Comments Add Comment

विदेशिएका युवाको लगानीमा गाउँमा पर्यटन प्रवर्द्धन गर्न टुङघर

२७ माघ, पथरी (मोरङ) । दक्षिणी मोरङको वरडङ्गा–७ कल्याणपुरवासीले गाउँको पर्यटन प्रवद्र्धन गर्न कङ्क्रिटको १० तले टुङघर निर्माण गरेका छन् । विसं २०६४ सालमा निर्माण सुरु भएको टुङघरमा हाल धमाधम रङ्गरोगन भइरहेको छ ।

टुङ्घरमा चढेर वरपरको दृश्य अवलोकन गर्ने र तस्बिर लिन आन्तरिक पर्यटक आउन थालेका छन् । वैदेशिक रोजगारीमा गएका स्थानीय युवाले सहयोग गरेपछि स्थानीयवासीले कङ्क्रिटको टुङघर निर्माण गरेका हुन् । सो टुङघर अहिले त्यस क्षेत्रको आकर्षणको केन्द्र बनेको छ । सो क्षेत्रमा दैनिक एकसय जना आन्तरिक पर्यटक आउने गरेका छन् ।

निर्माण समितिका सचिव राजेन्द्र बराल भन्छन्, “टुङघरले मोरङका लारिकट्टा, कर्सिया, सिङ्गारी, सौंठा, कल्याणपुर लगायतका गाउँलाई लक्षित गरेर पर्यटक तान्नेछ ।”

२०२६ सालमा काठको टुङघर निर्माण गरिएको थियो । दुई किलोमिटर दक्षिणबाट आउने भारतीय डाँकाले बाह्रै महिना दुःख दिएपछि कल्याणपुर क्षेत्रका बासिन्दाले चोरडाँका रुङ्न तत्कालीन स्थानीय प्रशासनको सहयोगमा काठको टुङघर निर्माण गरिएको थियो ।

विसं २०६० सालमा कल्याणपुर–आमबारी–उर्लाबारी सडकको स्तरोन्नति गर्ने क्रममा काठको टुङघर सडक विभागले भत्काई दिएपछि वैदेशिक रोजगारीमा गएका युवाको सहयोगमा स्थानीयवासीले कङ्क्रिटको टुङघर निर्माण गरेका हुन् ।

निर्माण समितिका सचिव बराल भन्नुहुन्छ, “कल्याणपुरलाई माया गर्ने चन्दादाता र सहयोगीबाट प्राप्त झन्डै १५ लाख रुपैयाँले टुङघर निर्माण गरेका हौँ । वैदेशिक रोजगारमा गएका युवाले पठाएको चन्दा सहयोगबाट सिँढी र छानो लगाउने व्यवस्था गरिएको बरालको भनाइ छ ।

हाल कल्याणपुरवासीले सो टुङघरलाई पर्यटन प्रवर्धन गर्ने केन्द्रका रुपमा विकास गर्दै लाने बताएका छन् । स्थानीयवासी चेतन कोइरालाका अनुसार कल्याणपुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

त्यसैले सो टुङघरलाई पर्यटक तान्ने आधारका रुपमा विकसित गर्दै लगेको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment