Comments Add Comment

संविधान संशोधनमा सहमति नभए दुई तिहाइमा जान्नौं: मन्त्री खाँण

'स्थानीय तहको चुनाव नभएसम्म सरकार फेरिँदैन'


२७ माघ, नवलपरासी । रक्षा मन्त्री बालकृष्ण खाँडले मधेसी दलहरुसँगको सहमतिमै संविधान संशोधनको प्रस्ताव ल्याएको बताएका छन् ।

सहमति जुटाउन सके सहमतिको आधारमा संविधान संशोधन गर्ने र त्यसो हुन नसके दुई तिहाईबाट संशोधनका लागि प्रयत्न नगर्ने पनि उनले बताए । त्यससँगै निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी मधेसी दलसँग सहमति भएको उनले जानकारी दिए ।

आज नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा सहभागी भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेतासमेत रहेका खाँणले यस्तो बताएका हुन् ।

रक्षामन्त्री खाँणले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गर्ने र कांग्रेस नेतृत्वको सरकारले प्रदेशिक र संघीय निर्वाचन गर्ने सहमतिअनुसार स्थानीय तहको निर्वाचन नभएसम्म सरकार नफेरिने स्पष्ट पारे ।

उनले स्थानीय तहको पुनसंरचनामा सहमति जुटे नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाको ढाँचामा र सहमति नजुटे नयां नगरपालिका र गाविसको ढाँचामा भएपनि निर्वाचन गर्ने बताए । त्यस्तै उनले यसै वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने समेत बताए ।

हात्तीखोरमा १२ औं सिनियर टिमलाई आज दीक्षित गरिएको हो । रक्षामन्त्री खाँडले कार्यक्रममा ४ सय जनालाई दीक्षित गरे ।

राष्ट्रिय सेवा दलले देशभरबाट यस वर्ष ४ हजार जना विद्यार्थीलाई सैन्य तालिम दिएको छ । जस अन्तर्गत सिनियर समूहमा १२ वटा र जुनियर समूहमा ४३ वटा समूहलाई सैन्य तालिम प्रदान गरेको थियो । यसरी तालिम प्राप्त युवा तथा विद्यार्थीहरुलाई सेनाले प्राकृतिक प्रकोपको बेला आवश्यक परेको खण्डमा उद्दारका लागि खटाउने छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment