Comments Add Comment

जब समर्थन फिर्ता लिन्छु भन्दै शेरबहादुरले प्रचण्डलाई थर्काए…..

सर्वोच्च अदालतलाई छल्न एकाबिहानै आइजीपीको नियुक्ति

१ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आइतबार अपरान्ह ४ बजेतिर मन्त्रिपरिषद बैठक राख्ने तयारीमा थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु’ भन्दै धम्क्याएपछि आइतबार बिहानै ८ बजे क्याबिनेट बैठक बोलाइयो । र, यो बैठकले शेरबहादुर देउवाको ईच्छा पूरा गर्दै नेपाल प्रहरीको आइजीमा जयबहादुर चन्दलाई नियुक्त गर्‍यो ।

कांग्रेस सभापति देउवाको दबावमा राखिएको मन्त्रिपरिषद बैठकले डीआइजी जयबहादुर चन्दलाई आइतबार अपरान्हसम्म नपर्खिइकन बिहानै प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुको एउटा कारण के थियो ? स्रोतका अनुसार देउवा सर्वोच्च अदालतसँग डराएका थिए । त्यसैले उनले आइतबार बिहान अदालत नखुल्दै चन्दलाई आइजीपीमा नियुक्त गर्न प्रचण्डलाई दबाव दिएका हुन् ।

स्रोतका अनुसार कांग्रेस सभापति देउवा शनिबार राति ८ बजेतिर हड्बडाउँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उनले सो भेटमा आइतबार बिहानै मन्त्रिपरिषद बैठक राखेर जयबहादुर चन्दलाई आइजीपी बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुका चार बजेतिर क्याबिनेट बस्छ, त्यहाँ जयबहादुरलाई नै नियुक्त गरौंला भन्ने देउवालाई जवाफ दिए । सर्वोच्च अदालतमा पनि आइतबार नै पेशी तोकिएको हुनाले हतार गर्नुभन्दा विस्तारै आइजी नियुक्त गर्नु राम्रो हुने प्रधानमन्त्रीले देउवालाई बताएका थिए । तर, देउवाले आइतबार बिहान अदालत खुल्नुअगावै चन्दलाई आइजीपी नबनाइए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्दै प्रधानमन्त्रीलाई धम्की दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषद बैठक यस्तो हतारोसँग बस्यो कि केही मन्त्रीहरु बैठकमा पुग्दानपुग्दै बैठक सकिइसकेको थियो ।

देउवाको यस्तो दबावपछि प्रधानमन्त्री कार्यालयले शनिबार रातारात मन्त्रीहरुलाई बैठकका लागि खबर गर्‍यो र आइतबार बिहान ९ बज्दा नबज्दै चन्दलाई आइजीपीमा नियुक्ति गरियो । चन्दसँगै सशस्त्र प्रहरीका एआइजी सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरियो ।

रोचक त के देखियो भने चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषद बैठक यस्तो हतारोसँग बस्यो कि केही मन्त्रीहरु बैठकमा पुग्दानपुग्दै बैठक सकिइसकेको थियो । कतिपय मन्त्री बैठकमा पुग्नै नपाई वीचैमा फर्किनुपर्ने स्थितिमा पुगे ।

नेपाल प्रहरीमा बरियता मिचेर तेस्रो बरियताको व्यक्तिलाई आइजीपी बनाउन लागिएको चर्चा चलेपछि शुक्रबार सर्वोच्च अदालतमा अधिवक्ता कपिलदेव भट्टले रिट दायर गरेका थिए । यो रिटको विषय शनिबार दिनभरि चर्चामा रह्यो । यस्तो चर्चासँगै शेरबहादुर देउवा निकै आत्तिएका थिए । सर्वोच्चले यो रिटमाथि आइतबार छलफल गर्ने भन्दै पेशी तोकेको थियो ।

अदालतले आइजीपी नियुक्तिमा चन्दलाई रोक्ने कुनै आदेश पो गरिदिने हो कि भन्ने देउवालाई ठूलो डर थियो । त्यसैले उनले केही घण्टासम्म पनि नकुरी आइतबार बिहानै, अदालत नखुल्दै चन्दलाई आइजीपीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाव दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment