Comments Add Comment

चितवनमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बन्ने (भिडियोसहित)

२५ माघ, चितवन । चितवनको भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयको मैदानमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ ।

करीव ३० करोडको लागतमा अत्याधुनिक औद्योगिक प्रदर्शनी मैदान निर्माणको काम अघि बढाउन लागिएको हो । नेपाल सरकारबाट निर्माणका लागि १५ करोड रकम अनुदान माग गरिएको छ भने, बाँकी १५ करोड रकम चितवनका व्यापारीहरुबाट उठाइने लक्ष्य राखिएको छ ।

हालसम्म ४ करोड रकम व्यवसायीहरुबाट उठाइएको चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । सरकार र निजी क्षेत्रबाट उठाइने रकम दुबै अनुदानमा रुपमा लिइने छ ।

२ बर्ष भित्र निर्माण पुरा गरिसक्ने लक्ष्य राखिएको प्रदर्शनी केन्द्रको यही माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम राखिएको छ। चितवन जिल्लालाई बिषेश प्याकेज दिने बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले सो दिन केन्द्र निर्माणका लागि रकम दिने आश्वासन सो अवसरमा गर्ने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करिव २ विघा ७ कठ्ठामा औद्योगिक प्रदर्शनीकेन्द्र निर्माणका लागि भन्दै २९ वर्षका लागि भाडामा लिइएको छ ।

जिल्ला विकास समिति चितवनको भवनबाट दक्षिणतर्फ, घरेलु तथा साना उद्योग कार्यालयको पश्चिम तर्फ रहेको खाली जग्गा भाडामा लिनका लागि पाँच वर्षसम्म अनवरत मेहनत गर्नु परेको संघका महासचिव सूर्य न्यौपानेले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा प्रदर्शनीकेन्द्र बनाउने उल्लेख भएको थियो । प्रारम्भिक अध्ययनका लागि २० लाख रुपैयाँ छुट्याइएको थियो । यो रकम लिने प्रक्रिया अघि बढेको निर्माण समितिका संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

प्रदर्शनीकेन्द्रको नक्सा तथा डिजाइन भरतपुर उपमहानगरपालिकाबाट स्वीकृतका लागि अन्तिम चरणमा पुगेको छ ।

आर्थिक राजधानीका रुपमा विकास हुँदै गरेको चितवनमा प्रदर्शनी केन्द्र बनाउँदा मौसम अनुकल खोज्दै प्रदर्शनी गर्नुपर्ने बाध्यता अब हट्ने व्यवसायी इन्जिनियर भोजराज कौडालले विश्वास व्यक्त गरे । ‘चितवन महोत्सव लगायतका ठूला मेला र महोत्सवहरु अब यही केन्द्रमा गर्न सजिलो हुनेछ,’ कौडालले भने ।

यस्तो बन्ने छ प्रदर्शनी केन्द्र

प्रदर्शनी केन्द्र ५१ हजार वर्गफिटको हुनेछ । सँगै ठूला उपकरण प्रदर्शनी गर्नका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने छ । प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र पनि हुनेछ ।

उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने छन् ।

प्रदर्शनी केन्द्रको मुख्य भागमा करिब ३ सय स्टल राखिने छ । ३ वटा व्लक निर्माण गरिने छ । एक व्लकमा करिव एक सय वटा हल सञ्चालन हुनेछन् ।

३५ फिट उचाईका संरचनाहरु बाहिरी तापक्रम भन्दा १० डिग्री सेल्सियस कम तापक्रम हुने गरी तयार हुनेछन् । प्रदर्शनीकेन्द्रमा करिव ५८ प्रतिशत क्षेत्रफल खुल्ला रहनेछ । एउटा एक्सपो हलमा ८ वटा साना-ठूला ढोकाहरु राखिनेछन् । प्रदर्शनीकेन्द्र स्थलसम्म पुग्न दुई लेनको कालोपत्रे बाटोसमेत बनाइने छ । २ सय वटा मोटरसाइकल, १ सय ५० वटा साना सवारी पार्किङ गर्न मिल्ने छुट्टै पार्किङ स्थल समेत बनाइने छ ।

औद्योगिक शिक्षा लिने केन्द्र

एकै स्थानबाट धेरै औद्योगिक शिक्षा हासिल गर्ने केन्द्रका रुपमा प्रदर्शनी केन्द्र रहने छ । यससँगै स्थानीय स्रोत, कच्चापदार्थ, सीप, साधनको परिचालन गर्दै औद्योगिक विकासमा सहयोग पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले साना तथा मझौला उद्यमीहरुलाई प्रविधि तथा सीप आदानप्रदान गर्न प्रदर्शनीकेन्द्र बढी फलदायी हुने बताए ।

कृषि, गैरकाष्ठका बस्तु, पशुपालन, दूग्ध उद्योग, पंक्षीपालन, जडीबुटीमा आधारित उद्योगलाई नयाँ प्रविधि, बजार, सीप एवम् अनुसन्धानमा सहयोग पुग्ने दावी उनको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक उत्पादनको प्रचार प्रसार गर्ने माध्यम समेत बन्दा चितवनका अन्य व्यवसायहरु होटल तथा पर्यटन व्यवसाय प्रवर्द्धनका लागि पनि टेवा पुग्ने व्यवसायीको विश्वास छ ।

चितवन पोल्ट्रीको राजधानी समेत हो । व्यवसायिक केराखेती, पशुपालन, माछापालन, तरकारी खेती, तोरी खेती जस्ता प्रमुख उत्पादनहरुको ठूलो योगदान देशको राष्ट्रिय उत्पादनमा रहदै आएको छ ।

प्रदर्शनी केन्द्र भिडियोमा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment