Comments Add Comment

प्रवासमा नेपाली नेताको भ्रमण औपचारिक राम्रो कि अनौपचारिक ?

अष्ट्रेलिया भ्रमण कस्तो लाग्यो एमाले नेतालाई ?

विष्णु पौडेल र डा. राजन भट्टराई

८ फेब्रुअरी, सिड्नी । गत जनवरी महिनाको अन्तिम हप्ता अष्ट्रेलिया भ्रमणमा आएका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र परराष्ट्र डा. राजन भट्टराई बुधबार बिहान नेपाल तर्फ उडे । करिब दुई हप्ता लामो अष्ट्रेलिया भ्रमणको क्रममा उनीहरु सिड्नी, मेलवर्न र एडिलेडमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी भए ।

राजनीतिक नेताहरुको निजी वा अनौपचारिक भ्रमणहरु पनि अष्ट्रेलियामा भएका नेपालीहरुका सामाजिक संगठनहरुले महत्वका बनाइदिने गरेका छन् । यहाँ दर्जनौं सामाजिक संस्थाहरु छन् जसमध्ये केही संस्थाहरु नेपालका राजनीतिक दलका शुभचिन्तक संस्थाहरु हुन् । झण्डै भातृ संस्था जस्तै क्रियाशील हुने ति संस्थाहरुले नेपालबाट यहाँ आउने नेताहरुसँग सामूहिक अन्तर्क्रिया गर्ने गरेका छन् ।

बुधबार बिहान नेपाल फर्किनु अघि नेकपा एमालेका उपमहासचिव पौडेलले अनलाइनखबरसँग भने, ‘यो मेरो पहिलो अष्ट्रेलिया भ्रमण थियो । यहाँको विकास र व्यवस्थापन सिक्न लायक छ ।’

उनले अष्ट्रेलियामा भएको नेपाली समाज निकै सचेत, जागरुक र संगठित रहेको आफूले पाएको बताए । ‘यहाँका नेपाली मर्यादापूर्ण भूमिकामा रहेछन् र देशप्रति चिन्ता गर्दै महत्वपूर्ण विमर्श गर्ने रहेछन्,’ नेता पौडेलले भने ।

अर्का नेता डा. राजन भट्टराईले अष्ट्रेलियाको नेपाली समाज समृद्ध भइरहेकाले यसले नेपाल तर्फ पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । सिड्नीस्थित किङ्ग्स फोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग बोल्दै परराष्ट्रवित डा. भट्टराईले भने, ‘अष्ट्रेलिया ल एण्ड अर्डर, पर्यावरण, विश्वविद्यालयहरु सबै राम्रो भएकाले यहाँ भएका नेपालीको ज्ञान र पूँजी दुबै भविष्यको नेपालका लागि निकै महत्वपूर्ण हुने देखिन्छ ।’

यसपटको उनको भ्रमण तेस्रो थियो । पहिलोपटक १९९५ मा उनी सिड्नी आउँदा अष्ट्रेलियाको एउटा रेष्टुरेन्टमा एक जना नेपालीसँग मात्र भेट भएको थियो । उनी एसियन स्टुडेन्ट एशोसियसनको सम्मेलनमा भाग लिन आउँदा सिड्नी, क्यानबेरा र मेलवर्नको भ्रमण गरेका थिए ।

दोस्रो पटक सन् २००० मा उनी नेता प्रदीप नेपालसँगै अष्ट्रेलिया आएका थिए जतिबेला रमेश पाण्डे लगायतका एमाले समर्थक युवाहरुले सानो अन्तर्क्रिया गरेका थिए ।

नेता भट्टराईका अनुसार अहिले नेपालीहरु स्थापित व्यवसायी बनिसकेकाले यहाँको नेपाली समाज समृद्ध हुँदै गएको उनको विश्लेषण थियो ।

अब औपचारिक भ्रमण हुनुपर्‍यो

नेपाली दूतावास क्यानवेराको स्थापना सन् २००७ मा भएको हो तर नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापित भएको भने सन् १९६० को फेब्रुअरी १५ मा हो ।

नेपाली दूतावास क्यानवेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेका अनुसार नेपालका दूतावास खुलेयता नेपालका कोही पनि नेताले अष्ट्रेलियाको औपचारिक भ्रण्म गरेका छैनन् । उनले भने, ‘अष्ट्रेलियाले नेपाललाई वार्षिक ३५ मिलियन डलर सहयोग गरिरहेको छ । नेपालमा राजनीतिक स्थीरता हुने औपचारिक भ्रमणहरु गरेर दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझ ताजा बनाउँदा नेपालले धेरै लाभ लिन सक्थ्यो ।’

तीन महिना अघि नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गरेको अष्ट्रेलिया भ्रमण पनि औपचारिक थिएन । यहाँका परराष्ट्रमन्त्री जुली विसपसँग उनको क्यानवेरामा भेटघाट भयो तर त्यो अनौपचारिक स्तरमामात्र सीमित थियो ।

चन्द्र योञ्जन

अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली महावाणिज्य दूत चन्द्र योञ्जनका अनुसार नेपाली नेताहरुको अष्ट्रेलिया भ्रमणले यहाँका नेपाली समाजलाई फाइदा पुगेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै उनी थप्छन्, ‘नेपालको नीति निर्माण तहका नेताहरु यहाँ आउँदा यहाँको नेपाली समाजले नेपालको राजनीतिक परिस्थितिबारे प्रत्यक्ष ज्ञान आर्जन गर्न पाएको छ । साथै अष्ट्रेलियाको विकास प्रणालीको अध्ययनले नेताहरुलाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।

महावाणिज्य दूत योञ्जनका अनुसार अब नेपालका तर्फबाट उच्चस्तरीय नेपाली नेतृत्वको औपचारिक भ्रमण हुन आवश्यक छ । त्यसले दुई देशको कुटनीतिक सम्बन्ध अझै समृद्ध बन्दछ र द्विपक्षीय लाभहरु पनि हुन्छन् ।

नेपालका लागि न्यू साउथ वेल्स राज्यका महावाणिज्य दूत दीपक खड्का भन्छन्, ‘हजार पुस्तकको अध्ययन भन्दा हजार माइलको यात्रा निकै ज्ञानवर्द्धक हुन्छ भन्ने कसैको उक्ति मलाई मन पर्छ । त्यसैले म नेपालका सबै क्षेत्रका व्यक्तित्वहरुको अष्ट्रेलिया यात्रालाई ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसरका रुपमा लिन्छु ।’

दीपक खड्का

उनी थप्छन्, ‘तर यहाँको विकास र प्रगतिलाई ती व्यक्तित्वहरुले आँखाले मात्र होइन मनदेखि देख्नुपर्‍यो र नेपालको विकासमा त्यो ज्ञानलाई सदुपयोग गर्नुपर्‍यो ।

अनलाइनखबरसँग कुरा गर्दै महावाणिज्यदूत खड्काले भने, ‘अब भ्रमणहरु द्विपक्षीय र औपचारिक हुँदा निकै लाभदायक हुन्थ्यो ।’

पश्चिम अष्ट्रेलियाका लागि नेपालका वाणिज्यदूत दीपक धमलाले पनि नेपालका राजनीतिक नेताहरुको अष्ट्रेलिया भ्रमणले यहाँको नेपाली तथा अष्ट्रेलियन समाजमा सकारात्मक प्रभाव पारेको बताए ।

अनलाइनखबरसँग बोल्दै उनले भने, ‘अब नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक र व्यापारिक सम्बन्ध बढाउन नेपालबाट नेता तथा व्यवसायीहरुको संयुक्त औपचारिक भ्रमण तय गरिनुपर्दछ ।’

दीपक धमला

दुई महिना अघि नेपालका पर्यटनमन्त्री जीवनबहादुर शाहीले अष्ट्रेलिया यात्रा गरेका थिए भने माओवादी नेता प्रभु साहले अघिल्लो महिना अष्ट्रेलिया, न्यूजील्याण्ड र मलेसियाको भ्रमण गरेका थिए । तर, ती कुनै पनि भ्रमणहरु नेपालका मित्र देशको सरकारी पक्षबाट निम्तो गरिएका थिएनन् ।

आलोचकहरु भने नेपालका नेताहरु खाली घुम्न र रमाइलोका लागि मात्रै विदेश यात्रामा आउने गरेको र विदेशको प्रगतिबाट नेपालको विकासका लागि कुनै पनि कुरा सिकेर लागू नगरेको गुनासो गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment