Comments Add Comment

मधेसी मोर्चाका नेतामा सिके राउत फोबिया !

'मास हिस्टेरिया' भएका नेताले कसरी बनाउनलान् नयाँ मधेस ?

मधेसी मोर्चाका नेताहरु दुईवटा चिजदेखि असाध्यै डराउँछन् । एउटा, सिके राउत । र, दोस्रो- मधेसका मतदाता । आफ्ना मतदाता अथवा जनतासँग दलका नेताहरुले डराउनु त स्वाभाविकै हो, तर सिके राउतको नामसँग लल्याकलुलुक हुनुचाँहि मोर्चाका नेताहरुको दिमागी पक्षघात नै हो ।

सिके राउतमाथि एकतर्फी प्रेम

यसै साता पक्राउ परेका डा. सिके राउत मधेसी मोर्चाका लागि सहायक पक्ष नभएर समस्या हुन् । मधेसमा सिके राउतको विचार हावी हुँदै जाँदा मोर्चाका नेताहरुको पसल सुक्दै जानेवाला छ ।

देशै विखण्डनको नारा उराल्दै अघि बढेका सिके राउतले मधेसमा यी मधेसी दलका नेताहरुलाई सत्तालोलुप एवं दलाल भनेर अनेकन निन्दा गर्दै आएका छन् । काठमाडौंमा मोर्चाका नेताहरुलाई कसरी केपी ओलीले गाली गर्छन्, मधेसमा सिके राउतले मोर्चाका नेतालाई त्यसैगरी निन्दा र भण्डाफोर गर्दै आएका छन् ।

तर, मोर्चाका निरीह नेताहरु सिके राउतको नाम सुन्दैमा थुरथुर हुने गरका छन् । उनीहरुले सार्वजनिक कार्यक्रममा कहिल्यै राउतको आलोचना गर्न सक्दैनन् । भित्रिी बैठकहरुमा चाँहि सिके राउतको नाम लिँदै बार्गेनिङ गर्छन् र भन्छन् कि मधेसमा हामी कमजोर भयौं भने सिके राउत बलियो हुन्छन् । हामी देश खिण्डनको पक्षमा छैनौं, सिके राउतको लाइन ठीक छन्, हामी मध्यमार्गीहरु नै ठीक छौं ।

मधेसी मोर्चाका नेताहरुको यो विश्लेषण ठीकै पनि हो । मधेसी मोर्चाका नेताहरु नै मधेसको मध्यमार्गी धार हो । तर, उनीहरु सिके राउतसँग किन नतमस्तक छन् ? उनीहरुले किन सिके राउतको विखण्डवादीस् विचारको खुलेर आलोचना गरिरहेका छैनन् ? यसको रहस्य पत्ता लाग्न सकेको छैन । तर, यो चाहिँ प्रष्ट देखिएको छ कि मोर्चाका नेताहरुको मौनताको फाइदा उठाएर सिके राउतले मधेसमा संसदवादी मधेसी दलहरुलाई खोक्रो बनाउन लागेका छन् ।

तर, मोर्चाका नेताहरुले अहिलेसम्म सिके राउतलाई एकतर्फी प्रेम गर्न छाडेका छैनन् । हालैमात्र राउतको गिरफ्तारीको विरोधमा महन्थ ठाकुरले बोलिसके । मोर्चाका अरु नेताहरुले मौन बसेर राउतको समर्थन गरिरहेका छनु ।

राजनीतिमा लप्पन-छप्पनको काम हुँदैन । केपी ओली जसरी विपक्षी र आफ्नो कित्ता स्पष्टसँग व्यक्त गर्छन्, धेरैलाई अरुचीकर लागे पनि ओलीको यो अडान राजनीतिभित्रको एउटा सौन्दर्य पनि हो । तर, मधेसी मोर्चाका नेताहरु यति लाचार छन् कि सिके राउतलाई गलत छन् भन्ने मनमा लागेर पनि बाहिर बोल्न डराउँछन् ।

यस्तो व्यापारी शैलीको बनियाँ राजनीतिले मोर्चालाई नै सिध्याउँछ, सिध्याइरहेको छ । हिजो मधेसी मोर्चामा लागेर आन्दोलनमा होमिएका युवाहरु सिके राउततिर लागेको देख्दा देख्दै पनि मधेसी मोर्चाका नेताहरुले सिके राउतको लाइनको प्रतिरोध गर्न सकेका छैनन् ।

बरु उनीहरु राउतलाई किन पक्डेको भन्दै उल्टै विखण्डनवादमाथि नै धूप धुँवार गरेर बसेका छन् । मोर्चाका नेताहरुको यस्तो निरीह एवं कायर राजनीतिले उनीहरुलाई मधेसमा, मधेसी समुदायमै निरीह बनाउँदै लगेको छ ।

मधेसमा सिके राउतले मोर्चाका नेताविरुद्ध गरेको विष बमनले आगामी चुनामा मोर्चालाई घाटा लगाउने छ । र, त्यसको फाइदा अन्य दलहरुले उठाउने सम्भावना रहन्छ । मधेसमा मोर्चाका नेताहरु सिके राउतको लाइनको विरोध जति प्रभावकारी रुपमा उत्रिन्छन्, मोर्चाको धार मधेसमा त्यति नै बलिायो हुन्छ ।

भीडसँग डराउने ‘मास हिस्टेरिया’

नेता भनेको त्यो हो, जो भीडका पछि लाग्दैन, बरु भीडलाई आफ्नो पछाडि लगाउँछ । तर, मधेसी मोर्चाका नेताहरु भीडसँग असाध्यै डराउँछन् । मधेसमा पहाड विरोधी सेन्टिमेन्ट देखे भने त्यसलाई रोक्ने हैन, बोक्ने बाटोतिर लाग्छन् । अहिले सिके राउतले देश विखण्डनको नारा लगाइरहेका बेला मोर्चाका नेताहरुले देश टुक्रिन दिनु हुँदैन भनेर बोल्नुको साटो देश टुक्रिन सक्छ भन्दै भीडको खपतका लागि बोल्ने गरेका छन् ।

मधेसमा जातीय एवं सामाजिक विभेद छ । छुवाछुत छ । तर, मोर्चाका नेताहरु त्यसको विरोधमा बोल्दैनन्, बरु भीड नरिसाउओस् भन्ने हेतुले पहाडमा पनि विभेद छ भन्नेतिर लाग्छन् । मधेसको सामाजिक आर्थिक विभेदका विषयमा बोल्नै चाहँदैनन् । मोर्चाका नेताहरुको एजेण्डामा मधेसको सामाजिक सुधार अभियान अहिलेसम्म पर्न सकेको छैन । मोर्चाका नेताहरुको यही कुरालाई पfmइदा उठाएर अहिले मधेसमा पसेर सामाजिक एजेण्डालाई समात्न थालिसकेको छ । तर, मोर्चाका नेताहरु चाँहि सिके राउतको विचारलाई समातेर बसिरहेका छन् ।

जुन राजनीतिक दलको एजेण्डा समाजमा स्थापित हुन्छ, त्यही शक्तिले समाजलाई नेतृत्व गर्छ । अब मधेसी मोर्चाका नेताहरुले यसैगरी सिके राउतको भजन गाएर चुपचाप बस्ने हो भने मधेसमा मोर्चाको अस्थित्व कसरी रहला ? यो मोर्चाका नेताहरुतिर फर्किएको गम्भीर राजनीतिक ‘क्राइसिस’ हो । मोर्चाको ध्यान यतातिर जाओस् ।

सिके राउतलाई प्रेम गरेर मधेसमा मोर्चाको भविश्य सम्भव छैन, राउतको गलत राजनीतिमाथि तीव्र भण्डाफोर जरुरी छ, अरुका लागि हैन, मधेसी जनताकै हितका लागि । र, कमसेकम मधेसका मध्यमार्गी दलहरुको अस्थित्व रक्षाका लागि पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment