Comments Add Comment

नारायणकाजी निवासमा प्रचण्ड र ओलीको वार्ता

एमालेले भन्यो-चुनावको मिति घोषणा गर्नुस्, संविधान संशोधन होइन

२८ माघ, काठमाडौं । लामो समयदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार वार्ता भएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा करीव एक घण्टा छलफल भएको हो ।

उपाध्यक्ष भीम रावलसहित नारायणकाजी निवास पुगेका ओलीले प्रचण्डलाई तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गरेर जनतालाई चुनाव हुन्छ भन्ने विश्वास दिलाउन आग्रह गरेका थिए । प्रचण्डले भने चुनाव गराउने नै हो भन्दै त्यसअघि संविधान संशोधन टुंग्याउदा मधेशमा सहज वातावरण हुने जवाफ दिएको स्रोतले बतायो ।

ओलीसँगै वार्तामा सहभागी रहेका एमाले उपाध्यक्ष रावलले बोलेर होइन मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन प्रचण्डलाई आग्रह गरिएको बताए । उनले भने, ‘संविधान संशोधनको कुरा उठाएर विषयान्तर नगर्नुस्, चुनावको मिति तोकिहाल्नुस् भन्यौं ।’

छलफल मुख्यतः निर्वाचनकै विषयमा केन्द्रित रहेको तर, प्रधानमन्त्रीबाट प्रष्ट प्रतिबद्धता नआएको रावलले बताए ।

चुनावसँग सम्बन्धित कानुन पास गर्न एमालेले सघाउने बचन समेत ओलीले दिएका छन् । वार्तापछि अनलाइनखबरसँग कुरा गर्दै उपाध्यक्ष रावलले भने, ‘प्रधानमन्त्रीको कुरा अझै पनि क्लियर छैन । चुनावको तयारी भइरहेको छ भन्नुभयो । तर, हामीले तयारी होइन मिति नै चाहियो भन्यौं । वास्तवमा आज एमालेले चुनावबारे गम्भिर रुपमा ध्यानाकर्षण गराएको छ ।’

प्रधानमन्त्रीले मधेसी मोर्चा र एमालेसँग छलफलपछि चुनावको मिति घोषणा गर्ने बताएका थिए । मधेसी मोर्चाले संविधान संशोधनअघि चुनावको मिति घोषणा नगर्न दबाव दिएको छ भने एमालेले चुनावको मिति घोषणा गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment