Comments Add Comment

मुसाले शुट काट्छ, केही बुद्धिजीवी एमाले काट्न उद्यत छन्

अचेल एमालेलाई गाली गर्ने केही इस्यु नभएपछि केही मान्छेहरु खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवाद भन्दै राष्ट्रियताको अपव्याख्या गर्न तम्सिएका छन् । तिनीहरुको उद्देश्य के हो भन्ने प्रष्टै छ । एमालेको नीति, व्यवहार दर्शनका बारेमा आलोचना र टिप्पणी गर्न सक्ने ठाउँहरु नभएपछि उनीहरु राष्ट्रवादको कुरुप व्याख्या गर्न लागेका छन् ।
एमाले नरुचाउने, एमालेसँग प्रतिस्पर्धा गर्ने वा नेपालालई ठीक ढंगले अघि बढ्न नदिनेखालका तत्वहरुसँग एमाले विरुद्ध केही बोल्ने ठाउँ छैन । त्यसकारण भ्रम फिँजाउन बेस्सरी प्रयासहरु भएका छन् ।

दुई चार अक्षर पढेका, एबीसीडी बुझेका भन्नेहरु नियोजित रुपमा राष्ट्रिय स्वाभिमानको खिल्ली उडाउन लागेका छन् । त्यसका लागि सिधै नसकेर एमालेको बिरोधका नाममा उनीहरु मुखरित भएका हुन् ।

नेकपा एमालेले राष्ट्रियताको सवालमा ५ वटा कुरामा जोड दिएको छ । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान । राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व यी तीन चिज आवश्यक पर्छ, राष्ट्रिय हित भनेर मात्र पुग्दैन ।

पञ्चशीलका सिद्धान्त, सार्क, बिमस्टेक र अरु विभिन्न संघ संस्थामा आवद्ध छौं । हामी पक्ष भएका अन्तर्राष्ट्रिय अनुवन्धहरुबाट हामी पछि हट्दैनौं । राष्ट्रियताको परिभाषा माग्नेहरुलाई म के भन्छु भने- हामी कसैसँग कटुता बढाउने वा सम्बन्ध बिगार्ने पक्षमा छैनौं । तर सहयोग, सम्मान र सह-अस्थित्व स्वीकार गर्नुपर्छ । लम्पसारवाद एमालेलाई स्वीकार्य छैन ।

यस सम्बन्धमा कुनै प्रकारको आलोचना, टिप्पणी हुन सक्ने ठाउँ छैन र कसैले गर्ने आँट गरेको छैन । तर, खोक्रो राष्टवाद भन्यो, आडम्बरी राष्ट्रवाद भन्यो, महेन्द्रीय राष्ट्रवाद भन्दिने । राष्ट्रवाद भनेपछि महेन्द्रीय १ यो त कस्तो भयो भने जनता देशभक्त छैन, राजामात्रै देशभक्त थिए भन्ने पार्ने कुरा उनीहरुले स्थापत गर्न खोजेका छन् । देशभक्तिको कुरा गर्ने वित्तिकै महेन्द्रीय भनेपछि त राजामात्रै देशभक्त हुने रहेछ, जनता त होइन रहेछ भन्ने विशाक्त प्रचार भइरहेको छ ।

एमालेविरुद्ध यही भइरहेको छ । हामीले देशभक्ति, राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सम्वृद्धिको कुरा गर्दा लम्पसारवादीहरुको चिटचिट पसिना आउने । केही उपाय नलागेपछि आन्तरिक राष्ट्रियताको कुरा उठाएर चटकेले जनतालाई भ्रम पार्न खोजेजस्तो गर्न खोजिँदैछ । एमालेले भनेको आन्तरिक राष्ट्रियता सामाजिक न्याय र समानता हो । यसमा एमाले कहीँ कतै दुबिधामा छैन ।

मुसाले नयाँ सुट काट्छ

राष्ट्रिय स्वाधीनताको सन्दर्भमा केही बुद्धिजीवीहरुको मुसा प्रवृति चर्चा गर्न मन लाग्छ । मुसाले लुगा काट्छ । मुसाले कपडा काटेर खाने होइन र पेट भर्ने पनि होइन । तर, उसले लुगा काट्छ । मुसाले आफ्नो दाँत उध्याउन लुगा काट्छ, नत्र दाँत बढ्छ । पुराना, थोत्रा लुगा काटे पनि हुने नि, तर नयाँ सुट नै काटिदिन्छ ।

हाम्रा कतिपय पढेलेखेका मान्छेको ताल यस्तै देख्छु । बुद्धिमा धार लाउनुपर्छ ठीक हो, तर बुद्धिमा धार लाउन देशलाई नै नोक्सान हुने गरी त नलाए हुने नि । देशलाई नोक्सान हुने गरी उहाँहरु धार लाउनुहुन्छ । एमालेलाई काटेजस्तो गर्ने तर नोक्सान चाहिँ देशलाई नै पुर्‍याउने सुविचारित उद्देश्य देखिन्छ ।

खुट्टामा हाने पनि जिउमा हाने पनि आँशु त आँखाबाटै आउने हो । एमालेलाई हान्दा आँशु त देशकै झर्ने हो । किनकि एमालेले देशभक्तिको कुरा गरेको छ ।

लम्पसरवादलाई चुनौति दिएको छ । हो, यहीँनेर एमालेलाई हानेपछि देशलाई घाइते बनाउन सकिन्छ भनेर उहाँहरु धार लाउँदै हुनुहुन्छ । सिधै राष्ट्रियताको विपक्षमा बोल्न लेख्न आँट नआएकाले एमालेको विरोध गर्नु परेको हो । तर, अब जनताले बुझिसकेका छन् ।

(एमाले अध्यक्ष ओलीले बुधबार पार्टी कार्यालयमा धुम्वाराहीमा गरेको सम्बोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment