Comments Add Comment

सिमसार विनाशले निम्त्याएका चुनौती

सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा सम्पन्न विश्व सिमसार सम्मेलन भएको ४६ वर्ष पुगेको छ । १८ मुलुकका प्रतिनिधि सहभागी रहेको सो सम्मेलनले विश्वका महत्वपूर्ण सिमसारको संरक्षण तथा दिगो व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारित गरेको थियो, जसलाई रामसार सन्धि भनिन्छ ।

सन्धि भएको दिनको सम्झनास्वरुप सन् १९८५ फेब्रुअरी २ देखि विश्व सिमसार दिवस मनाउन थालिए पनि नेपालमा भने १९९१ देखि मनाउन थालिएको हो । हालसम्म एक सय ६९ देश पक्ष राष्ट्र भइसकेको महासन्धिमा नेपालले सन् १९८७ मा हस्ताक्षर गरेको थियो । यसपालि ‘प्रकोप न्यूनीकरणका लागि सिमसार’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

सामान्यतया सिमसार भनेको पानीले भिजेको क्षेत्र हो । नेपाल राष्ट्रिय सिमसार नीति,२०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । यसर्थ सिमसार रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । सिमसारका दुई मुख्य विशेषता पानी र जमिन सँगै हुनु हो ।

त्यसैले अन्य पारिस्थितिकीय प्रणालीभन्दा विशिष्ट बनेका सिमसार क्षेत्रहरु विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छन् । कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवर्द्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ ।

जलवायु, भौगोलिक स्वरुप, भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरुले गर्दा सिमसारहरुमा लाखौं रैथाने तथा घुमन्ते (आगन्तुक) चरा, माछा,उभयचर, स्तनधारी, कीराहरु र बोटविरुवाको विविधता पाइन्छ । सिमसारमा जल परिचालन र शुद्धिकरण निरन्तर चलिरहने भएकोले यसलाई ‘प्रकृतिको मिर्गौला’ पनि भनिन्छ । कृषि उत्पादनका साथै वातावरणीय सन्तुलनमा अहम् भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्र सम्पूर्ण मानव, प्राणी एवम् वनस्पति जगतको अस्तित्व जोगाउने आधार भएकोले यसलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रुपमा हेरिन्छ ।

नेपालका सिमसार क्षेत्रहरु मूलतः ताल र नदीकिनारहरु धार्मिक, सांस्कृतिक एवम् परम्परागत आस्थाका केन्द्रको रुपमा पनि प्रचलित छन् । इलामको माईपोखरी,जनकपुरका तालतलैया, मुक्तिनाथ, दामोदरकुण्ड, पाल्पाको सत्यवती, रसुवाको गोसाइँकुण्ड, कैलालीको घोडाघोडी, डोटीको खप्तड पोखरी र मनाङको तिलिचो आदि यसको ज्वलन्त उदाहरण हुन् । नेपालमा झण्डै ५४ सयको हाराहारीमा सिमसार क्षेत्र रहेको बताइन्छ, जसले कुल क्षेत्रफलको २.६ प्रतिशत भूभाग ओगटेका छन् ।

नेपालमा करिब पाँच हजार ताल, एक हजार तीन सय ८० जलाधार र पाँच हजार एक सय ८३ पोखरीहरु छन् । पोखरा र आसपासका नौ ताल, गोक्यो ताल समूह, गोसाइँकुण्ड ताल समूह, शे-फोक्सुन्डो ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल,जगदीशपुर जलाशय, घोडाघोडी ताल क्षेत्र र माईपोखरी गरी दस क्षेत्रहरु विश्व रामसार सूचीमा सूचीकृत भइसकेका छन् ।

सिमसारसाग हाम्रो दैनिक जीवन जोडिएको हुन्छ । हाम्रो प्रमुख खाद्यान्न बाली धान,दलहन र प्रोटिनको उत्तम स्रोत माछा सिमसार क्षेत्रकै उत्पादन हुन् । नेपालको ११ प्रतिशत जनसंख्या पूर्णत सिमसार क्षेत्रमा निर्भर छन् । बोटे, दनुवार, माझी जस्ता २१ आदिवासी जनजाति समुदायहरु जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा नै आश्रित छन् ।

विश्वका लोपोन्मुख प्रजातिहरु एकसिंगे गैंडा, घडियाल गोही, अर्ना, ओत नेपालका सिमसारहरुमा आश्रित र संरक्षित छन् । कर्‍याङकुरुङ, चखेवा, खोया हाँस, आइविस चरा जस्ता सयौं घुमन्ते पंक्षीहरु पनि हिउाद याममा उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरुबाट अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपालका सिमसार क्षेत्रहरुमा बसाइँ सरी आउने गर्छन् ।

सिमसार आश्रति यस्ता दुर्लभ प्रजाति अवलोकनका लागि मात्र पनि नेपालमा बर्सेनि हजारौं पर्यटक आउने गर्छन्, जसले पर्यापर्यटनमा टेवा पुर्‍याउनुका साथै स्थानीयको जीविकोपार्जनमा समेत मद्दत गरिरहेको छ । पछिल्लो समय सिमसारको भूमिकालाई जलवायु परिवर्तनमा प्रभाव न्यून गर्ने आधारका रुपमा हेर्न थालिएको छ । हरित गृह ग्यासको सोचन, तापक्रम नियमन, वर्षा लगायत जलवायु प्रक्रिया परिचालनमा सिमसारको महत्वपूर्ण भूमिका हुन्छ ।

सिमसार क्षेत्रहरुमा सबैभन्दा बढी जल सोचन हुने भएकोले बाढी लगायतका प्रकोप न्यूनीकरणमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् । यसैले भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आज प्राथमिकताको विषय बनेको छ । तर, नेपालका सिमसार क्षेत्रहरु दिनानुदिन नासिँदै गएको विडम्बनापूर्ण अवस्था छ ।

बढ्दो वन फँडानी, प्राकृतिक स्रोतको अतिक्रमण र अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा कीटनाशक विषादीको प्रयोग र जलक्षेत्रको अव्यवस्थित तथा अत्यधिक उपयोगका कारण सिमसार क्षेत्र नासिँदै गएका हुन् । सिमसार क्षेत्रहरु प्रायशः अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछापोखरीमा सीमित छन् । पछिल्ला वर्षहरुमा सिमसार क्षेत्र नासिँदै जाँदा त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर हाम्रो कृषि उत्पादन र जीविकोपार्जनमा परिरहेको छ ।

अर्कातिर, सिमसारहरु प्रदुषणको चपेटामा परेका छन् । वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादी बगेर सिमसारमा मिसिने तथा ढल, पलाष्टिक र शीशाजन्य नसड्ने पदार्थको विसर्जनले सिमसार प्रदुषित भएको हो । बाह्य तथा मिचाहा प्रजातिहरु जलकुम्भी, कुम्भीका, बेसरम, करौते, लहरे वनमारा आदि वनस्पतिको संक्रमणले सिमसारहरु गम्भीर संकटमा परेका छन् । बाह्य प्रजातिका माछा स्थानीय सिमसारमा छाडिँदा पनि रैथाने प्रजातिका माछा विस्थापित भएका छन् । भू-क्षय र वरपरबाट बगेर आउने भेलसागै ढुंगा, बालुवा, पांगो माटो थुप्रिनुका साथै बाढी, पहिरो र हिमतालहरु फुट्ने खतराले पनि सिमसारहरु जोखिममा छन् ।

सिमसारको नासिँदो अवस्थाले भविष्यको दिगो जीवनयापनमा चुनौती दिइरहेको छ । सिमसार क्षेत्र आफैंमा बहुआयामिक र सर्वपक्षीय सरोकारको क्षेत्र भएकोले यसको दिगो संरक्षण र समुचित व्यवस्थापन गर्नु अत्यावश्यक छ । यसको लागि राष्ट्रिय नीति तथा योजनाहरुमा सिमसारको महत्व स्थापित गर्दै स्थानीय तहसम्म एकीकृत रुपमा आर्थिक,प्राविधिक एवं संस्थागत क्षमता बढाउनु जरुरी देखिन्छ ।

मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात् गर्दै यसको संरक्षण र संवर्द्धनमा यथोचित ध्यान दिनुपर्छ ।

सिमसार संरक्षण र यसको दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय,संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी पूर्णरुपमा सिमसारमा आश्रित समुदायलाई वैकल्पिक आयआर्जनतर्फ पनि उन्मुख गराउनुपर्छ । तब मात्र यस प्रकारका दिवस मनाउनुको सार्थकता रहन्छ ।

(भुसाल नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment