Comments Add Comment

सरस्वती पूजाका दिन गोरु दाइन्थ्यो

श्रीपञ्चमीमा अहिले काठमाडौंका स्कुलहरुमा ठूलै मेला लाग्छ । केटाकेटीलाई अक्षर चिनाउने मात्रै हैन, कतिपय बोर्डिङ स्कुलहरुले सित्तैमा भर्ना लिने स्किम समेत सार्वजनिक गर्छन् । अभिभावकहरुले पनि आफ्ना छोरा छोरीलाई पिठ्युमा बोकेर अक्षरारम्भ गर्न स्कुल लगेको धेरै देखिन्छ । बिहान आठ बजेदेखि सुरु भएको यो कार्यक्रम लगभग दिउँसो २ बजेसम्म चल्छ, काठमाडौंका धेरै स्कुलमा ।

श्रीपञ्चमीको दिन स्कुल पठाएपछि केटाकेटीले राम्रो पढ्छन् भन्ने मान्यता ब्यापक छ । मलाईचाहिँ चाउचाउ खाएर अघाउनु र श्रीपञ्चमीको दिन स्कुल गएपछि विद्धवान हुने कुरा उस्तै उस्तै हो जस्तो लाग्छ । डा. बाबुराम भट्टराई, उपेन्द्र देबकोटा वा कुलमान घिसिङहरु पक्कै पनि श्रीपञ्चमीको तिथि पारेर स्कुल गएका थिएनन् होला ।

पहिलो पटक कति वर्षको उमेरमा स्कुल गएँ, म आफैंलाई थाहा छैन । तर, हातमा एउटा पुरानो किताब बोकेर साथीहरुसँगै स्कुल गएको चाँही सम्झना छ । १,२ र ३ कक्षासम्म गाउँमै पढेँ । म स्कुल पढुन्जेल स्कुलमा श्रीपञ्चमी विषेश कुनै कार्यक्रम भएको याद छैन । यति थाहा छ, श्रीपञ्चमीको दिन स्कुल विदा हुन्थ्यो ।

देव्मीण, नारायण र शिव दाइसँग गिर खेलेर बिताइन्थ्यो । छोराले गतिलो पढेन भनेर हो वा राम्रो पढ्छ भनेर, ४ कक्षादेखि मेरो बसाइ मामाघरमा भयो । मावलीको बसाई साँच्चै मज्जाको थियो । मामाका दुई भाइ छोराहरु माष्टर, त्यही घरमा बस्थे कृष्णदेव यादव सर । तीनजना माष्टर बस्ने घरमा भएपछि किन पढ्नुपर्‍यो ? त्यसै विद्धवान !

‘तिमारुलाई त क्या मज्जा हगि, केही आएन भने जुनसरलाई सोधे पनि हुने’ रुद्रेले भन्थ्यो । म हो भनेर टाउको हल्लाउथें । उसलाई के थाहा आफ्नै घरमा बस्ने माष्टरलाई मैले ‘बाल’ नदिएको कुरा !

श्रीपञ्चमीमा सरस्वती पूजा नगरे पनि गोरु भने खुब दाइयो । मामाहरु पौखरी थिए । खेती ठूलो थियो । दुई हल गोरु जहिल्यै हुन्थे । एक हल बुढा गोरु हुन्थे त एक हल बहर ।

कुरो श्रीपञ्चमीकै गरौं । मैले स्कुल पढुन्जेल कहिल्यै सरस्वती पूजा गरिनँ । यसको अर्थ यो होइन कि म नास्तिक थिएँ । कुरो अर्कै छ । खासमा हामी स्कुल पढ्दा श्रीपञ्चमीमा स्कुल बिदा हुन्थ्यो । विदामा स्कुल गएर सरस्वती पूजा गर्ने चलन थिएन । घरमै आफ्नै किताबमा भएको सरस्वतीको तस्वीरमा पूजा गर्ने चलन थियो । मैले त्यो अवसर कहिल्यै पाइनँ ।

नौ कक्षा नपुगुन्जेक नयाँ किताब कसैले किन्देन । पुरानो किताबमा सरस्वतीको तस्वीर भएको पाना कहिल्यै भेटिएन । प्रायः त कभर भन्दा पछिल्लो पानामा हुन्थ्यो सरस्वती माताको तस्वीर । मेरो हातमा आइपुगुन्जेलमा किताबको एक दुई अंश नै उडिसकेको हुन्थ्यो ।

श्रीपञ्चमीमा सरस्वती पूजा नगरे पनि गोरु भने खुब दाइयो । मामाहरु पौखरी थिए । खेती ठूलो थियो । दुई हल गोरु जहिल्यै हुन्थे । एक हल बुढा गोरु हुन्थे त एक हल बहर । मामा गोरुका सौखिन हुनुहुन्थ्यो । एक हल गोरु किन्नका लागि जोगीमारासम्म पुग्नुहुन्थ्यो ।

पानी नलागोस् (वातावरणीय प्रभावले प्रतिकुल असर) भनेर ढिलोमा मंसिरसम्म बाच्छा ल्याउने चलन हुन्थ्यो । दुई महिना रत्तिएपछि माघमा गोरु दाउने चलन थियो ।

‘ल है भान्जा, गोरु समात्न जानुस्’ माइजूले श्रीपञ्चमीका दिन बिहानै भन्नुहुन्थ्यो । शुदर्शन दाइ गोरु दाउँने काममा जहिले अगाडि सर्थे । गोरु दाउँदा बाच्छा गोरुलाई बुढा गोरुसँग नार्ने र हरेक दिन एक घण्टाजति जोत्ने चलन हुन्थ्यो । शुदर्शन दाइ हलो समाउँदै पछाडि हिँड्थे भने म कानमा सिर्किनाले हान्दै अघि अघि हिँड्थें । लाले, च्यान्टे, गजुवा र कान्छा नाम गरेका गोरु हरेक वर्ष दाइयो ।

श्रीपञ्चमीपछि लगभग एक महिनासम्म बिहान-बिहान दुई घण्टाजति गोरुको कान समाएरै बित्थ्यो मेरो । यो दुई महिना मेरो काम गोरुकै कान समाएर बित्छ भन्नेमा शिक्षकहरु पनि सचेत थिए । गोरु दाउने पाटो बारी नजिकै भएकाले प्रायः सबै सरहरुलाई थाहा थियो ।

कहिलेकाँही सोधेको कुरो भन्न नसक्दा स्कुलमा नवराज मिश्र सरले मेरो कान निमोठदै भन्थे ‘ बिहानभरि गोरुको कान समाएर हिंड्छस्, अनि कसरी पढ्न आउँछ ?’

दिउँसोको मज्जा अर्कै थियो । श्रीपञ्चमी, शनिवार वा अन्य सार्वजनिक विदामा हाम्रो भागमा पथ्र्यो गोठालो । हिँउदमा खास गतिलो घाँस कहिँ पनि पाइँदैन । त्यसकारण गाई बस्तुलेदुःख दिँदैनन् । जुन पाखोमा गए पनि गोठालो जाँदा मस्ती गर्न पाइन्थ्यो ।

डण्डीबियो खेल्दै मनोरञ्जन लिने क्रममा गाली पनि मज्जाले खाएको छु । प्वाँले गोरु असाध्यै डेन्जर थियो । पाङ्दुरे पारीपटि्ट तुम्सिङ बाको खेतमा धेरैपटक प्वाँलेले गहुँ खाइदिएको छ । तुम्सिङ बा अलि कडै थिए । अरुबेला भान्जा बाबु भन्थे तर, प्वाँलेले गहुँ खाएको थाहा पाएपछि मलाई भन्थे ‘भतुवा, गोरु हेर्न नसक्ने मान्छे किन गोठालो आ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment