Comments Add Comment

‘लेखेर राख्नुस्, मधेसमा पनि एमाले पहिलो बन्छ’

हिम्मत भए धारा २७४ खारेज गरेर देखाउन चुनौती

१७ माघ, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलको राजनीतिक कर्मथलो मधेस हो भन्ने धेरैलाई थाहा छैन । धनुषामै बढेका र पढेका पोखरेल मैथिली भाषामा भाषण गर्न सक्छन् ।

यसबीचमा पोखरेलकै नेतृत्वमा रहेको एमालेको केन्द्रीय सचिवालयले आगामी फागुन २५ देखि थाल्ने मधेस अभियानमा लाखौं जनता परिचालन गर्ने दाबी समेत एमालेले गरिरहेको छ ।

मधेसको मनोविज्ञान बुझेको दावी गर्ने पोखरेल, आगामी चुनावमा एमाले तराई मधेसमा कमजोर हुन्छ भन्ने कुरा मान्न तयार छैनन् । अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले तराई मधेसमा एमालेले पहिलेको भन्दा बढी मत ल्याउने दाबी गरे । आखिर कसरी ? एमाले महासचिव पोखरेलसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

एमालेको अहिलेको अडान र बोलीलाई मधेस बिरोधी भनेर सबैले आरोपित गरिरहेका छन्, तपाईहरु किन मधेसको मनोविज्ञान बुझ्न चाहानुहुन्न ?

मधेस र मधेसी कुनै अमूक दल वा विदेशी भरियाका बँधुवा मजदूर होइनन् । अहिले जुन विषयमा संविधान संसोधन गर्न खोजिँदैछ, त्यो कुन चाहिँ मधेस वा मधेसी जनताको माग हो ? खुलेर बहस गरौं । हामी पनि मधेसमै छौं । मधेसका जनतासँग दिनहुँ अन्तरक्रिया गरिरहेका छौं ।

कुनै पनि मधेसी जनताले पाल्पा, गुल्मी जस्ता जिल्लाहरु अलग हुनुपर्छ भनेर माग गरेका छैनन् । भाषा, नागरिकताका कुरा पनि मधेसी जनताको होइन, बाहृय शक्तिको इशारामा भइरहेको छ । मधेसको वास्तविक समस्या हामीले बुझेका छौं । जसको समाधानका लागि ओली सरकारका पालामा सबैभन्दा धेरै बजेट बिनियोजन मधेसमा भएको छ । जो जनताबाट तिरस्कृत भएका छन्, जनताले जमानत जफत गराएका छन्, तिनले भनेको कुरा मधेस र मधेसीको हुन सक्दैन ।

तर तिनै तिरस्कृत भनिएकाहरुको आह्वानमा लाखौं मान्छे आन्दोलनमा आएका हुन् नि, तिनीहरुलाई बेवास्ता गरेर चुनावमा जाने हिम्मत छ तपाईहरुमा ?

चुनाव गराउने हिम्मत सरकारले देखाउने हो । जनता चुनावका लागि तयार छन् । हामी पनि मधेसमा दिनहुँ भेला, जनसभाहरु ग्ारिरहेका छौं । चुनाव घोषणा गरोस, त्यसपछि जनताले सबैलाई चुनावमा ल्याउँछन् ।

मधेसी मोर्चा सहमत नभई चुनाव नहुने र नहुने चुनाव घोषणा गरेर आफू ज्ञानेन्द्र नबन्ने कुरा त प्रधानमन्त्रीले भनि सके नि सुन्नुभएन ?

पुष्पकमल दाहाल ज्ञानेन्द्र शाह बन्छन् कि अरु के के बन्छन् त्यो त अब तपाईहरु हेर्दै जानुहुनेछ । आउने दिनले उहाँलाई के के बनाउँछन् भन्ने देखिनेछ । उहाँ आफ्नै कर्मले सिद्धिने हो । जहाँसम्म मोर्चा आउने कि नआउने भन्ने कुरा छ, उनीहरु चुनावमा किन नआउने ? चुनावको मिति घोषणा गर्नुस, मोर्चा किन आउँदैन ? चुनाव एकै चरणमा होइन दुई-तीन चरणमा हुनेछ । जसले चुनाव बहिस्कार गर्छ वा मान्दैन, जनताले लाठो लिएर ठिक लाउने छन् । चुनाव राज्यले गराउने हो,को आउछन् को आउदैनन् भन्ने अलग कुरा हो ।

मधेसमा एमाले छिर्न सकेको छैन, एमाले मुक्त मधेस भन्दै गाउँ-गाउँबाट बाजा बजाएर बिदाइ गरिँदैछ, मधेसी जनताको मन जित्नेतिर नलागी यस्तो अवस्थामा पनि तपाईहरु चुनावप्रति निकै उत्साहित हुनुहुन्छ किन हो ?

यसमा मिडियासँग भन्दा पनि हामी आफ्नै कमजोरी आलोचित छौं । एमाले मधेसमा गएको मिडियाले देख्न छाडे, हामीले पनि प्रचार गर्न सकेनौं कि । होइन भने यसबीचमा हाम्रो पार्टीका शीर्ष नेतादेखि सबै तहका नेता कार्यकर्ता मधेसमा निरन्तर क्रियाशील छौं । हामीले लिएका अडानहरु मधेसी जनतालाई सुनाइरहेका छौं ।

एमाले मुक्त मधेस भन्नेहरु, बाजा बजाउनेहरु कहाँ छन् ? हामीले देखेनौं, बरु कतिपय ठाउँमा उनीहरुलाई मधेसी जनताले लखेटेका छन् । सुनसरीको हरिनगरा एउटा उदाहरण हो ।

तपाई आफैंलाई नढाँटी भन्नुस किनकि तपाई एमाले नेतामध्ये मधेसमा धेरै बसेको र बुझेको अनि अहिले पनि मधेसमा केन्द्रित हुनुहुन्छ, आउने चुनावमा तराई मधेसमा एमालेको आकार अहिलेको भन्दा कति सानो होला ?

म आत्मालाई नढाँटी भन्छु, मधेसमा निरन्तर गइरहेको हिसाबले ढुक्कका साथ भन्छु, आउने चुनावमा एमालेको आकार अहिलेको भन्दा ठूलो हुने देखिरहेको छु मैले त । हामी अहिलेको भन्दा बढोत्तरी गर्छौं । हाम्रा संगठन चलायमान छन् । एउटा पनि कार्यकर्ताले पार्टी छाडेका छैनन् बरु थपिएका छन् । जनतालाई हामीले हाम्रा अडानका बारेमा भोजपूरी, मैथली,अवधी भाषामै बुझाइरहेका छौं । लेखेर राख्नुस् मधेसमा हामी पहिलेको भन्दा बढी जित्छौं । हामी मधेसमा पनि पहिलो शक्ति बन्छौं, पहाड र हिमालमा त छदैछौं ।

यो त अलि पत्याउन नसकिने कुरा भयो, राजमार्ग क्षेत्रमा त एमालेको आकार बढ्ला, तर हुलाकी राजमार्ग दक्षिणमा क्षति पुग्छ भन्छन् नि ?

मैले समग्र तराई मधेसको कुरा गरेको छु । यसबीचमा तराईका २० जिल्लामा एमालेले २५ लाख जनता परिचालन पनि गर्दैछ । हामीले अघिल्लो चुनावमा यसअघि कहिल्यै नजितेका महोत्तरी, बाँके, पर्साका कोर मधेसमा चुनाव जितेका छौं । त्यहाँ हाम्रो शक्ति अझ बढेको छ । बाँकेका दिनेशचन्द्र यादव सीमा क्षेत्रबाट जितेका हुन् । महोत्तरीका दीपनारायण साह, रामदयाल मण्डल भन्नुस वा पर्साका राजकुमार गुप्ता, बिचारी यादव, जयप्रकाश थारुहरु भन्नुस् । ती को हुन् ? एमाले होइनन् ?

एमालेले विगतमा विभिन्न कमजोरीका कारण हुलाकी राजमार्गका दक्षिणका कतिपय क्षेत्रमा एक डेढ सय मतान्तरमा चुनाव हारेको छ, ती ठाउँमा पनि हामी बढोत्तरी गर्दैछौं । हामीलाई मधेसमा गुमाउँछौं कि भन्ने कत्ति पनि डर छैन । चुनाव घोषणा होस, हामी देखाउँछौं मधेस र मधेसीसँग एमालेको साइनो के हो भन्ने कुरा ।

स्थानीय चुनाव नभए एकैचोटि केन्द्रीय संसदका चुनाव गरौं भन्ने तपाईहरुको लाइन मधेसी मोर्चासँग मिल्न लागेको हो ?

हामीले बैशाखसम्म स्थानीय तहको चुनाव हुनुपर्छ भनेका हौं । बिभिन्न सन्दर्भमा कुनै चुनाव नै नहुने ढंगले अघि बढ्यो भने देशलाई जनप्रतिनिधिविहीन बन्न दिनुहुँदैन भनेर संघीय संसदको चुनावको प्रसंग निस्किएको हो । हामी यो वा त्यो भन्ने पक्षमा छैनौं तर चुनाव गराएर संविधान कार्यान्वयन हुनुपर्छ ।

चुनाव गराउनकै लागि राष्ट्रिय सहमतिको सरकारको कुरा पनि उठाउन थाल्नुभएको हो ?

हामीले सत्ता साझेदारी कदापि खोजेका छैनौं । यही सरकारले चुनाव गराओस् भनिरहेका छौं । निर्वाचनको मिति घोषणा गरोस, यही सरकारले चुनाव गराओस् । तर, हामी देखिरहेका छौं, चुनाव गराउनेतिर सरकार जाँदैन । किनकि चुनाव भयो भने संविधान कार्यान्वयन हुन्छ । त्यसो हुनु भनेको जुन कामका लागि यो गठबन्धन बनेको हो, त्यसको विपरीत हुन जान्छ ।

तर स्थानीय चुनाव नभई शेरवहादुर देउवाको पालो त आउँदैन नि ?

हेर्दै जाउँ कसरी बन्ने हुन् । उनीहरुले कहाँ कहाँ पुगेर तामो तुलसी भाकेका छन्, त्यहाँबाटै होला खेल । तर, एउटा कुरा के हो भने शेरवहादुर देउवा भनेको सत्ता प्राप्तिका लागि जे पनि गर्न नहिच्किचाउने व्यक्ति हो भन्ने कुरा कांग्रेसकै नेताहरुले भन्ने गरेका छन् । उहाँको विगत पनि त्यस्तै छ । एकपटक फेरि उहाँ परीक्षामा हुनुहुन्छ ।

निर्वाचन आयोगले दिएको माघ १५ को डेडलाइनमा संसदले निर्वाचन सम्बन्धी सबै कानुन दिन सकेन, अब जेठमा स्थानीय चुनावको सम्भावना कम भयो, यसको जिम्मेवारी त तपाईहरुले पनि लिनुपर्ला नि ?

यसमा सबैको भागेदारी भन्दा पनि कसको के जिम्मेवारी हो त्यो बुझ्नुपर्छ । होलसेलमा सबैले जिम्मेवारी लिनुपर्छ भन्नु युक्तिसंगत हुँदैन । मूल जिम्मेवारी सरकारको हो । हामीलाई यो सरकारले चुनाव गराउछ भन्ने कहिल्यै लागेको थिएन किनकी चुनाव हुन नदिन र संविधान कार्यान्वयन कसरी गर्दा रहेछौ हेरौंला भनेर चुनौति दिने शक्तिले बनाइदिएको गठबन्धन हो यो । यो गठबन्धन चुनाव गराउन बनाइएकै थिएन भन्ने तीनबुँदे सहमतिले पुष्टि गरेको हो । आज आएर हाम्रो आशंका र आरोप पुष्टि भएको छ ।

यो त एकजनाको रीसले अर्काको काख फोहोर गर्ने जस्तो कुरा भएन र ?

मिडिया र बौद्धिक जगतलाई हाम्रो आग्रह छ कि,एमालेले भन्यो भनेर होइन स्वतन्त्र ग्राउण्डमा बसेर बिश्लेषण गरौं । नेपालका संविधानसभाले जारी गरेको संविधान ‘होम ग्रन’ (घरेलु उत्पादन) हो । हामीलाई संविधान जारी नगर भनेर क कसले धम्की र दबाब दिए भन्ने सबैलाई थाहा छ । तिनै शक्तिले संविधान त जारी गर्‍यौ, अब कसरी कार्यान्वयन गर्छौ, हामी हेरौंला भनेर खुलेआम धम्की दिएकै हुन् ।

त्यसरी अमूर्त कुरा भन्दा पनि प्रष्ट भन्नुस न..

(बीचमै रोकेर) हामीले संविधान जारी गरेको हाम्रै छिमेकीलाई मन परेको थिएन । जारी त गर्‍यौ, लागु कसरी गर्छौ भनेकै हो । यही संविधान कार्यन्वयन रोक्न एमाले माओवादी गठबन्धन भत्काउनु उसको मुख्य उद्देश्य थियो । त्यस क्रममा पुष्पकमल दाहाललाई आश र त्रासको पत्ति देखाएर गठबन्धन भत्काउन प्रेरित गरियो । आशको पत्ति तिमीलाई प्रधानमन्त्री बनाइदिन्छौं भन्ने थियो । त्रासको पत्ति भनेको बिगतका मानवता बिरोधी अपराधमा अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने धम्की थियो । आश र त्रासको पत्ति देखाएर प्रचण्डलाई कब्जा गरेपछि एमाले नेतृत्वको सरकार ढल्नु स्वाभाविक थियो, किनकि हामीसँग बहुमत थिएन । त्यहीँबाट शुरु भएको थियो संविधान कार्यान्वयन हुन नदिन चुनाव हुन नदिने खेल । जसमा अहिलेको सत्ता गठबन्धन मोहरा बनेको हो ।

संविधान संशोधन गर्दै असन्तुष्ट पक्षलाई समेटेर चुनाव गराउने र संविधान कार्यान्वयन गर्ने मिसनमा ओली असफल भएर प्रचण्ड गठबन्धन बनेको यथार्थ स्वीकार गर्न पनि तपाईहरुलाई किन सकस भएको ?

संविधान संसोधन नौटंकी हो । जसलाई मनाउन भनेर गर्न खोजिएको छ, उनीहरु कसका भरिया हुन् भन्ने सबैले बुझेका छन् । तर समयभित्र चुनाव भएन भने नेपाल त संकटमा पर्छ, संविधान कार्यन्वयन हुँदैन त्यसपछि हिजो देखौंला भन्ने शक्तिको जित हुन्छ । त्यसकै लागि यो सबै नौटंकी भइरहेको हो ।

ओली सरकारले त कार्य योजना बनाएरै निर्वाचनको तालिका पारित गरेको हो । त्यसपछि त्यो गठबन्धन भत्काइएको थियो । कांग्रेस माओवादी र मधेसी मोर्चाबीच जुन कथित ३ बुँदे सम्झौता भयो,त्यसको मूल उद्देश्य चुनाव हुन नदिने र संविधान असफल पार्ने हो । यस काममा पुष्पकमल दाहाल र शेरवहादुर देउवा त्यो विदेशी शक्तिका भरिया बनेका मात्र हुन् भन्ने कुरा समयक्रमले आफैं पुष्टि गर्छ ।

संविधान संशोधनमा तपाईहरु अलिकति लचिलो हुनुभयो भने त संविधान कार्यन्वयन सहज हुन अवस्था अहिले पनि छ नि होइन र ?

संविधान संशोधन किन र कसका लागि ? विदेशी शक्तिलाई रिझाउन, उसका तुष्टि पूरा गर्न हामीले संविधान संशोधन गरिदिनुपर्ने ? होइन भने संविधानको धारा २७४ ले सिमांकन हेरफेरको अधिकार यो रुपान्तरित संसदलाई दिएकै छैन ।

होइन, अदालतले यसबारेमा भनिसक्यो, सीमांकन फेरबदलमा बहस हुन सक्छ, तर पारित भयो भने न्यायिक निरुपण अदालतले नै गर्छ भनिसक्यो । तपाईहरुसँग दुई तिहाई पुग्न नदिने संख्या छँदैछ, प्रक्रियामा गएर टुंगो लगाउन किन डराएको ?

हेर्नुस अदालतले प्रष्ट भनिसकेको छ । सीमांकन हेरफेरको अधिकार यो संसदलाई छैन । तर, अर्को कुरा के पनि हो भने, हामीलाई मतदानमा जान कुनै डर छैन । तर यो त नेपालको राष्ट्रिय हित र अखण्डताको कुरा हो ।

यो देश कसैले भोट हालेर बनाएको होइन । संसारका कयौं देश भोट हालेर अस्थित्व लोप भएका उदाहरण पनि छन् । हामीले खुलेआम देखिरहेका छौं, सुनिरहेका छौं । नेपालमा मधेशी र पहाडे दुई अलग राष्ट्र छन् । हिमाल पहाड र तराई कुनै पनि हालतमा अलग अलग प्रदेश हुनुपर्छ । यी सबै कुराको चूरो हामीले बुझेका छौं । त्यसैले सीमांकन हेरफेरको विषय असंवैधानिक भएकाले हामी यसमा छलफल र मतदान हुन दिन्नौं ।

विधेयक संसदमा तपाईहरुले बिरोध गर्दा गर्दै पनि दर्ता भइसकेको छ,अब प्रक्रिया त तपाईहरुले स्वीकार गरिसक्नु भयो नि ?

यसमा हामीले संसदीय प्रक्रियामा सभामुखको भूमिकामाथि प्रश्न उठेको देखेका छौं । उहाँ आफैंले पटक पटक गर्नु भएको रुलिङ भनेको प्रतिपक्षका सांसदहरु उभिएको अवस्थामा संसदको कारवाही अघि बढ्न सक्दैन भनेर भन्नुभएको हो । तर जसरी बिधेयक दर्ता गराइयो त्यसले सभामुखकेा भूमिकामा प्रश्न उठेको छ । जहाँसम्म प्रक्रिया अघि बढेको कुरा छ,संविधान विपरितको प्रक्रिया अघि बढ्न हामी दिँदैनौं । शेरबहादुर देउवा र प्रचण्डलाई मेरो चुनौति छ-हिम्मत छ भने धारा २७४ खारेज गरेर देखाऊ । हामी अरु विषयमा संसदमा छलफल गर्न तयार छौं ।

तपाईको कुरा कुरा त उपेन्द्र यादवसँग मिल्यो नि, उपेन्द्र यादवले पनि धारा २७४ खारेज नभई सीमांकन हेरफेर हुन नसक्ने भएकाले त्यसमा संसोधन गरौं भनेका छन् नि होइन ?

हो, बरु यो विषयमा उपेन्द्र यादवको कुरा संगतिपूर्ण छ । संविधानको धारा २७४ ले सीमांकन हेरफेर गर्ने अधिकारका बारेमा प्रष्ट व्यवस्था गरेको छ । जबर्जस्ती गरियो भने अदालतले उल्ट्याउँछ ।

त्यसैले प्रचण्ड र देउवाले २७४ खारेज गर्छौं भनेर आए हुन्छ । आखिर उनीहरु विदेशीका एजेण्डा बोक्ने भरिया बनेका छन् । भरियानै बनेपछि इमान्दार भरिया बन्नुपर्छ, बेइमान भरिया बन्नुहुँदैन । धारा २७४ कायम राखेर सीमांकन हेरफेर हुँदैन भन्ने कुरा उनीहरुले बुझेर पनि किन मालिकलाई धोखा दिँदैछन् ? यो मेरो प्रश्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment