Comments Add Comment

राजावादी मञ्चबाट एमाले नेता मोहनचन्द्रले भने- हिन्दूराज्य फिर्ता गर

'धन कमाउने प्रचण्ड' देश विखण्डनमा सक्रिय रहेको आरोप

२८ माघ, काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका छन्- झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी । नेपालका नेल्सन मण्डेला भनेर चिनिने यी भेट्रान एमाले नेता बिहीबार एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए ।

राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी विहीबार राजावादीहरुको भेलामा सहभागी हुन पुगेका थिए । त्यहाँ उनले अध्यात्मिक र राजनीतिक रस घुलमिल भएको भाषण गरे । भाषणका क्रममा उनी राजतन्त्रको विषयमा मौन रहे, तर हिन्दू राज्यको दह्रैसँग वकालत गरे ।

सशस्त्र संघर्ष गरेर राजनीतिमा आएका मोहनचन्द्रले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तीखो आलोचना गरे । आफ्नै पार्टी नेकपा एमालेका नेताहरुलाई पनि उनले प्रश्न गरे- हिजोसम्म भात खान नपाउने साथीहरुको पैसा कहाँबाट आयो ?

कम्युनिष्ट नेता अधिकारीले गरेको भाषणको मुख्य अंश यस्तो थियोः

– देश विखण्डनको संघारमा पुगेको छ र हाम्रो अस्तित्व मेटिन आँटेको छ । यस्तो बेलामा देशको रक्षाको निम्ति र सनातन धर्मको संरक्षणका निम्ति हामी एकजुट नभई हुँदैन ।

– आज हाम्रो देशका नेताहरु पश्चिमा मुलुकको इशारामा चलिरहेका छन् । पश्चिमा दर्शन र द्वन्द्वात्मक भौतिकवादले मात्रै गाइड गर्दा देश नरहने स्थिति पैदा भएको छ । त्यसैले हामी सबैले पूर्वीय दर्शनको अध्ययन गर्नुपर्ने आवश्यकता छ । राष्ट्र जोगाउने हो भने आफ्नो संस्कृति र परम्परालाई बिर्सिनु हुँदैन ।

– नेपालीहरुको हृदयमा रहेको सनातन धर्मलाई हटाएर पश्चिमा राष्ट्रहरुको इशारामा धर्मनिरपेक्षता लाद्ने काम भयो । यो ९४ प्रतिशत हिन्दूको राज्य हो । त्यसैले हिन्दू राज्य पुनस्र्थापना हुनुपर्छ । यदि लोकतन्त्र मान्ने हो भने ९४ प्रतिशतले मानेको हिन्दू धर्म किन देशले अपनाउन सक्दैन ?

– पश्चिमा मुलुकको लहैलहैमा लागेर केही साथीहरु जात-जातिबीच द्वन्द्व सिर्जना गर्न लागिपरेका छन् । राष्ट्र विखण्डन गर्न तम्सिएका छन् । फलस्वरुप तराई, हिमाल, पहाड बलेको छ । नाम लिएर भन्नुपर्दा यसका निम्ति सबैभन्दा बढी प्रचण्ड दोषी छन् ।

– मैले ०५२ सालमा भेट्दा -प्रचण्डलाई) भनेको थिएँ, यो देशको शासन व्यवस्था शान्तिपूर्ण तरिकाले नै परिवर्तन गर्न सकिन्छ । हतियार उठाउनुपर्ने आवश्यकता छैन । उहाँले मेरो सुझावलाई मनन गर्नुभएन । कत्लेआमको बाटो लिनुभो । जुन सर्वथा अनुचित थियो ।

– नेताहरुले पैसा कमाउने अखडा बनाउनुभो राजनीतिलाई । प्रचण्ड मात्रै नभएर गिरिजाप्रसाद कोइराला, सुजाता कोइराला र नेपाली कांग्रेसका साथीहरु पनि भ्रष्टाचारमा मुछिनुभएको छ । मेरो पार्टी एमालेका हिजोसम्म भात खान नपाउने साथीहरु आज आलिसान महलमा बस्नुहुन्छ । त्यो पैसा कहाँबाट आयो ?

– प्रचण्ड कामरेडले धर्मनिरपेक्षता ल्याउनुभो । जातीय विखण्डन गराउनुभो । देशलाई हर तरहले खण्डित गराउदै हुनुहुन्छ । अहिले प्रधानमन्त्री हुनुभएको छ । प्रधानमन्त्री हुनुभन्दा पहिले भेट्ने मौका पाएको थिएँ । त्यतिबेला भनेको थिएँ, तपाईंले गलत विरुवा रोप्नुभएको छ । जातीयता र धर्मनिरपेक्षताका कुराहरु उठाएर नेपालको एकतालाई विथोल्नुभएको छ ।

– एउटा वामपन्थीको आँखाबाट हेर्दा अहिले आएको संविधान अवर्गीय छ । यो जातीयताको भावनाले ओतप्रोत छ । नेताहरुले नेपाललाई धेरै पुरानो ठाउँमा लैजानुभएको छ । कुरा २१ औं शताब्दीको, काम १६ औं शताब्दीको । नेताहरु सच्चिने कहिले ?

– देशमा जति पनि समस्या उब्जेको छ, त्यो अहिलेको संविधानले नै ल्याएको हो । यो संविधानलाई हामी स्वीकार्न सक्दैनौं । केही धनलोलुप र पद लोलुपलाई टेवा दिने काम मात्र संविधानले गरेको छ ।

– जतिबेला मैले झापामा हतियार उठाएको थिएँ, त्यतिबेला देशमा पञ्चायती निरंकुशता थियो । शान्तिपूर्ण आन्दोलन सम्भव थिएन । हतियारको जवाफ हतियारले दिनुपर्ने अवस्था थियो । तर माओवादीले हतियार उठाउँदा त्यस्तो केही थिएन । माओवादीले हतियार उठाएर राजतन्त्र ढलेको पनि होइन । यो शान्तिपूर्ण आन्दोलनकै बलमा ढलेको हो ।

– प्रचण्डले आफ्ना सबै राजनीतिक सिद्दान्तलाई धोति लगाउँदै व्यक्तिगत पुँजी एकठ्ठा गर्नुभयो । अहिलेका राजनीतिज्ञमा सबैभन्दा धन कमाउने प्रचण्ड नै हुनुहुन्छ । उहाँले आफूले कमाएको धनको फस्र्यौट दिनुपर्छ ।

– प्रचण्ड कामरेड आज ठूलो सुरक्षा घेराभित्र कैद हुनुपरेको छ । उहाँलाईर् तागत छ भने हामीजस्तै खुला भएर हिँडेर देखाउनुस् । हान्न त हामीले पनि हानेका हौं, तर खुल्लै हिँडिरहेका छौं । उहाँले जस्तो वाइसिएल लिएर हिँडेका छैनौं ।

– विगतमा मधेसी पार्टीहरुको दबावमा ३५ लाख भारतीयहरुलाई नागरिकता बाँड्ने काम भयो । म त्यसको घोर विरोधी थिएँ । पैसामा बिकेर दुईजनाले सही गर्नेवित्तिकै नागरिकता पाइन्थ्यो । ती सबै नागरिकता खारेज हुनुपर्छ । अहिले पनि कांग्रेसका गृहमन्त्रीले त्यस्तै अभियान सुरु गर्न खोज्नुभएको हो । तर, सक्नुभएको छैन । प्रचण्डसँग कुरा नमिलेको हो कि मिलेको छ, मलाई थाहा भएन । अथवा कांग्रेस नेतृत्वको सरकारको पालामा गर्ने भनेर पर्खिएको पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment