Comments Add Comment

प्रचण्ड र मधेसी मोर्चा सम्वन्ध विच्छेदतर्फ

मधेसी नेताहरुलाई प्रधानमन्त्रीको चार प्रश्न

१७ माघ, काठमाडौं । सरकारले चुनाव घोषणाको तयारी थालेसँगै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाको दुरी बढेको छ । र, मधेसी मोर्चाका नेताहरुले सम्वन्ध विच्छद गरेर अब आ-आफ्नो बाटो लाग्ने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बोलाएको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक सकारात्मक हुन सकेन । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधन अघि बढाउने तर, चुनावलाई रोक्न नसकिने बताए ।

प्रधानमन्त्रीका चार प्रश्न

बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई चार प्रश्न राखे ।

उनले सरकारले चुनावको मिति घोषणा नगरेपनि चुनावको तयारी गर्न निर्वाचन आयोगलाई भन्ने भन्दै मान्ने कि नमान्ने भनेर प्रश्न गरे । यसबीचमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने र यो टुंगोमा पुगेपछि मिति घोषणा गर्ने उनको प्रस्ताव छ ।

उनको अर्को प्रश्न थियो, संविधान संशोधनलाई संसदको प्रक्रियामा लैजाँदा फेल पास जे पनि हुनसन्छ । यसो हुँदा चुनावमा जाने कि नजाने ?

तेस्रो प्रश्नः संशोधनमा के के परिर्माजन गर्न सकिन्छ मैले पहिला नै प्रष्ट भनिसकेको छ । यति परिर्माजन पनि संशोधनलाई मान्ने कि नमान्ने ?

चौथो प्रश्नः स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा केही हेरफेर गरौं । यो फेरबदलपछि स्थानीय तहकै चुनावमा जाने कि नजाने ?

प्रधानमन्त्री प्रचण्डले आफ्ना चार प्रश्नबारे जवाफ लिएर अर्को बैठकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेको रामसपाका महासचिव केशव झाले बताए । त्यो बैठक भोलि पर्सि नै राख्ने उनले जानकारी दिएका छन् ।

मधेसी मोर्चाका नेताहरु आक्रोसित

बालुवाटार बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राख्नासाथ मधेसी मोर्चाका नेताहरु आक्रोसित भएका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिर्माजनसहित पास नभएसम्म चुनावमा नजाने मात्र होइन, हुनै नदिने बताए । उनले संशोधनबारे सहमतिका लागि एमालेसँग सम्वाद गर्न प्रचण्डलाई सुझाए ।

ठाकुरले अब आफूहरु आन्दोलनमा जाने भन्दै त्यस्तो बेला सुरक्षा निकाय बाहेक अरु कुनै पनि कार्यालय मधेसमा चल्न नदिने धम्की दिएका छन् ।

संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अझ आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले तीन दलभित्रभित्र मिलेको र आफूहरुलाई धोका दिन मात्र मतभेदको नाटक देखाएको बताए ।

एक नेताका अनुसार यादवले अब धेरै भेटिरहनु (बैठक बस्नु)को औचित्य नभएको भन्दै आ-आफ्नो बाटो लाग्ने (सम्वन्ध विच्छेद गर्ने) प्रस्ताव राखेका छन् । उनले भने, ‘तपाईहरुले जे गर्नुहुन्छ थाहै छ, हामीले पनि जे सक्छौं, त्यही गर्छौ ।’

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभई चुनावको कुरै नगर्न आग्रह गरे ।

मधेसी मोर्चाको दुई सन्देश

बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक परिर्माजनसहित पास नभएसम्म कुनै हालतमा चुनाव हुन नदिने प्रष्ट सन्देश दिएका छन् ।

संशोधन विधेयक परिर्माजनका लागि तीन पक्षको तीन सदस्यीय कार्यदल बनेपनि ठोस प्रगति नभएको गुनासो गरे । साथै यसअघिका बैठकहरुमा प्रधानमन्त्रीले राप्रपा र फोरम लोकतान्त्रिकसँग कुराकानी गर्दैछु भनेपनि सत्तारुढ दलकै कारण उनीहरु सरकारमा आउन ढिलाई भएको दाबी गरे ।

मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको चुनावमा जान नसकिने बताएका छन् । उनीहरुले स्थानीय तह प्रदेश मातहत हुनु पर्ने भन्दै संविधान संशोधनपछि प्रदेश र केन्द्रको चुनाव गर्ने पर्ने प्रष्ट सन्देश दिएका छन् ।

मधेसी मोर्चालाई देउवाको प्रश्न

मधेसी मोर्चाका नेताहरुको अडान सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले तपाईहरुको अडान स्थानीय चुनाव हुनै नदिने पो रहेछ होइन त भन्दै प्रश्न गरेका थिए ।

उनले अरु विषयमा भने पछि छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

र, सोमबारको बैठकले प्रधानमन्त्री प्रचण्ड (सरकार) र मधेसी मोर्चाको दुरी बढेको प्रष्ट देखिएको छ । मोर्चाका एक नेता भन्छन्, सम्वन्ध विच्छेदतर्फ उन्मुख नै भइसकेको त होइन । तर, परिस्थिति त्यो निर्माण हुँदैछ ।’

र, अबको बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment