Comments Add Comment

समातिए वैदेशिक रोजगारीका ‘नटवरलाल’, ९४ पीडित प्रहरी सम्पर्कमा

१८ माघ, काठमाडौं । खाडी मुलुकहरुमा आकर्षक तलबसहित रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साह पक्राउ परे ।

धनुषा मिथिलेश्वर घर भई ललितपुर नकबहिलमा बस्दै आएका २९ वर्षीय साहलाई गत पुस २९ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको थियो ।

सुरुमा ७/८ जनाको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनको खोजी थालेको थियो । तर, उनी पक्राउ परेपछि जे खुल्यो प्रहरी आफैं पनि आश्चर्यमा परेको छ । उनीबाट पीडित भएका ९४ जना अहिले सीआईबीको सम्पर्कमा आइपुगेका छन् र, यो संख्या बढ्ने अनुमान छ ।

प्रहरीले मंगलबार साहबारेमा जानकारी दिँदा ८७ पीडित सम्पर्कमा आएका थिए । तर, मंगलबारसाँझसम्ममा थप ७ पीडित सम्पर्कमा आएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक मनोज नेउपानेले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्दा नै उनको साथबाट १७७ थान नेपाली नागरिक र ३ भारतीयको राहदानी बरामद भएको थियो । त्यसैले कति जनासम्म ठगिएका रहेछन् भन्ने पत्ता लगाउन प्रहरीले उनलाई सार्वजनिक नगरी जिल्ला अदालत काठमाडौंमा ठगी मुद्धाका म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । साह वैदेशिक रोजगारीका ‘नटवरलाल’ नै देखिएको भन्दै नेउपाने भन्छन्, एक जनाबाट ठगिएकाहरुको यो संख्या निकै ठूलो हो ।’

यस्तो छ उनको ठगी धन्दा

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार अमन भन्ने मोहमद अजमत अलि साह वैदेशिक रोजगार व्यवसायी वा प्रतिनिधि केही पनि होइनन् ।

तर, पनि कतार लगायतका खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने वस्ने व्यवस्था छ भन्दै विभिन्न कम्पनीको नक्कली डिमाण्ड लेटेर देखाएर हिड्थे । उनले विदेश पठाइदिन्छु भन्दै प्रतिव्यक्ति एक लाख १० हजारदेखि ३ लाखसम्म लिइएको पाइएको छ । रकम हात पार्न उनले नक्कली कागजात बनाएर राहदानी लिने र स्वाथ्य परीक्षण समेत गराउने गरेका थिए ।

तर, रकम लिएपछि भने फरार हुन्थे । पीडितले राहदानी र रकम फिर्ता माग्दा धम्क्याउने समेत गरेको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment