Comments Add Comment

खालीपेटमा शिक्षाः विद्यालयमा खाजाका लागि बजेट छुट्याइयोस्

खाली पेटमा दिनभरि पढाएका कुरा दिमागमा घुस्दैनन्

सन्दर्भ झण्डै २० वर्ष अगाडिको हो । परिवेश पनि निकै पृथक भैसक्यो होला । कुनै ठाउँ विशेष परिस्थिति बदलिए पनि आमरुपमा औसत समस्या उस्तै होला भन्ठानी उतिबेलाको मेरो अनुभव समेट्ने जमर्को गरेको छु ।

त्यतिबेला (०५५ र ०५६ सालतिर) म भर्खर बीएस्सी अध्ययन पूरा गरी आफूले एसएलसीसम्म अध्ययन गरेको गाउँकै शमी भञ्ज्याङ मावि मैदी, धादिङमा विज्ञान र गणित शिक्षकको रुपमा पढाउँथें ।

उमेर, जोस, जाँगर र दक्षता सबै भएकाले होला, सायद म आफूले पढाएको विषयमा आफ्ना विध्यार्थीहरु सबै आफुजत्तिकै जान्ने होउन् भन्ने चाहन्थें । र सोही अनुसारको तयारी र मेहनेत आफु पनि गर्थें र विद्यार्थीहरुलाई पनि गराउँथें । पाठ्यवस्तुको तयारी नगर्ने, गृह कार्य नगर्ने र सोधेको प्रश्नको उत्तर दिन नसक्ने विध्यार्थीहरुले करवाही भोग्नैपथ्र्याे ।

यी सबै कसरतका बाबजुद जब म परीक्षाका उत्तरपुस्तिकाहरु परीक्षण गर्न थाल्थें, त्यतिबेला नैराश्यता मात्र हुन्थ्यो । किनकि अधिकांश विद्यार्थीहरु फेल हुन्थे ।

यो हविगत मैले पढाएका हरेक कक्षा र बिषयहरुमा हुने गथ्र्याे । मनमनै लाग्थ्यो, यस्तो अवस्था मैले मात्रै भोगिरहेको छु, हुन सक्छ म अपरिपक्व र असक्षम शिक्षक हुँ । मैले पढाएका बिषयहरुमा विद्यार्थीहरु फेल हुनुलाई मैले मेरो असफलता ठान्थें ।

कमजोरी र असफलताका कारणहरु पहिल्याउन पटक-पटक आफ्नै शिक्षण विधि र तौर-तरिकाहरुप्रति समीक्षा गर्थें र अग्रज गुरुहरुसँग पनि छलफल गर्थें । तर, चित्तबुझ्दो उपाय निस्कँदैनथ्यो ।

कतिपय रातहरु त उपायहरुको खोजीमा नै बित्ने गर्थे। ईच्छा गरीराखे उपाय निस्कन्छ भनेझैं एक दिन विद्यार्थीहरुको पृष्ठभूमि र पारिवारिक स्थिति बुझ्नु पो उचित होला कि भन्ने सोच मनमा पलायो । तदनुसार विद्यार्थी, उनका अभिभावक र आफूसमेत गरी तीनजनाको मिटिङ गर्ने निधो गरेँ ।

यही योजनाअनुसार खासगरी कमजोर विद्यार्थीहरुका अभिभावकहरुलाई उनीहरुको सुविधा अनुसार स्कुलमा उपस्थित गराएर त्रिपक्षीय मिटिङ गर्न थालें ।

मिटिङका एजेण्डाहरु सामान्य र विशेषतः विद्यार्थीहरुको दैनिकीमा केन्द्रित  हुन्थे । जस्तो कि, विध्यार्थी कति बजे उठ्छ, त्यसपछि के खान्छ र के गर्छ ? कति बजे घरबाट स्कुल हिँड्छ, स्कुल पुग्न कति समय लाग्छ, दिनभर स्कुलमा केही खान्छ वा खाँदैन ? बेलुका कति बजे घर पुग्छ ? त्यसपछि के खान्छ र के गर्छ ? बेलुका कतिबेर पढ्छ र कति बजे सुत्छ ? यसबाहेक उसलाई पढ्न लेख्न किताब, कापी र कलमहरुको अभाव हुन्छ र हुँदैन आदि आदि ।

खालीपेटमा दिनभर कक्षामा शिक्षकले पढाएका कुरा उनीहरुको दिमागमा कति घुस्दा हुन् र कति बुझ्दा हुन् ?

समस्या व्यक्तिपिच्छे फरक-फरक हुने भैहाल्यो, तथापि धेरैका समस्या साझा हुन्थे- गरिवी र पोषण । तिनीहरु (विद्यार्थीहरु) मध्ये कतिपय खालीपेट वा आधापेट खाएर उकाली-ओराली बाटो हुँदै घण्टौं हिँडेर स्कुल आउनुपथ्र्याे । भोको पेटमा छ-छ घण्टा गुरुहरुको प्रवचन सुनेर र उनीहरुले दिएका कार्यहरु गरेर बिताउनुपथ्र्याे । र, स्कुल छुट्टी भएपछि फेरि घण्टौं हिँडेर घर पुग्नुपथ्र्याे ।

खालीपेटमा दिनभर कक्षामा शिक्षकले पढाएका कुरा उनीहरुको दिमागमा कति घुस्दा हुन् र कति बुझ्दा हुन् ? घर पुगेपछि पनि फेरि यथेष्ट पौष्टिक खानेकुरा हुँदैनथ्यो । भोक र थकाइले लखतरान शरीरले पढ्ने र गृह कार्यहरु गर्न सक्ने कुरै भएन । पढ्ने शक्ति र इच्छा भइहाले पनि कतिपयको घरमा मट्टीतेलको अभावले राति पढ्ने अवस्थासम्म हुन्थेन ।

शनिबारको दिनमा पनि प्रायले घरधन्दा र मेलापातमै समय बिताउनुपथ्र्याे । स्कुल नजिक घर हुनेहरुको पनि आर्थिक र पोषणको अवस्था त उस्तै हुने भइहाल्यो । उनीहरुले चाँहि स्कुल अघि र पछिको समयमा घाँस, दाउरा र मेलापात गरी परिवारलाई सघाउनुपथ्र्याे ।

प्रायः अभिभावकहरु बालबालिकाहरुलाई पढाउनु भनेको मात्रै उनीहरुलाई स्कुल पठाइदिनु हो भन्ठान्दा रहेछन् । केटाकेटीहरुलाई स्कुल पठाउन पनि उनीहरु (अभिभावक) का लागि ठूलो बोझ हुँदोरहेछ -आर्थिक र काम दुबैको हिसाबले । स्कुलका पोशाकहरु, किताब र कापी कलमहरु किनी दिन उनीहरुलाई धौधौ पर्ने रहेछ । त्यसैले त कतिपयले केटाकेटीहरुलाई स्कुल नै नपठाउने र पठाइहाले पनि वीचैमा स्कुल छुटाउन बाध्य हुनुपर्ने रहेछ ।

यहाँसम्म कि कतिपय केटाकेटीहरु त घरबाट स्कुल हिँड्ने तर भोकका कारण वनजंगलतिर सिजन अनुसारका फलफूलको खोजीमा चाहार्दा चाहर्दै स्कुलमा बारम्बार गयल हुने गर्दा रहेछन् । यसैवीच तिनीहरुमध्ये कति त जुवा, तास र खोप्पी खेल्ने जस्ता कुलतमा पनि फस्दा रहेछन् ।

अमेरिकामा बालबालिकाहरुका लागि स्कुलमै अनिवार्य ब्रेकफास्ट र लञ्चको व्यवस्था हुँदोरहेछ । सम्पन्न परिवारका बालबच्चाहरुले थोरै पैसा तिरेर र आर्थिक अवस्था कमजोर हुने परिवारका बालबच्चाहरुले निशुल्क पोषणयुक्त खानेकुराहरु प्राप्त गर्दा रहेछन् ।

पोषणयुक्त खानेकुराको अभावमा कतिपय केटाकेटीहरु बिरामी भैरहने र स्कुल नियमितरुपमा आउन नसक्ने हुँदारहेछन् भने कतिपयले त अकालमै ज्यानसम्म गुमाउनु पर्नेरहेछ ।

यस बाहेक कतिपय छात्राहरुले सानै उमेरमा बिहे भई स्कुल छाड्नुपर्ने रहेछ । बिहेपछि स्कुल सुचारु गर्नेहरुले पनि पारिवारिक कामको बोझ र भेदभावका कारण पढाइमा निरन्तर असफलता व्यहोर्नु पर्दोरहेछ ।

यो छोटो र सानो शोध कार्यले मलाई अवगत गरायो कि पृष्ठभूमिमा लुकेर रहेका यति धेरै समस्या र जटिलताहरु वीच कसरी शैक्षिक नतिजा र गुणस्तर अपेक्षा अनुसारको हासिल हुन सक्ने भयो । विद्यार्थीहरुको असफलताको एक प्रमुख कारण उनीहरुको गरिवी र पोषणको अभाव हुनु हो भन्ने निष्कर्षमा पुग्न अब मलाई गार्‍हो भएन । कारण त थाहा भयो तर समाधान मेरो वशमा थिँदै थिएन ।
यत्तिकैमा आफ्नो पढाइको निरन्तरताका लागि मैले स्कुल छोड्नुपर्ने भयो ।

बसाइ अमेरिकामा, मन आफ्नै गाउँघरमा

अहिले अमेरिकामा रहँदा आफूले देखेका र छोडेर आएका ती गाउँले बालबालिकाहरुका समस्याहरु मानसपटलमा प्रतिविम्वित भैरहन्छन् । विद्यालयका केटाकेटीहरुका लागि पोषणको महत्व कति हुँदोरहेछ र यसका लागि सरकार कतिसम्म सम्वेदनशील हुनु पर्दोरहेछ भन्ने कुरा म सधैं देख्ने गर्छु ।

यहाँ अमेरिकामा बालबालिकाहरुका लागि स्कुलमै अनिवार्य ब्रेकफास्ट र लञ्चको व्यवस्था हुँदोरहेछ । सम्पन्न परिवारका बालबच्चाहरुले थोरै पैसा तिरेर र आर्थिक अवस्था कमजोर हुने परिवारका बालबच्चाहरुले निशुल्क पोषणयुक्त खानेकुराहरु प्राप्त गर्दा रहेछन् । यहाँसम्म कि विद्यालय लामो समय बन्द हुने समरको बेलामा समेत बच्चाहरुलाई पोषणयुक्त खानेकुराहरुको अभाव नहोस् भनेर टोल-टोलमा पोषिला खानेकुराहरु निशुल्क बाँड्ने काम हुँदोरहेछ ।

यो परिदृश्यले मैले मेरो गाउँको स्कुलमा पढाउँदा नियालेको समस्या र निष्कर्षलाई थप पुष्टि गरेको महशुस गरेको छु ।

बहसमा खाजा र खानालाई समेटौं

नेपालमा विद्यालयको शैक्षिक गुणस्तर र बिकाससम्बन्धी बहसहरुमा शिक्षाविदहरुद्वारा उठाइने विषयहरु सधैं प्रायः उस्तै हुने गर्छन् । जस्तो कि- पाठ्यपुस्तकहरु समयमा पुग्नुपर्छ, शिक्षकहरु तालिमप्राप्त हुनुपर्छ, विद्यालय भवन र कक्षाकोठाहरु राम्रो र सुविधा सम्पन्न हुनुपर्छ आदि आदि । तर, केटाकेटीहरुका पोषणसम्बन्धी कुराहरु कहिल्यै उठ्दैनन् ।

मैले जोड दिन चाहेको कुरा के हो भने शिक्षा क्षेत्रमा गरिने लगानीको केही हिस्सा खासगरी गरिव बालबालिकाहरुका लागि स्कुलमा खाना वा खाजाको व्यवस्था गर्न पनि छुट्याउनुपर्‍यो भन्ने हो ।

यसमा मेरो भन्नु वा थप्नु यति हो कि तालिमप्राप्त शिक्षकहरुले सुविधासम्पन्न कक्षा कोठाहरुमा ‘भोका पेटहरु’ लाई थुनेर दिइने शिक्षाको कुनै अर्थ र उपलब्धी होला र ! तसर्थ केटाकेटीहरुको वास्तविक समस्या बुझी तिनिहरुको निराकरण नगरेसम्म राष्ट्रले शिक्षामा जतिसुकै लगानी गरे पनि राम्रा राम्रा विद्यालयहरु बनाइदिए पनि वा योग्य र दक्ष शिक्षकहरु उपलब्ध गरिदिए पनि दूर-दराजहरुमा शिक्षाको गुणस्तर कहिल्यै नसु”ने र शिक्षामा गरिने लगानी सधैं खेर मात्रै जाने कुरामा कम्तिमा म चाँहि विश्वस्त छु ।

सारांसमा,

मैले जोड दिन चाहेको कुरा के हो भने शिक्षा क्षेत्रमा गरिने लगानीको केही हिस्सा खासगरी गरिव बालबालिकाहरुका लागि स्कुलमा खाना वा खाजाको व्यवस्था गर्न पनि छुट्याउनुपर्‍यो भन्ने हो । हरेक मानिसको जीवनमा खानेकुरा पहिलो आवश्यकता हुन्छ भने शिक्षा लगायतका कुराहरु दोस्रो वा तेस्रो आवश्यकताहरुमा पर्दछन् ।

सबै बालबालिकाहरुका लागि सधैंभरि विद्यालयमा पोषणको व्यवस्था कसरी गर्न सकिएला त भन्नेबारे चाँहि फेरि छुट्टै बहस गर्नुपर्ला वा गरौंला । तर, शैक्षिक गुणस्तर सुधार्न पोषणको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने बुझ्न सकिएमा मात्र पनि र यसलाई प्राथमिकताका साथ बहसको बिषय बनाउन सकिएमा अहिलेलाई काफी नै हुनेछ । यसले शिक्षा र स्वास्थ दुवै क्षेत्रमा बर्षेनी हुने अरबौं लगानीको प्रतिफल कालान्तरमा अवश्य दिने नै छ भन्ने ठान्दछु ।

(युनिभर्सिटी अफ नेभाडा रिनो, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment