Comments Add Comment

प्रचण्डले अख्तियारलाई सोधे- भ्रष्टाचार किन रोकिएन ?

'म छिमेकी देशमा जाँदा जेजस्ता अनुभव भोग्नुपर्‍यो त्यस्तो नदोहोरियोस्'

 

२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेका छन् । आयोग स्थापनाको २६ वर्ष पुगिसक्दा पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उनले आत्ममूल्यांकन गर्न निर्देशनसमेत दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २६ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोग स्थापनाको २६ वर्ष भनेको लामो अवधि हो । यति लामो अवधिसम्म पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन ? आयोगले आत्ममूल्याकंन गर्नुपर्ने अवस्था आएको छ ।’

भ्रष्टाचारको विकृति रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाएको भएपनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको उनले बताए । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत लगायतका सरोकार पक्षहरूबीच थप सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

भ्रष्टाचार नियन्त्रण सरकार वा आयोगको मात्र दायित्व नभई आचरण र जीवनशैलीसँग समेत जोडिएको विषय भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबैले सदाचार जीवनशैली अवलम्बन गर्न सकेमा धेरै हदसम्म भ्रष्टाचार न्यूनीकरण भएर जान्छ भन्ने यथार्थलाई हामीले आत्मसात गर्नु आवश्यक छ ।’

आफ्ना काम कारवाहीलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले पर्याप्त ध्यान पुर्‍याउने उनले विश्वास व्यक्त गरे । अनुसन्धान गर्दा व्यक्तिको प्रतिष्ठाप्रति संवेदनशील हुने, निरपराध व्यक्ति सजायको भागी बन्नु नपर्ने र अपराधी उम्कन नपाउने गरी आयोगले आफ्नो पूर्ण क्षमताको उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘विगतका तीता अनुभव व्यहोरेका छौं । म प्रधानमन्त्री भएर राजकीय भ्रमणमा, छिमेकी देशहरुमा जाँदा जेजस्ता अनुभवहरु मैले भोग्नुपर्‍यो फेरि यस्तो कहिल्यै नदोहोरियोस् भन्नेमा आयोग स्पष्ट रहने छ, सजग रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment