Comments Add Comment

‘आइजीपीमा देउवाको अडानले सत्ता समीकरण टुट्न सक्छ’

नयाँ आइजीपी कस्तो बनाउने ? 'एक्शनम्यान' कि 'यसम्यान' ?

द्रव्य शाहले लिगलिगे दौड जितेर गोरखाको सत्ता जितेको एकाथरी इतिहासकारको दाबी छ । हरेक साल हुने दौडमा द्रव्य शाह समेतले भाग लिएर दौड जितेको उल्लेख छ । तर, वास्तविकता फरक थियो । जितका लागि उनले षड्यन्त्र रचेका थिए । दौडमा जो अगाडि थियो, उनीहरू षड्यन्त्रको शिकार भए । र, द्रव्य शाहले गोरखाको सत्ता कब्जा गरे ।

अहिले नेपाल प्रहरीभित्र आइजीपीको दौड त्यस्तै ‘लिगलिगे दौड’मा परिणत हुने त होइन भन्ने शंका उब्जिएको छ । पर्दाभित्र र बाहिरबाट षड्यन्त्रका तानाबुना बुनेर प्रहरी नेतृत्वलाई भुत्ते बनाउने गरी नेतृत्व चयनको खेलहरू भएका छन् । यसले प्रहरीमात्र नभई देशको सुरक्षा क्षेत्रमा गम्भीर असर पर्ने खतरा बन्न सक्छ ।

प्रहरीमा गलत थितीको असर कालान्तरसम्म पर्न सक्छ, जसरी विगतमा ऐन नियमको धज्जी उडाउँदै आइजीपी बढुवामा गलत क्रियाकलाप हुँदा सुरक्षा क्षेत्र कमजोर बन्यो । भ्रष्टाचारका ठूला घटनाहरू भए । देशले नै ठूलो मूल्य चुकाउनुपर्‍यो ।

विगतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधान आइजीपी बने । पुनः अदालतबाट मुद्दा जितेर खरेल आइजीपी बने । रवीन्द्रप्रताप शाहलाई उछिन्दै रमेशचन्द ठकुरी आइजीपी बने । चन्द अख्तियार लागेर पदमुक्त भएपछि फेरि शाह आइजीपी बने ।

नियमभन्दा दाम र भेद

आइजीपी बन्न सामथ्र्य चाहिन्छ । तर, कस्तो सामथ्र्य ? नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा ऐन नियमले सामथ्र्यको स्पष्ट व्याख्या गरेको छ । प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ अनुसार ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्र देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनी स्पष्ट उल्लेख गरिएको छ ।

नियमावली हेर्दा प्राथमिकतामा जेष्ठता राखिएको छ भने दोस्रो नम्बरमा कार्यकुशलता राखिएको छ । यी भए सामथ्र्यको लिखित मापदण्ड । अर्को अलिखित सामथ्र्य साम, दाम, दण्ड भेद हो । शक्तिमा पुग्न यस्ता क्रियाकलाप देखाउनेहरूको कमी छैन ।

राज्य सञ्चालनको शक्तिशाली सुरक्षा निकाय नेपाल प्रहरीको महत्वपूर्ण पदमा पुग्न साम, दाम, दण्ड, भेदको रणनीतिले जहिले पनि चर्चा परिचर्चा हुनेगर्छ । प्रहरी सेवामा रहेर अपराध अनुसन्धान र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेर नाम र प्रशंशा कमाएकाहरूभन्दा चलखेलबाट बढुवा हुनेगरेका घटनाहरू नभएका होइनन् । तर, त्यस्ता चलखेलका भेद मात्र खुलेका छैनन् आइजीपी बनेकाहरू अख्तियारले डामिएर अदालत धाउनुपरेको वर्तमानले छर्लङ्ग देखाउँछ ।

ऐन नियमको धज्जी उडाउँदै जेष्ठता नाघेर बढुवा पाएकाहरूको कार्यशैली नकारात्मक देखिएका छन् । जसले बनायो, उसैले पछुतो मान्नुपरेको इतिहास साक्षी छ । पैसा र गलत बाटोबाट बढुवा पाउनेले कुनै हालतमा सकारात्मक काम गर्दैन । राम्राले नपाई हाम्राले पायो भने पनि देशको हित गर्दैन । ऊ आˆनाका लागि लागिपर्छ ।

अस्वस्थ राजनीतिक खेल

प्रहरीको नेतृत्वमा पुग्न तीव्र प्रतिस्पर्धा हुनुलाई सामान्य मान्नुपर्छ । तर, त्यो प्रतिस्पर्धा कार्यकुशलता र कार्यक्षमतामा केन्द्रित हुनुपर्ने हो । विगतमा आइजीपी बढुवा हुँदा भन्दा यसपटक आइजीपीका दाबेदारहरूले कार्यकुशलता र कार्यक्षमता प्रदर्शन गर्न भरपूर प्रयास गरे । सीआइबीमा रहेर डिआइजी नवराज सिलवालले नक्कली डाक्टर पाइलटको पोल मात्र खोलेनन् पक्राऊ गरे, सुन तस्करको जालो तोड्न भूमिका खेले ।

यसपालि आइजीपी बन्न दौडमा रहेकाहरूको गतिविधि समेत लुक्न सकेन । होटलमा गोष्ठिदेखि गोप्य विदेश भ्रमणसम्मका तथ्य खुले । यो सुरक्षा निकायका लागि मात्रै नभई नेपाली समाजका लागि गतिलो सन्देश होइन ।

ट्राफिक व्यवस्थापनमा उदाहरणीय काम देखाउन डीआइजी प्रकाश अर्यालले प्रयास गरे । लागूऔषध अनुसन्धान ब्युरोमा आएर डीआइजी जयबहादुर चन्दले केही ठूला नामधारी तस्करलाई समातेर चर्चा बटुले । काम गरेर बढुवा खोज्ने यो आशालाग्दो र सकारात्मक पक्ष हो । तर, यति हुँदाहुँदै पछिल्लो समय प्रतिस्पर्धीबीच विभिन्न पात्रहरूमार्फत् हिलो छ्यापाछ्यापको प्रवृत्ति देखियो ।

एक-अर्कामाथि राजनीतिक बिल्ला भिराउनेसम्मका गतिविधि भए । प्रहरी भएर प्रहरीमा राजनीति घुसाउने सम्मका हर्कत जे जसरी भए, यसले अस्वस्थ प्रतिस्पर्धाको थिती बस्ने खतरा रहन सक्छ ।

पारदर्शिता कि नग्नता ?

पारदर्शिता लोकतन्त्रको सौन्दर्य हो । देशको महत्वपूर्ण निकायमा हुने बढुवाको प्रतिस्पर्धा र सही वा गलत गतिविधिबारे जनतासम्म सूचना पुग्नुपर्छ । कसले के गर्‍यो, जनतालाई जान्ने अधिकार छ । यति भन्दाभन्दै सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा अति पारदर्शिताले नग्न रूप लिन सक्छ ।

यसपालि आइजीपी बढुवाको प्रतिस्पर्धा यति चर्कंदै गयोे कि धेरै पर्दाहरू उघारिए । सामाजिक सञ्जालमार्फत् प्रहरी बढुवाका चलखेलहरू सार्वजनिक भए । आइजीपी बनाउन लागेका दलालहरूको नामलिष्ट सम्म सामान्य नागरिकले थाहापाउने गरी नग्न गतिविधिहरू भए ।

यसपालि आइजीपी बन्न दौडमा रहेकाहरूको गतिविधि समेत लुक्न सकेन । होटलमा गोष्ठिदेखि गोप्य विदेश भ्रमणसम्मका तथ्य खुले । यो सुरक्षा निकायका लागि मात्रै नभई नेपाली समाजका लागि गतिलो सन्देश होइन ।

प्रहरीलाई नेतृत्व दिनेहरूले आफूपछिको पुस्तालाई कस्तो सन्देश दिन चाहेका हुन्, गम्भीर विषय हो । अतिले खति पुग्छ । प्रहरीमा तिव्र राजनीतिकरणले भविष्यमा बन्ने आइजीपीलाई आˆनै गतिविधि भारी पर्नेछ । व्यवसायिक धर्म बिर्सेर हिजो ज-जसको बैशाखी टेक्न खोजियो, उसैलाई बोक्नुपर्ने अवस्था आउन सक्छ । नग्नता छोप्न कठिन हुन्छ ।

राम्रा कि हाम्रा ?

आइजीपी बढुवामा विगतमा बि्रफकेशले खुबै चर्चा पायो । यसपालि पनि त्यसको गन्ध आउन थालिसक्यो । कतै ब्रिफकेशले भूमिका त खेल्दैन ? यी प्रश्नहरू देशका कुनाकाप्चासम्म उठेका छन् । प्रहरी सुरक्षाको महत्वपूर्ण निकाय मात्र नभई यसको भूमिकाले जनजीवनमा ठूलो असर पार्दोरहेछ ।

नेपाल प्रहरीमा नवराज सिलवाल र सर्वेन्द्र खनालजस्ता केही होनहार अधिकृतहरूको भूमिकाले प्रहरीको साख हृवात्तै बढाइदियो । कुनैबेला अवस्था यस्तो भइसकेको थियो कि प्रहरीलाई सामान्य नागरिकले गुण्डा र अपराधीको संरक्षक देख्न थालिसकेका थिए । सेवाग्राही आयो कि पैसा पाइने भयो भन्ठान्ने भ्रष्टहरूको दबदबा थियो । त्यसलाई तोड्न सीआइबी र अपराध अनुसन्धान महाशाखाका होनहार अधिकृतहरूले जोखिम मोले । प्रहरीप्रति नागरिकको दृष्टिकोणमा आमूल परिवर्तन आयो ।

कांग्रेस सभापति शेरबहादुर देउवा ‘हाम्रा’ भन्दै अडान लिएमा सत्ता समीकरणमा गडबडी पैदा हुने मात्रै नभई नेपाली कांग्रेसभित्रै समस्या आउन सक्ने खतरा पनि छ ।

सीआइबीको निर्देशक बनेर डीआइजी नवराज सिलवालले नक्कली डाक्टर र पाइलटमाथि कारबाही चलाए । सुन तस्करको जालो तोडे । देशलाई बर्बाद बनाउन खोज्ने तस्कर र अराजकहरूमाथि जेहाद छेडे । ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रकाश अर्यालले शुरूमा राम्रो गर्ने प्रयास गरेकै हुन् । डीआइजी जयबहादुर चन्दले लागूऔषध तस्करीमा संलग्न ठूला नामधारीको मुकुण्डो उतारे ।

प्रहरी ब्याटन पाइसकेका बमबहादुर भण्डारी प्रतिस्पर्धी भनिए पनि उनी वरिष्ठ डीआइजीको वरियतामा चौथो नम्बरमा छन् । अहिले मुख्य प्रतिस्पर्धी रहेका सिलवाल, अर्याल र चन्दको कार्यक्षमताको मूल्यांकन गृहमन्त्रालय सम्हालेका अधिकारीहरूले गर्ने हो । र, त्यही क्षमताका आधारमा ३ फागुनमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ ।

प्रहरी नियमावली अनुसार हाल डीआइजी रहेका सबै आइजीपीका दाबेदार हुन् । नियमावली हेर्दा प्राथमिकतामा जेष्ठता राखिएको छ भने दोस्रो नम्बरमा कार्यकुशलता राखिएको छ । यसरी हेर्दा हाम्राले प्राथमिकता नपाएर जेष्ठता र कार्यकुशलताले प्राथमिकता पाए पहिलो नम्बरको डीआइजीबाटै आइजीपी बन्ने सम्भावना छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा ‘हाम्रा’ भन्दै अडान लिएमा सुदरपश्चिमेलीको नाताले जयबहादुर चन्दको भाग्योदय हुन सक्ला । तर, त्यो अवस्थामा सत्ता समीकरणमा गडबडी पैदा हुने मात्रै नभई नेपाली कांग्रेसभित्रै समस्या आउन सक्ने खतरा पनि छ । गृहमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विमलेन्द्र निधि जेष्ठता र कार्यकुशलतालाई यताउता नगर्ने अडानमा छन् ।

कांग्रेसका धेरैजसो प्रभावशाली नेता नेपाली काँग्रेसले अहिलेसम्म जेष्ठता र कार्यकुशलता नाघ्ने क्रियाकलाप नगरेकाले परम्परा कायमै राख्नुपर्ने पक्षमा छन् । हुन पनि एमाले नेता वामदेव गौतम गृहमन्त्री हुँदा मात्रै जेष्ठता मिच्ने काम भयो, कांग्रेस सत्तामा रहँदा आइजीपी बढुवा हुँदा जेष्ठता मिचिएको रेकर्ड छैन ।

देउवाले हाम्रा ल्याए यसपालि रेकर्ड तोडिन सक्छ । देउवामाथि यसै पनि सुदरपश्चिमेलीको मात्र नेता बन्न सकेको आरोप लाग्न थालिसकेको छ । यो घटनाले यसलाई पुष्टि गर्न बल मिल्न सक्छ ।

बीचबाट बाजी मार्ने दाउ

पहिलो नम्बरका नवराज सिलवाल र तेस्रो नम्बरका जयबहादुर चन्दबीच तीव्र प्रतिस्पर्धाको विषय बाहिर आए पनि अर्को खेलमा छन् प्रकाश अर्याल । हल्लाको दुनियाँभन्दा टाढा रहन चाहने उनी भित्रभित्रै खेलिरहेका छन् । सिलवाल र चन्दलाई भिडाएर बाजी मार्ने योजनाअनुसार अर्याललाई केही व्यक्तिहरूले उचालिरहेको बताइन्छ ।

आइजीपी बन्ने लिगलिगे दौड चलेमा सिलवालले चन्दको र चन्दले सिलवालको खुट्टा तान्ने गर्दा दुवैलाई अर्यालले उछिन्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसैले केही खेलाडीहरू जतिसक्दो सिलवाल र चन्दबीच द्वन्द्व चर्काउन लागिपरेका छन् । यसबाट कतै अर्याललाई चिठ्ठा पार्न सकिन्छ कि भन्ने दाउ पनि हुन सक्छ ।

कांग्रेसको चुनावी स्वार्थ

अबको प्रहरी नेतृत्वले देशमा तीन तहको चुनाव गर्ने सम्भावना रहेकाले पनि नेताहरूको आइजीपी बढुवामा बढी स्वार्थ देखिएको हो । कतिपय नेताहरूले यसलाई प्रतिष्ठाको विषय बनाउने झलक समेत देखाएका छन् । भविष्यमा चुनाव हुँदा आफ्ना मान्छेलाई जिताउन आइजीपीले भूमिका खेलिदेओस् भन्ने चाहना पनि हुनसक्छ ।

विगतमा प्रहरी नेतृत्वले अधिकार दुरुपयोग गरी चुनावमा नतिजा यताउता पारेको चर्चा पनि चल्यो । जसको स्वतन्त्र पुष्टि भएन । तर, नतिजामा स्वार्थ पूरा गर्ने दाउमा आइजीपी आˆनो एस म्यान होस् भन्ने हुन सक्छ । तर, देशले कुनै नेता विशेषको एसम्यान होइन, सामथ्र्यवान व्यक्तिलाई जिम्मेवार निकायमा खोज्छ । एसम्यानले देश बर्बाद भएको हो । अब सामथ्र्यवान चाहिन्छ । सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा एसम्यान होइन, एक्सन म्यान चाहिन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा एक्सन म्यानले आइजीपीको फूली लगाउँछ कि लगाउँदैन देश र विदेशमा बस्ने सारा नेपालीहरूले नियालिरहेछन् । राम्रो ल्याइन्छ कि हाम्रो ल्याइन्छ ? यो प्रश्नको उत्तरको प्रतिक्षामा छन् जनता ।

चुनावी नतिजाजस्तो होइन आइजीपी बढुवा । तर, आइजीपी बढुवामा हुने सही वा गलत निर्णयले जनतामा सकारात्मक या नकारात्मक सोच विकास हुन्छ । यसको परिणाम आगामी चुनावको नतिजामा समेत देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment