Comments Add Comment

एमालेमा युवती काण्डः कृपासुर शेर्पाविरुद्ध शेरधन राईको उजुरी

'जवानी लाग्यो' भन्दै म्यासेज पठाउने युवती कारवाहीमा परिन्

२६ माघ, काठमाडौं । राजनीतिमा एकले अर्कोलाई सिध्याउन जे पनि गर्न सक्छन् भन्ने त सुनिएकै हो । तर, एउटै पार्टीभित्र अर्को नेतालाई सिध्याउन महिला कार्यकर्ता प्रयोग गरिएको घटना भने सम्भवतः पहिलोपटक सार्वजनिक भएको छ, त्यो पनि सांगठानिक मामिलामा अनुशासित मानिएको नेकपा एमालेभित्र ।

आफ्नै सहयोद्धाबाट पीडित भएको भन्दै पूर्वसञ्चार मन्त्रीसमेत रहेका एमालेका युवा नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरासमक्ष लिखित निवेदनसहित न्याय मागेका छन् ।

एमाले स्रोतका अनुसार वैकल्पिक पोलिटब्यूरो सदस्य राई आफूलाई सिध्याउन एमालेकै सांसद तथा पूर्वमन्त्री कृपासुर शेर्पाले अपराधिक क्रियाकलाप गरिरहेको भन्दै उजुरी दिएका हुन् ।

पार्टीले शेर्पामाथि कुनै कारवाही नगरे शेर्पाको आपराधिक करतुत सार्वजनिक गरिदिने र राज्यका निकायबाटै कारवाही गराउने जानकारी समेत राईले पार्टी नेतृत्वलाई गराएका छन् । यसबारे पूर्वमन्त्री राईले राष्ट्रपतिलाई समेत जानकारी गराएको निवेदनमा उल्लेख गरेका छन् ।

शेरधनलाई तनाव

राजनीतिक उचाइका हिसाबले सानै उमेरमा उचाइ चढ्दै गरेका र वैवाहिक जीवनको तयारीमा रहेका एमाले नेता शेरधन राई पछिल्लो समय निकै ठूलो तनावमा छन् ।

राई भोजपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कृपासुर शेर्पा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । संयोगवश उनीहरु दुवैजना पालैपालो मन्त्रीसमेत भइसकेका छन् ।

विसं.०५६ पछि आफैंले पार्टीमा सामेल गराएका र ०७० को चुनावमा टिकटसमेत सिफारिस गरेका शेर्पाले पछिल्लो एक वर्षयता आफूविरुद्ध पटक-पटक अपराधिक षडयन्त्र गरेको प्रमाणसमेत राईले पार्टीमा पेश गरेको अनुशासन आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।

एसएमएसवालीको ‘बालुवाटार’ कनेक्सन

राईलाई सबैभन्दा तनाव दिने कुराचाहिँ के रहेछ भने विगत एक वर्षदेखि एसएमएस मार्फत दुःख दिइरहेकी एक युवतीलाई शेर्पाले नै परिचालन गरेको प्रमाण उनले भेट्टाए ।

शेरधन सञ्चार मन्त्री रहेका बेला उनलाई एमाले सम्बद्ध युवा संघकी केन्द्रीय सदस्य समेत रहेकी एक युवतीले एक वर्षअघि अचानक असजिलो एसएमएस गरेकी थिइन् । त्यस लगत्तै कुरा गर्दा उनले आफ्नो परिचय दिँदै आफूलाई बिहे गर्नुपर्ने शर्त राखिन् ।

उनका बारे बुझ्दा ती युवतीले तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालय बालुवाटारमै नियुक्ति पाएको थाहा भयो । सञ्चार मन्त्री भएका कारण उनले नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण मार्फत ती युवतीको नम्बरबाट प्राप्त सन्देश र उनको नियमित सम्पर्क हुने शंकास्पद व्यक्तिहरुको नम्बरसमेत ट्रेस गर्न लगाए ।

युवतीका एकतर्फी एसएमएस र उनको सम्पर्क हुने व्यक्तिको विवरणसहित राईले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

राईविरुद्ध ती युवती परिचालित भएको बुझिएपछि तत्कालै उनलाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको र युवा संघमा पनि प्रवेश निषेध गरिएको युवा संघका एक पदाधिकारीले अनलाइनखबरलाई बताए । त्यसपछि ती युवती केही मिडियामा समेत शेरधन राईको विरोध गर्दै पुगिन् ।

एउटा एसएमएसः आफूलाई त जवानी लाग्यो

शेरधनलाई सताउने ती युवतीका एसएमएसहरु अस्वाभाविक र अपत्यारिला खालका देखिन्छन् । सयौं एसएमएसमध्ये एउटा यस्तो छ-आफूलाई त जवानी लाग्यो, कोही कोहीलाई बुढेसकाल । उनले यो सन्देश १४ जुन २०१६ मा शेरधन राईको मोबाइलमा पठाएको देखिन्छ ।

उनले सोही दिन राईकै मोबाइलमा अर्को सन्देश यस्तो पठाएकी छन्- दौरा सुरुवाल कालो कोट कालो टोपी र छालाको जुत्ता ट्याक, ट्याक,ट्याक..भुतुक्कै भएँ म त । हिरो त झण्डै त्यहीबेला बेहुला भएको । फूलमाला भए त्यहीबेला लगाइदिने थिएँ मैले त । कति मन परेको थियो मलाई त । लगन जुरेको रहेन छ क्यारे ।

केपी ओलीदेखि सीआर्इबीसम्म

ओलीसहित पार्टी नेताहरुलाई ती युवती आफूविरुद्ध परिचालित रहेको र त्यसमा कृपासुर शेर्पाको आर्थिक लगानी रहेको किटानी उजुरी दिए पनि राईलाई नेताहरुले चुपचाप पार्टी काममा लाग्न निर्देशन दिएका थिए । त्यसलगत्तै प्रदेश नम्बर १ को सहसंयोजकको जिम्मेवारी पाएपछि शेरधन राईविरुद्ध कृपासुर शेर्पाबाट फेरि ती युवतीलाई सक्रिय गराइएको भोजपुरका एक एमाले नेताले बताए ।

यसबीचमा ती युवती ‘आफू पत्रकार हुँ’ भन्दै हात्तीगौंडास्थित राईको डेरामै पुगेकी थिइन् । उनले ‘मिडिया किन्छौं, वकिल किन्छौं, जसरी पनि सिध्याउने हो’ भन्न थालेपछि राईका सुरक्षाकर्मीले उनलाई बाहिर निकालेर पठाएको प्रहरी स्रोतले जनाएको छ । सो लगत्तै यो प्रकरणमा प्रहरीको सीआइबीले पनि अनुसन्धान थालेको छ ।

अनुसन्धान र कल डिटेलका आधारमा ती युवतीको निरन्तर सम्पर्क कृपासुर शेर्पाको मोबाइल नम्बरमा हुने गरेको र ती युवतीको नम्बरमा पूर्वमन्त्री राईको तर्फबाट कहिल्यै एसएमएस वा टेलिफोन कल गएको नदेखिएको सीआइबीका अधिकृत बताउँछन् ।

सीआइबी प्रमुख नवराज सिलवालले एसएमएसहरुका आधारमा युवतीले ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको प्रष्ट हुने भए पनि उनलाई पक्राउ गर्दा उल्टै अनावश्यक चर्चा हुने भन्दै राईलाई चुपचाप बस्न सुझाव दिएको स्रोतको भनाइ छ ।

अमृत बोहोराको अनुसन्धान

यसबीचमा पटक-पटक मौखिक आग्रह गर्दा पनि पार्टी नेतृत्वले कृपासुरका गतिबिधिमाथि नियन्त्रण नगरेपछि राईले एक महिनाअघि पुस २५ गते अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरालाई शेर्पामाथि कारवाहीको माग गर्दै निवेदन दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा युवासंघ आबद्ध ती युवतीलाई शेर्पाले परिचालन गरेको पुष्टि भएको बोहोरा निकट स्रोतले जनाएको छ ।

रोचक कुरा के पनि छ भने पार्टीभित्रको राजनीतिमा शेरधन र कृपासुर दुवै केपी ओली पक्षकै हुन् । राई र शेर्पाबीच एक वर्षदेखि बोलचाल छैन । राईले शेर्पामाथि पार्टी र राज्य दुवै तहबाट कारवाहीको माग गरेका छन् ।

कृपासुरको कर्म

कृपासुर शेर्पा यसअघि पनि विवादमा परेर कारवाहीको भागिदार भएका व्यक्ति हुन् । तत्कालीन पार्टी उपाध्यक्ष तथा महिला संघ अध्यक्ष विद्या भण्डारीले कृपासुर शेर्पाद्वारा दलित महिलामाथि दुराचार गर्ने र छोरालाई नागरिकता नदिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै शेर्पामाथि पार्टी बैठकमै कारवाहीको माग गरेकी थिइन् ।

तर, पार्टी नेतृत्वले शेर्पालाई संरक्षण गर्दै आएको छ । अझ धुम्बाराहीमा आफ्नो सम्पत्तिमा पार्टी कार्यालय राखेर शेर्पाले पार्टी नेतृत्वलाई आफ्नो प्रभावमा राखेका छन् । यही असन्तुष्टिका कारण तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीले धुम्काराहीको पार्टी कार्यालय टेक्न मानेकी थिइनन् ।

कृपासुर शेर्पाले सरकारी कर्मचारी हुँदा दलित महिलामाथि यौन दुराचार गरेर छोरा जन्मिएको र उनका छोरा गणेशले नागरिकता नपाएको समाचार अनलाइनखबरले प्रकाशित गरेपछि शेर्पाको करतुत बाहिर आएको थियो । तर, पछिल्लो पटक शेर्पाले छोरा बुहारीलाई नै गोलीले उडाइदिने धम्की दिएर गौशाला प्रहरीमा थुनाएका थिए ।

यति हुँदा पनि एमाले नेतृत्वले शेर्पालाई कारवाही गर्न सकेको छैन । शेर्पाले पैसाका भरमा एमाले नेताहरुलाई आफ्नो प्रभावमा पार्दै आइरहेका छन् ।

सामान्य युवतीको असामान्य गतिविधि

एमाले नेता तथा पूर्वमन्त्री राईलाई निरन्तर एसएमएस मार्फत तनाव दिने युवती भने कृपासुर शेर्पाको गाडीमा यात्रा गर्ने गरेको प्रमाण पनि एमाले कार्यालयमा पेश भएको स्रोतले जनाएको छ । स्वयं ती युवतीले पनि राईलाई पठाएका एसएमएसमा कृपासुरको जिकिर गरेकी छन् ।

अनलाइनखबरसँग सुरक्षित रहेको चार पृष्ठका एसएमएसहरुको ठेलीमा ती युवतीले शेरधनलाई एकोहोरो सन्देश पठाएको देखिन्छ । प्रहरी स्रोतबाट प्राप्त विवरणमा उनले राईलाई सन्देश पठाउने तीनवटा फरक-फरक मोबाइल नम्बर प्रयोग गरेकी छन् । तर, टेलिफोन कल रेकर्डमा उनले ६ वटा मोबाइल नम्बर प्रयोग गर्ने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ ।

युवा संघका नेताहरुले सोधपुछ गर्दा युवतीले आफूलाई शेर्पाले ७ लाख रुपैयाँ दिने भनेर राईको पछि लाग्न अह्राएको र हालसम्म ३ लाख रुपैयाँमात्रै पाएको बताएको संघका एक नेताले बताए । शेरधनलाई सिध्याउन जति पैसा पनि खर्च गर्ने शक्ति आफूसँग रहेको उनले बयान दिएको युवा संघका नेताहरु बताउँछन् ।

युवासंघबाट निस्कासित

ती युवतीको अस्वाभाविक गतिविधि र शंकास्पद उठबसका कारण पार्टीका नेताविरुद्ध प्रयोग भएको ठहर गर्दै युवा संघले संगठनबाट निश्कासन गरेको छ ।

युवा संघको बुधबारको बैठकबाट उनलाई कारवाही गरिएको हो । ‘संगठनको अनुशासन विपरित पार्टीका नेताको चरित्रहत्या गर्न प्रयोग भएको र चारित्रिक तथा व्यक्तिगत नैतिकतासमेत नरहेका कारण उनलाई कारवाही गरिएको हो’ संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने ‘संगठनको एकमतले उनीसहित चार जनालाई बिदा गरेको छ ।’

ती युवतीलाई यसबीचमा पार्टीका बिभिन्न नेताहरुले सम्झाए पनि उनले नमानेको र उनको गृहजिल्ला दोलखाका नेताहरुले ठूलै प्रलोभनमा परेर राईविरुद्ध परिचालित भएको निष्कर्ष निकालेका थिए । एक वर्षसम्मको अनुसन्धान र उनको नियत प्रष्ट भएपछि संघले उनलाई कारवाही गरेको अध्यक्ष राजीव पहारीले बताए ।

किन बिग्रियो कृपासुर-शेरधन सम्बन्ध ?

भोजपुरको एमाले राजनीतिमा कृपासुर कुनै नेता होइनन् । शेरधन राई, जयन्ती राई, राजेन्द्र राई, हरि राई केन्द्रीय कमिटीमा छन् । गत संविधानसभा चुनावमा भोजपुर १ बाट राजेन्द्र राईले टिकट पाउनुपर्ने थियो । तर, शेरधनले नै कृपासुरका लागि सिफारिस गरेका थिए ।

कृपासुरले टिकट पाउनुअघि जिल्लाका अगुवा नेता र केन्द्रका नेताहरुलाई समेत राखेर आफूले टिकट पाए भोजपुरका दुवै क्षेत्रको चुनावी खर्च व्यहोर्ने बताएका थिए । त्यस्तै टिकटको निर्णय भएपछि उनले नै पार्टीको खातामा २ करोड जम्मा गर्ने बताएका थिए ।

तर, चुनावको मुखमा एक पैसा पनि नदिएपछि शेरधनले टेलिफोनबाट गाली गरेको र त्यही दिनदेखि उनीहरुको सम्बन्ध चिसिएको एमाले कार्यकर्ताहरु बताउँछन् । चुनावको बेला भोजपुर सदरमुकामका होटलमा कार्यकर्ताले भात खाएको लाखौं रुपैयाँ समेत दुई जनाको विवादका कारण नतिरेर पार्टीले ऋण बोक्नु परेको एक जिल्ला पदाधिकारीले बताए ।

कृपासुर शेर्पा शेरधनको पछि लाग्नुको अर्को कारण चाहिँ उनले स्वीकार नगरेका छोरा गणेशको शेरधनसँग सम्पर्क हुनु पनि हो । कृपासुरका पीडित छोरा गणेशले एमालेका तत्कालीन जिल्ला प्रमुख र पछि पार्टीको नेता भएका कारण पटक-पटक शेरधनसँग कृपासुरको छोरा कायम गराई पाउँ भनी न्याय मागेका थिए ।

यसबाहेक शेरधनविरुद्ध लाग्नुपर्ने उनको अरु कुनै कारण छैन । शेरधनको राजनीति सिध्याएर उनले पार्टीमा शेरधनको ठाउँ लिने पनि होइनन् । यसबारेमा कुरा गर्न खोज्दा कृपासुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

शेरधनले भने आफूमाथि भइरहेको षडयन्त्र र अपराधिक गतिबिधिका बारेमा पार्टी र राज्यका अनुसन्धान निकायलाई सबै विवरण दिइसकेकाले थप केही प्रतिक्रिया नदिने बताए । उनले आफ्नो राजनीतिक करिअर सिध्याउन लाग्नेहरुको यथेष्ट प्रमाण संकलन भइसकेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment