Comments Add Comment

प्रेमः वर्षमा एकचोटि, एकदिन गर्ने विषय होइन !

पत्थर बन्दै गइरहेको मानव मुटुमा प्रेमको गुलाव रोपौं

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रणय दिवस फेब्रुअरी १४ को अवसरमा सबैमा प्रेमभाव पैदा होस् । शुभकामना !

प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकहाँ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ ।

विपरीत लिंगप्रतिको आकर्षण प्रेम होइन । यो साश्वत प्राकृतिक नियम हो । निश्चित उमेरसँगै सुरूवात हुने यस्तो आकर्षण सृष्टिको निरन्तरताको निम्ति प्रकृति रहेसम्म रहिरहने छ । प्रकृतिका हरेक प्राणीहरूमा यो नियम चलिरहेको छ र चलिरहने छ ।

मान्छे अरू प्राणीभन्दा चेतनशील सामाजिक प्राणी हो । त्यही भएको कारण मान्छेले प्रेम र घृणा, आवेग र विवेक, ब्यक्तिगत चाह र सामाजिक नियम सबै विपरितहरूको स्वत्वलाई गतिशील सन्तुलन मिलाउँदै अगाडि बढ्दछ । यो सन्तुलन मिलाउने सामर्थ्य मानवबाहेक अरू कुनै पनि प्राणीहरूसँग छैन । त्यही कारण मान्छेभित्र विपरीत लिंगप्रतिको प्राकृतिक आकर्षणसँगसँगै विशिष्ट प्रेमभाव पनि हुने गर्छ ।

प्रेमसँग अनिवार्य विवाह र यौनलाई जोडेर हेर्ने र बुझ्ने समस्या सबैतिर छ । प्रेम, विवाह र यौन परिपूरक हुन सक्छन् । तर, एकविना अर्काको अस्तित्व असम्भव भन्ने चाहिँ हुँदैन

सबैभन्दा महान प्रेम मानवप्रेम हो । जसलाई हामी मानवता पनि भन्न सक्दछौं । मान्छेको निजी सम्पत्ति र निजी स्वार्थको कारण मानवप्रेम मानवघृणामा परिणत भएको पनि देख्दछौं । हत्या, हिंसा, युद्ध त्यसैको परिणाम हो । सभ्यताको आरम्भमा समूहमा बस्ने मान्छेहरू कालान्तरमा निजी सम्पत्तिको कारण परिवारमा बस्न थाल्यो । भूगोलको साँध-सीमाना लगाउँदै मेरो देश र तेरो देश भन्दै युद्धसमेत गर्न थाल्यो । जुन नियति भोग्न आज पनि अभिशप्त छ मान्छे ।

निजी सम्पत्तिको सुरूवातसँगै विवाहको इतिहास पनि आरम्भ भएको हो । विश्वबन्धुत्वको मानवताभाव नारी र पुरूषको सम्बन्धमा, अमुक भूगोल, जाति, समुदाय, संस्कृति र रक्तनाताभित्रको पारिवारिक सीमामा संकुचन हुनु राम्रो होइन । खैर, छाडिदिउँ यी कुराहरू ।

प्रेमसँग अनिवार्य विवाह र यौनलाई जोडेर हेर्ने र बुझ्ने समस्या सबैतिर छ । प्रेम, विवाह र यौन परिपूरक हुन सक्छन् । तर, एकविना अर्काको अस्तित्व असम्भव भन्ने चाहिँ हुँदैन । पश्चिमेली समाजमा परिवार विघटनको बढ्दो क्रमसँगै बिबाहप्रति मान्छेको आकर्षण घट्दो छ । यौनलाई सामाजिक मर्यादाको विषयभन्दा विशुद्ध प्राकृतिक आवश्यकताको रूपमा प्रयोग गर्ने जमात बढिरहेको छ । यसरी हेर्दा पश्चिमेली समाजमा सबभन्दा पहिला यौन त्यसपछि मात्र प्रेम र बिबाह गर्ने संस्कार देखिन्छ । यता हामीकहाँ सबभन्दा पहिला बिबाह अनि मात्र प्रेम र यौन भन्ने देखिन्छ । झ्वाट्ट हेर्दा हाम्रो संस्कार सुल्टोजस्तो देखिए पनि व्यवहारिक भने छैन । व्यवहारिक र वैज्ञानिक चाहिँ सबभन्दा पहिले प्रेम त्यसपछि मात्र यौन र विवाह हो ।


तर, यौन र विवाहविना पनि प्रेम एकल अस्तित्वमा रहन सक्छ । यौन प्राकृतिक आवश्यकता हो भने विवाह सामाजिक आवश्यकता (बन्धन ?) । जब सम्बन्धहरू प्रेमिल हुन्छन्, त्यस्ता सम्बन्धहरू प्रगाढ र अमर बन्न पुग्दछन् । प्रेमविनाको बैबाहिक र यौन सम्बन्ध केवल सामाजिक र प्राकृतिक आवश्यकता पूरा गर्ने सीमाभन्दा किमार्थ माथि उठ्न संभव छैन । आजको समाज चाहेर नचाहेर बिडम्बनाको यही बाटो हिँड्न तयार भए जस्तो देखिन्छ ।

मलाई लाग्छ-

मानवप्रेम हरेक बन्धन र स्वार्थभन्दा माथि हुन्छ, मुक्त हुन्छ । यस्तो प्रेमभाव सबै नर-नारीमा त हुन्छ । तर, प्राप्ति भने अपवादले मात्रै गर्न सक्दछ । यस्तो प्रेमको आास्वादन लोभ, मोह, स्वार्थबाट मुक्त मान्छेले मात्रै गर्न सक्दछ । सामान्यत: सबै मान्छेहरूले सोच्दछन्, लोग्ने-स्वास्नीबीचको प्रेम नै अन्तिम र अमर प्रेम हो । त्यसैले मान्छेहरू विवाह बन्धनमा बाँधिन आतुर हुन्छन् ।

निश्चयनै लोग्ने-स्वास्नीमा प्रेम त हुन्छ; तर बन्धन र स्वार्थभन्दा माथिको प्रेम लोग्ने-स्वास्नीमा पनि अपवादमा मात्रै हुने गर्दछ । लोग्ने-स्वास्नीको प्रेम अधिकांशतः सम्झौतामा गएर टुंगिने गर्दछ । निजी स्वार्थ र सामाजिक बन्धनमा गएर लोग्ने-स्वास्नीको प्रेम अन्त्य हुने गर्दछ । मानवप्रेम निजी स्वार्थ र सामाजिक बन्धनबाट सदैव माथि र मुक्त रहन्छ । तसर्थ, मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन; हुन्छ त केवल त्याग हुन्छ, समर्पण हुन्छ । मानवप्रेममा मृत्यु होइन, मुक्ति हुन्छ; स्वार्थ होइन, समर्पण हुन्छ; बन्धन होइन, स्वतन्त्रता हुन्छ; प्राप्ति होइन, त्याग हुन्छ ।

जब मान्छे प्रेमहीन हुन्छ, तब मान्छे मानवबाट दानवमा रूपान्तरित हुन्छ । भ्यालेन्टाइन डेको यस अवसरमा हामी सबैले प्रयत्न गरौं, पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि प्रेमको गुलाव रोपौं

ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई व्यवस्थित गर्ने चुनौति थपिएको छ मान्छेभित्र । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम ।

मानवप्रेम सीमाहीन हुन्छ, आकाश जस्तै । जसको कुनै परिधि हुन्न । भ्यालेन्टाइन डे मानवप्रेमको केवल एउटा अंश मात्रै हो, समग्रता होइन । प्रेमको एउटा अंश नै सही, मान्छेमा अनिवार्य प्रेमभाव हुनैपर्छ । जब मान्छे प्रेमहीन हुन्छ, तब मान्छे मानवबाट दानवमा रूपान्तरित हुन्छ । भ्यालेन्टाइन डेको यस अवसरमा हामी सबैले प्रयत्न गरौं, पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि प्रेमको गुलाव रोपौं ।

अन्तमा, मेरा सम्पूर्ण प्रिय पाठकहरूलाई यिनै शब्दरूपी प्रेमको गुलाव समर्पण गर्दै अन्तर हृदयदेखि भन्न चाहन्छु- ह्याप्पी भ्यालेन्टाइन डे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment