Comments Add Comment

स्ववियु निर्वाचनः नेविसंघमा निराशा, अखिलमा अन्तर्घात, क्रान्तिकारीमा विभाजन

विद्यार्थीको चुनावमा यसरी हुँदैछ ठूला दलको मत सर्वेक्षण

२३ माघ, काठमाडौं । कुनै समय मिनी संसदीय चुनावकै रुपमा लिइने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ८ वर्षको अन्तरालमा हुन लाग्दा पनि विद्यार्थी संगठनका नेताहरुमा विगतमा जस्तो उत्साह देखिँदैन । यसको मुख्य कारण हो- उम्मेदवारको उमेर हद र मिश्रित निर्वाचन प्रणाली ।

विगतको निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले समर्थित अनेरास्ववियु पहिलो, कांग्रेस समर्थित नेविसंघ दोस्रो र माओवादी समर्थित अखित क्रान्तिकारी तेस्रो स्थानमा थिए । ८ वर्ष पहिलेको यो शक्ति सन्तुलन यसपटक फेरबदल हुने स्थिति छ ।

अघिल्लो स्ववियु निर्वाचनको आँकडा हेर्ने हो भने लगभग देशभरका सबै आंगिक क्याम्पसमा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनहरुले जितेका छन् । ६० वटा आंगिक क्याम्पसमध्ये एमाले सम्बद्ध अनेरास्ववियुले २६ वटामा आफ्नो वर्चश्व कायम गरेको थियो ।

त्यस्तै कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले १८ र माओवादी निकट अखिल क्रान्तिकारीले १५ क्याम्पस जितेको थियो ।

भक्तपुर बहुमखी क्याम्पसमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनले एमाले अखिलसँग मिलेर सभापति जितेको आंकडा त्रिभुवन विश्वविद्यालयसँग छ ।

त्यसो त पूर्वमा लिम्बुवान विद्यार्थीको अवरोधका कारण कतिपय क्याम्पसमा चुनाव हुन सकेको थिएन । ती क्याम्पसमा ०६२ को चुनावी तथ्यांकलाई नै हामीले आधिकारिक मानेका छौं ।

अखिल क्रान्तिकारी एकबाट चार

विसं. ०६५ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी युद्धबाट आएको डरलाग्दो शक्ति थियो । यसबीचमा माओवादी पार्टी फुटेर कम्तिमा चार पार्टीमा विभाजित भएको अवस्था छ ।

मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दले यसबीचमा अलग अलग विद्यार्थी संगठन बनाइसकेका छन् । मधेसका क्याम्पसमा यसबीचमा मधेसवादी दलका विद्यार्थी संगठनहरुको प्रभाव बढेको छ ।

यसपटकको स्ववियु निर्वाचनमा स्वभाविक रुपमा अखिल क्रान्तिकारीलाई चुनौति थपिएको छ । पार्टी विभाजन, प्रमाणपत्र तह फेजआउट र समग्रमा माओवादीको जनाधार कमजोर हुँदै जानुको असर स्ववियु चुनावमा पनि पर्न सक्छ ।

यद्यपि क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेत भने चुनौतीका बाबजुद पूर्ववत् शक्ति कायम राख्न प्रयास हुने बताउँछन् । उनले कतिपय क्याम्पसहरुमा त्यहाँको अवस्था अनुसार अन्य संगठनसँग तालमेल हुने बताए ।

क्रान्तिकारीले यसपटक त्रिवि किर्तिपुर, सानोठिमी र थापाथली क्याम्पसको बर्चश्व जोगाउने र अमृत साइन्स थप्नेमा ध्यान केन्दि्रत गरेको छ । त्यस्तै त्रिचन्द्र, शंकरदेव र पद्मकन्या क्याम्पसमा एमाले अखिलसँग मिलेर भए पनि नेविसंघलाई पराजित गर्ने रणनीतिमा क्रान्तिकारी छ ।

नेविसंघमा निराशा

यसपटकको स्ववियु चुनाव नेविसंघका लागि सुखद छैन । जनमत घटेर भन्दा पनि निर्वाचन प्रणालीका कारण नेविसंघलाई धक्का लाग्ने सम्भावना छ । नेविसंघका अधिकांश स्ववियु सभापतिका आकांक्षीहरु ३५/४० वर्ष उमेर समूहका छन् । तर २८ वर्षे उमेर हदले उनीहरुलाई धक्का दिएको छ ।

यसबीचमा चुनावै रोक्ने गरी बिरोध गरे पनि मातृ पार्टीले नेविसंघलाई उमेर हद मानेर चुनावमा जान निर्देशन दिएको छ । उम्मेदवारीको तयारी गरेका र वर्षौंसम्म आर्थिक तथा राजनीतिक लगानी गरेका नेताहरु उम्मेदवारीबाट बञ्चित हुने भएपछि त्यसको प्रत्यक्ष असर चुनावी परिणाममा देखिने नेविसंघ नेताहरु बताउँछन् ।

नेविसंघको चुनाव जित्ने आधार संगठन र विचार भन्दा पनि मास लिडरसिप गर्ने नेताहरु हुन् । उनीहरु नै चुनाव लड्न नपाउने र चुनाव पनि मिश्रित प्रणालीबाट हुने भएपछि नेविसंघका नेता कार्यकर्तामा निराशा छ । कतिपयले चुनावमै भाग नलिने चेतावनी दिइरहेका छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महर भने स्ववियु चुनाव धेरै लामो संघर्षपछि हुन लागेकाले अब उमेर हद मानेर चुनाव जित्ने गरी लाग्नुको विकल्प नरहेको बताउछन् । उनले बिगतमा जितेका क्याम्पस यथावत राख्दै थप क्याम्पस जित्न नेविसंघको पहल हुने बताए ।

एमाले अखिललाई अन्तर्घातको डर

विगतको स्ववियु चुनावमा प्रायःपहिलो संगठन बन्दै आएको एमाले सम्बद्ध अनेरास्ववियुका लागि उमेर हदले केही समस्या सिर्जना गरेको छ । स्ववियु सभापति बन्ने आकांक्षी चर्चित अनुहारहरु पाखा लाग्ने भएपछि त्यसको असर निर्वाचन परिणाममा पर्न सक्ने सचिव सुदेश पराजुली बताउँछन् । तर एकाध ठाउँमा बाहेक त्यस्तो समस्या नरहेको उनले बताए ।

क्रान्तिकारीको विभाजन र नेविसंघको निराशालाई फाइदाका रुपमा लिएर थप शक्ति आर्जन गर्ने लक्ष्य अखिलले लिएको छ । अखिल अध्यक्ष नविना लामाले विगतमा जस्तै यो चुनावमा पनि अखिल नै पहिलो शक्ति हुने र जित्ने क्याम्पसहरुको संख्या थपिने दावी गरिन् ।

 

 

लामाले भनिन्- युवा विद्यार्थीहरु स्वभाविक रुपमा देशभक्त र स्वाभिमानी हुन्छन् । हामीले लिएको देशभक्तिपूर्ण अडान र लम्पसारवादको बिरोधमा विद्यार्थीको मत अनेरास्ववियुले पाउनेछ । हाम्रो प्रतिस्पर्धामा अरु संगठन निकै पछाडि छन् ।

अखिललाई सबैभन्दा डर विपक्षीसँग भन्दा पनि आफैंभित्र देखिएको छ । एमाले अखिलमा चरम गुटबन्दी छ । संस्थापन पक्षमै समेत अध्यक्ष नविना लामा र महासचिव ऐन महरका अलग गुट छन् । त्यस्तै सुदेश पराजुली, आरती लामाहरुले माधव नेपाल गुट चलाएकै छन् । एक अखिल नेताले भने-हामीलाई आफ्नैबाट अन्तर्घातको डर छ ।

ठूला क्याम्पसमा आँखा

आंगिक क्याम्पस ६० वटा भए पनि विद्यार्थी संख्या, राजनीतिक प्रभाव जस्ता कारणले केही क्याम्पसलाई विद्यार्थी संगठनहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । सानातिना क्याम्पस जति जिते पनि केही ठूला र राजनीतिक नेता उत्पादन गर्ने कलेजमा सबै ध्यान केन्द्रित छ ।

फागुन १४ गते हुने स्ववियु चुनावका लागि अब कुनै व्यवधान नरहेको शिक्षाध्यक्ष डा.सुधा त्रिपाठीले बताइन् । उनका अनुसार अब चुनाव गराउन कुनै समस्या छैन

केन्द्रीय क्याम्पस किर्तिपुर, आर आर, त्रिचन्द्र, नेपाल कमर्स, पाटन संयुक्त, पुल्चोक इन्जिनियरिङ, सानोठिमी, पृथ्वीनारायण पोखरा, महेन्द्र मोरङ बिराटनगर, बुटवल बहुमुखी जस्ता क्याम्पसमा प्रायः ठूला विद्यार्थी संगठनका आँखा लागेका छन् ।

त्यसो त अस्कल, महेन्द्ररत्न ताहाचल, नेपाल ल, महेन्द्र बहुमुखी इलाम, मेची बहुमुखी झापा, महेन्द्र बहुमुखी नेपालगन्ज,वीरेन्द्र बहुमुखी भरतपुर जस्ता क्याम्पस पनि धेरै विद्यार्थी अध्ययन गर्नेमा पर्छन् ।

फरक निर्वाचन प्रणाली

विगतमा स्ववियु सभापति बन्नकै लागि वर्षौंसम्म क्याम्पसमा अड्डा जमाएर बस्ने र जित्नका लागि पैसा खर्च गर्ने विद्यार्थी नेताहरुमाथि उमेर हद लागेपछि क्याम्पसहरुमा पनि चुनावको चहल-पहल तातिसकेको छैन । अझ मिश्रित निर्वाचन प्रणालीका कारण उपसभापति, सहसचिव र केही सदस्य संगठनले प्राप्त गर्ने मतका आधारमा चयन हुने भएकाले पनि यस्तो भएको छ ।

कुनैबेला नेता उत्पादन गर्ने कारखाना मानिने स्ववियु  चुनावमा जितेर राजनीतिमा लागेकाहरु अहिले राष्ट्रिय राजनीतिका शीर्षतहमा छन् । यसपटक सबै क्याम्पसमा २८ वर्षमुनिका विद्यार्थीहरुले चुनाव जित्नेछन् । त्यसैले वर्षौंदेखि क्याम्पस कब्जा गरेर बसेका बुढा नेताहरुको रुवाबासी चलेको छ ।

शिक्षाध्यक्ष भन्छिन्-अब चुनाव हुन्छ

फागुन १४ गते हुने स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयलाई अब कुनै व्यवधान नरहेको शिक्षाध्यक्ष डा.सुधा त्रिपाठीले बताइन् । उनका अनुसार उमेरका कारण नेविसंघका केही विद्यार्थीको असन्तुष्टि पनि उनीहरुकै पार्टी नेतृत्वले हल गरिसकेकाले अब चुनाव गराउन कुनै समस्या छैन ।

यसपटक विगतमा जस्तो चुनावका मुखमा फर्जी विद्यार्थी भर्ना गरेर जसरी पनि चुनाव जित्ने प्रवृति लगभग अन्त भएको छ । त्रिविले सेमेस्टर र प्रवेश परीक्षा पास गरेका बाहेक अन्य नयाँ विद्यार्थीको भर्ना रोकेको छ । त्रिविका आंगिक क्याम्पसहरुमा चुनावपछि मात्र स्नातकोत्तरको भर्ना खुलाइने त्रिपाठीले बताइन् ।

६० आंगिक क्याम्पसमा १ लाख मतदाता

त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसमा चुनाव हुँदैछ । यीबाहेक कतिपय सम्बन्धन प्राप्त क्याम्पसहरुमा पनि स्ववियु चुनाव हुनेछ । सम्बन्धन लिएका क्याम्पसहरुको हकमा भने चुनाव उतैबाट निर्धारण हुने भएकाले आफूहरुलाई थाहा नहुने त्रिपाठीले जानकारी दिइन् ।

विगतका चुनावमा प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीहरु पनि मतदाता हुन्थे । तर, विश्वविद्यालयले यसबीचमा सबै संकायबाट प्रमाणपत्र तह फेजआउट गरिसकेको छ । स्ववियु निर्वाचनको ३८ वर्षको इतिहासमा यस्तो अभ्यास पहिलो पटक हुँदैछ

६० वटा आंगिक क्याम्पसमध्ये जुम्लामा मौसमका कारण क्याम्पस बन्द हुने भएकाले त्यहाँ पछि चुनाव हुनेछ । बाँकी ५९ वटा क्याम्पसमा करिव एक लाख विद्यार्थीले मतदान गर्ने अनुमान विश्वविद्यालयको छ । सम्बन्ध प्राप्त अन्य कलेजका करीव २ लाख विद्यार्थीले स्ववियु चुनावमा भाग लिने अनुमान छ ।

मिनी आम निर्वाचन

यो चुनावले राजनीतिक दलहरुको मत सर्वेक्षणमा सघाउनेछ । युवा मतदाताहरुको मनोविज्ञान नाप्ने स्ववियु चुनाव यसपटक विगतको भन्दा कम धाँधलीपूर्ण हुने विद्यार्थी नेताहरु स्वीकार गर्छन् । यसपटक ठूला संगठनका शीर्ष तहमै फर्जी भर्ना नगर्ने सहमति भएको स्रोतको दावी छ ।

एक विद्यार्थी नेताले भने-रगत र पैसाको खोलो बगाएर जित्दैमा केही हुने होइन । को कति पानीमा छौं हेरौं यसपटक भन्ने कुरा भएको छ । उम्मेदवार बन्ने आकांक्षीहरुलाई उमेर हदले रोकेका कारण पनि यसपटक धेरै मारकाट नहोला ।

मुलुक लगातार तीन तहका निर्वाचनको तयारीमा रहेका बेला हुन लागेको स्ववियु निर्वाचनले जनमतको सामान्य प्रक्षेपण गर्नेछ । यद्यपी डेढ करोड भन्दा बढि मतदाता सहभागी हुने चुनावको सर्वेक्षण दुई तीन लाख विद्यार्थीको अभिमतबाट प्रकट नहुन सक्छ ।

प्रमाणपत्र तह फेजआउटको असर

यसपटकको स्ववियु निर्वाचनको अर्को विशेषता के हो भने, यसपालिको निर्वाचनमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुमात्र सहभागी हुनेछन् । यो भनेको स्थानीय र आम निर्वाचनमा मतदान गर्न योग्य युवा अभिमत हुनेछ ।

विगतका चुनावमा प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीहरु पनि मतदाता हुन्थे । तर, विश्वविद्यालयले यसबीचमा सबै संकायबाट प्रमाणपत्र तह फेजआउट गरिसकेको छ । स्ववियु निर्वाचनको ३८ वर्षको इतिहासमा यस्तो अभ्यास पहिलो पटक हुँदैछ ।

यो पनि पढ्नुहोस् 

अखिल क्रान्तिकारीले तोक्यो स्ववियु चुनावका कमाण्डर

उमेर हद स्वीकार्दै स्ववियु चुनावमा होमिन नेविसंघलाई कांग्रेसको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment