Comments Add Comment

तरलताको असरः टाइगर प्यालेस रिसोर्ट सञ्चालन मिति ३ महिना पर सर्‍यो

२४ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलताको असर पर्यटन क्षेत्रमा पर्न थालेको छ । बैंकहरुले मागेकै समयमा पैसा दिन नसक्दा निर्माणधीन ठूला होटलहरुको काम प्रभावित भएको छ । र, यसले उनीहरुको निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य नै प्रभावित हुन थालेको छ ।

रुपन्देहीको कोटिहवामा निर्माणधीन टाइगर प्यालेस रिसोर्टले पनि आफ्नो सञ्चालन लक्ष्य परिर्वतन गरेको छ । मार्चदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको भएपनि अब सम्भव नभएको भन्दै जुनको नयाँ भाका राखिएको छ ।

सिल्भर हेरिटेज ग्रुपले अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जलाई बुझाएको रिपोर्टमा बैंकिङ प्रणालीमा देखिएको तरलता र सेयर पुँजी सीमा बृद्धि स्वीकृतिमा भएको ढिलाईका कारण तोकिएको समयमा सञ्चालन नहुने उल्लेख छ ।

टाइगर वान कम्पनी हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको सहायक कम्पनी हो, जसले नेपालमा टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको छ । टाइगर वानको मातृ कम्पनी सिल्भर हेरिटेज ग्रुप गत अगस्ट २९ मा अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सूचिचकृत भएको थियो ।

नेपालमा भने सिल्भर हेरिटेज ग्रुप सन् २०१२ मा भित्रिएको हो र काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको छ ।

सिल्भर हेरिटेज ग्रुपका नेपाल प्रतिनिधि राजेन्द्र बजगाईले अनलाइनखबरसँग भने, ‘ टाइगर प्यालेस रिसोर्ट मार्चमै सञ्चालनमा ल्याउने लक्ष्य थियो तर, सेयर पुँजी स्वीकृति तथा बैकिङ क्षेत्रमा आएको तरलताका कारण अब सञ्चालनमा आउने दिन ३ महिना पर सरेको छ ।’

तरलताका कारण बैंकहरुले मागेकै समयमा पैसा दिन नसकेको बजगाई बताउँछन् । यसमा नेपालका नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकको लगानी छ ।

अहिले कम्पनीको सेयर पुँजी सीमा बृद्धि भएको छ । यसको सेयर पूँँजी सिमा २ अर्बबाट बढाएर ५ अर्ब पुगेको छ । राजेन्द्र बजगाईले भने ‘१५ महिनासम्म औद्यागिक प्रबर्धन बोर्डको बैठक बस्न सक्दैन, राष्ट्र बैंक बाहिरबाट रकम ल्याउन सजिलै स्वीकृति दिँदैन बैेदेशिक लगानी भित्राउने मात्रै भनिएको छ, भित्राउन धेरै गाह्रो रहेछ ।’

४ अर्ब लगानीमा खुल्न लागेको यो रिसोर्टर् १०.८ हेक्टरमा फैलिएको छ । यसले १८ सयलाइर्ं रोजगारी दिने अपेक्षा गरिएको छ । सञ्चालक कम्पनी टाइगर वानले ९५ प्रतिशत कर्मचारी भने नेपाली नै राख्ने योजना बनाएको छ ।

यसको क्यासिनोमा ५२ टेबल २ सय इलेक्ट्रोनिक गेमिङ मेसिन रहनछ भने रिसोर्टमा १ सय कोठा, पुल, स्पा, जिम, कन्फेरेन्स हल, मिटिङ रुम, रेष्टुरेन्ट पसल रहनेछ ।

रिसोर्टमा चार सय कोठा बनाउने योजना छ । तर, पहिलो चरणमा सय कोठाहरु तयार गरिएको छ । आगामी दुई वर्षभित्र तीन सय कोठा थपिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment