन । हामीले कामलाई सम्मान गर्नुपर्छ । काम गरेर खानेहरु महान हुन् र काम नगरी खानेहरु चाँहि शोषक हुन् । यम बुद्धले मात्रै होइन, उनका आमाबुबाले समेत आफैं पेशा व्यवसाय गरेर बाँचेका छन् । श्रमप्रतिको अधिकारी परिवारको लगाव उदाहरणीय नै छ ।

तर, प्रश्न के हो भने यम बुद्धले आफ्नो समय र क्षमतालाई बेलायतका गल्लीमा हुलाकीका रुपमा डुलेर हैन कि देशमै बसेर सदुपयोग गर्न सक्थे र गर्नुपथ्र्यो । बेलायतमा उनी जे काम गर्दै थिए, सामाजिक सञ्जालबाट खुलासा भएपछि उनमा लज्जावोध भएको हुन सक्ने पनि केही मानिसहरुको तर्क सुनिएको छ । यदि त्यस्तो हो भने त झनै आफूले गरेको श्रममा गर्व गर्न नसक्नु उनको कमजोरी हो ।

हामी जे काम गर्छौं, त्यसमा गर्व गर्न सक्नुपर्छ । र, जे काम गर्दा लज्जावोध हुन्छ, त्यस्तो काममा हातै हाल्नुहुँदैन । भर्खरै छक्कापञ्जा पाइरेसीको बात लागेका एक किशोरले नेपालमा आत्महत्या गरे । यस्तो तरिकाले हामी कसैले पनि जीवन बिताउन हुँदैन ।

जिन्दगी त उल्लास र स्वाभिमानका साथ बिताउन सक्नुपर्छ । जिन्दगी निराशाको पर्याय होइन, उल्लास र खुशीको अर्को नाम हो र हुनुपर्छ । कमसेकम त्यस्तो बनाउने कोशिस गर्नुपर्छ । यस्तो उदाहरण यम बुद्धबाट प्रस्तुत हुन सकेन ।

मान्छे जेका लागि जन्मिएको हो, वा ऊ जे प्रतिभा लिएर जन्मिएको छ, उसले आफूमा अन्तरनिहीत प्रतिभालाई न्याय गर्नुपर्छ । मान्छेले कमसेकम आफैंलाई, आफ्नो जीवनलाई न्याय गर्नुपर्छ । यम बुद्धले बेलायतगमनको जुन बाटो रोजे, उनले आफैंलाई न्याय गर्न सकेनन् ।  परिवारलार्इ पनि न्याय गरेनन् । उनको यो त्रुटीबाट हामी बाँचेकाहरुले पाठ सिक्न जरुरी छ ।

विदेश जान पाइन्छ भनेपछि नागरिकता त्याग्न तयार हुने, कोही भुटानी शरणार्थी बनेर विदेश जाने अनि कोही नक्कली श्रीमान-श्रीमती बनेर विदेश जाने विकृति नेपालमा बढेकै हो ।

स्टुडेन्ट भिसा विदेशमा पढ्नका लागि हैन कि विदेश पलायनको एउटा बाहना बनेको छ । विदेशमा जस्तै स्तरीय पढाइ नेपालमा पनि हुन्छ । नेपाली शैक्षिक उत्पादन विदेशमा भन्दा राम्रो हुन थालेको छ । मेडिकल साइन्स पढ्न विदेशबाट विद्यार्थीहरु काठमाडौं आउन थालिसकेका छन् । यस्तो अवस्थामा विदेशमा एउटा फ्याल्टमा खुलेको हरिप कलेजको स्पोन्सर मिलाएर दौडने रोग धेरै नेपालीमा लागेको छ ।

नेपालको बोर्डिङ स्कुलमा पढेका यम बुद्ध पनि सुरुमा पढ्नकै लागि भनेर बेलायत हानिएका हुन् । वा उनको परिवारले छोरालाई विदेशमा पढाउनुमा फलीफाप हुने ठान्यो ।

विवाह उर्फ ‘डिपेन्डेड म्यारिज’

‘एनी हाउ विदेश जाउ’ भन्ने विकृतिकै कारण विवाहजस्तो पवित्र सामाजिक सम्बन्धसमेत धुमिल बनेको छ । पैसाको लालसा र विदेश जान पाइने भ्रामक स्वार्थमा केन्दि्रत विवाहले पारिवारिक सुख बिथोलिने गरेको छ ।

मन मिल्ने ‘लाइफ पार्टनर’ खोज्नुको साटो स्वार्थजडित ‘डिपेन्डेन्सी बिहे’ मौलाएको छ । परिणामस्वरुप यसले मानिसहरुमा कुण्ठा, डिप्रेसन र निराशा जन्माउने गरेको छ ।

एक महिनाअघि फ्रान्समा पूर्वयुवराज पारसका साथीले यही कारणले आत्महत्या गरे । दुई साताअघि अष्ट्रेलियामा एक जना डिपेन्डेड अर्थात ‘कागजी लोग्ने’ ले पत्नीलाई कोमामै छाडेर उपचार खर्च कुम्ल्याएर भागे । नेपालमा अहिले तिनको खोजी भइरहेको छ ।

पछिल्लो समय यम बुद्ध बेलायतस्थित ससुराली घरको बाथरुममा मृत भेटिए । कामना गरौं, यो घटना आत्महत्यामै सीमित होस् । तर, यसले केचाहिँ प्रमाणित गरिसकेको छ भने यम बुद्धको ससुराली घर उनका लागि बैकुण्ठजस्तो भएन, मसान-घरजस्तो भैदियो, त्यही भएर त उनले आत्महत्याको बाटो रोजे । यमलोकको बाटो रोजे ।

त्यसैले अब डलरको मृगमरिचिकामा दौडेर ‘डिपेन्डेन्सी म्यारिज’ गर्ने अनि कसैसँग लेपासिएर विदेशतिर दौडने भन्दा कमसकेसम्म स्वदेशमै केही इलम गरेर जीवन बिताउने विषयमा पो किशोर पुस्ताले सोच्ने हो कि ?

जिन्दगीलाई कहिलेसम्म मृगमरिचिकामा दौडाउने ? यम बुद्धबाट सिकौं । फ्रस्टेसन बोकेर विदेशमा बस्नुभन्दा आफ्नै घर गाउँमा फर्केर केही गरौं । विदेशमै खुशी भइएको छ भने मात्रै विदेशमा बसौं ।
जहाँ बसे पनि मान्छेले आफूले टेकेको ठाउँमा खुशी फुलाउन सक्नुपर्छ । विदेशमा बाध्यता, रहर वा भ्रम जेसुकै कारणले बसिरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको चित्त दुखाउने यो टिप्पणीकारको मनशाय होइन । तथापि देशलाई हराभरा बनाउने हो भने आफ्नो मातृभूमिलाई केही न केही योगदान हामी सबैले दिनैपर्छ भन्नेमात्रै आशय व्यक्त गर्न खोजिएको हो ।

अर्को प्रश्नः मृत्युको कारण के हो ?

यम बुद्धले बेलायतस्थित ससुराली घरको बाथरुममा झण्डिएर आत्महत्या गरेको भनिएको छ । कतै उनले आत्महत्या गरेका हैनन् कि भन्ने प्रश्न पनि उनका फ्यान एवं शुभचिन्तकहरुले उठाइरहेका छन् । कतिपय मिडियामा यम बुद्धले गरेको भनिएको ‘आत्महत्या’ माथि विभिन्न कोणबाट विश्लेषणात्मक प्रश्नहरु समेत उठाइएको छ ।

गत शनिबार राति लण्डन साउथ ह्यारोस्थित आफ्नै ससुराली घरको बाथरुममा झुण्डिएको अवस्थामा उनी मृत फेला परेको समाचार आएको छ । राति ड्युटीबाट फर्केपछि श्रीमतीसँग बसेर वाइन खाएको र सँगै सुतेको भए पनि उनी बाथरुम गएको श्रीमतीलाई थाहा नभएको अनि सोही घरमा बस्ने व्यक्तिले बिहान बाथरुम जाँदा शव भेटेको भनिएको छ ।

कतिपयले के तर्क गरेका छनु भने बेलायतको बाथरुममा झुण्डिने ठाउँ हुँदैन, राति सँगै सुतेकी श्रीमतीले बिहानसम्म किन थाहा पाइनन् । उनको बंगारो खुस्किएको भेटियो, बाथरुमको चाबी कसरी खुल्यो भन्नेजस्ता प्रश्नहरु उठाइएको पाइन्छ ।

तर, यी विषयहरु तथ्यबाट पुष्टि नहुँदासम्म अप्रमाणिक कथनहरु मात्रै हुन् । र, हचुवामै हामीले यस्ता प्रश्नहरु उठायौं भने पत्नी र आफन्तजनमा अन्याय पनि हुन जाने भएकाले यी विषयहरुमा हामी सबैले गम्भीर बन्नुपर्ने हुन्छ । र, परिवारजनले पनि घटनालाई लुकाएर हैन कि धैर्यतापूर्वक अनुसन्धानलाई सहयोग गरेर नै यस्ता प्रश्नहरुको तार्किक समाधान गर्न सकिने छ । यसबारेमा बहस वा विश्लेषण गर्नका लागि तथ्यहरुको जरुरत पर्छ । विदेशमा भएको यो दुर्घघटनाबारे नेपालमा बसेर यस्तो भयो होला, उस्तो भयो होला भन्नु अनुमान मात्रै हुन सक्छ ।

यो लेखको उद्देश्य यम बुद्धले आत्महत्या गरेका हुन् वा उनको हत्या भएको हो भन्नेबारेमा विश्लेषण गर्ने होइन । यो लेखको उद्देश्य के मात्रै हो भने मेघावी प्रतिभाका धनी यम बुद्धले जुन तरिकाले जीवन बिताए, त्यो गलत तरिका थियो र त्यसबाट नेपालको नयाँ पुस्ताले नकारात्मक पाठ सिक्नुपर्छ भन्ने हो ।

एकजना विद्वानले ठीकै भनेका हुन्, मान्छेले आफ्नो इतिहास आफैं बनाउँछ, तर आफूले चाहेजस्तो कहिल्यै बनाउन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment