Comments Add Comment

नेपाल एयरलाइन्सको नयाँ एयरबसः ‘एउटा किन्दा अर्को सित्तैमा !’

२४ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एयर बस खरिदका लागि एएआर कर्पोरेशनसँग आगामी मार्चमा खरिद सम्झौता गर्दैछ ।

ए ३३०-२०० सिरिजको दुई वटा एयरबस उपलब्ध गराउन अमेरिकी कम्पनी एएआर कर्पोरेशन सहमत भइसकेको छ । वाइड बडीको एयर बस खरिदका लागि नेपाल एयरलाइन्सले २२५ मिलियन अमेरिकी डलर लाग्नु अनुमान गरेको थियो ।

तर, दुबै विमान १ सय ४ मिलियन अमेरिकी डलरमै पाइने भएको छ । अर्थात नेपाल एयरलाइन्सका लागि एउटा किन्दा अर्को सित्तैमा भने जस्तै भएको छ ।

एएआर कर्पोरेशनले अनुमानको आधा भन्दा कमै जहाजहरु उपलब्ध गराउने प्रस्ताव गर्दा यस्तो हुन आएको हो । ‘हामीले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा निकै सस्तोमा जहाज पायौं’ नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले भने, ‘जहाज नयाँ भएकाले हामीलाई थप फाइदा छ ।’

पोर्चुगिज एभिएसन कम्पनी हाइˆलाईले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइˆलाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको छ ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । यो जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियकाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।

नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । महाप्रवन्धक कंशाकारले कम्पनी बजेट एयरलाइन्स होइन भन्ने सन्देश यसैले दिने बताउँछन् ।

‘सस्तोमा जहाज पाएकै आधारमा सार्वजनिक खरिद नियमावली मिचिएको आशंका कतिपयले जनाएका छन् । तर, म दावी गर्छु कि यो जहाज खरिद प्रक्रियामा कुनै नियम कानुन मिचेर निर्णय भएकै छैन’ कशांकारले भने, ‘कहिलेकाँही हवाइजहाज बजारमा यस्तो अनपेक्षित मूल्यमा खरिदबिक्री हुन्छ । त्यो हामीले पनि महशुस गर्न पायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment