Comments Add Comment

अमेरिकाको नारकीय जिन्दगीः यस्तो कसैले भोग्नु नपरोस्

आम नेपालीले जस्तै एउटा उद्देश्य लिएर म सपनाको देश अमेरिका पुगेको थिएँ । तर, त्यो उद्देश्य लगभग समाप्त भएपछि म क्यालिफोर्नियाको कारसनबाट एक जना मित्र बसेको हडसन (न्यु हेम्पसायर) गएँ ।

साढे पाँच घण्टाको हवाई यात्रा र डेढ घण्टाको सडकयात्रापछि मित्रकोमा पुग्दा मित्र र परिवारबाट राम्रै स्वागत पाइयो । तर, त्यो घर अर्कैको भएको र त्यसमाथि परदेशमा सधैं पाहुना लागेर बसिरहने कुरा भएन । त्यहाँ १५ दिन बसेँ । म सँग अमेरिकामा बस्ने आवश्यक कागजात थिएन । काम पनि पाइने र अमेरिका बस्ने कानुनी प्रक्रिया गर्न पनि सजिलो हुन्छ भनेर उनकै सहयोगमा म न्युयोर्क पुगेँ ।

मित्रसँग झिनो परिचय भएको एक नेपालीसँग कोठा साझेदारी गरेर बस्नेगरी म गएको थिएँ । तर, उसको कोठा देख्ने बित्तिकै दिक्क लाग्यो । कुनै झ्याल नभएको, दिउँसै बत्ती बाल्नुपर्ने र भित्ताबाट ढल रसाउने त्यो कोठामा सास फेर्न पनि मुश्किल हुन्थ्यो । यद्यपि अर्को विकल्प नभएकोले ऊसँगै बस्नुपर्ने बाध्यता थियो । बाध्यताभन्दा ठूलो कुरा यो संसारमा केही रहेनछ भन्ने त्यहीबेला बुझेँ ।

कोठा भाडा मासिक सात सय डलर थियो । त्यसको आधा हिस्सा तिर्नुपर्ने शर्त थियो । एकदिन बिहान म सुतिरहेको बेला ऊ नेपालमा श्रीमतीसँग फोनमा कुरा गर्दै थियो । सायद म मस्त निदाएको छु भन्ने लागेर होला, ऊ निश्फिक्री भएर रमाइलो मान्दै गफिँदै थियो, ‘कोठा भाडा चार सय थियो, अहिले एउटा मुर्गा भेटेको छु । उसलाई गफ दिएर तीन सय पचास तिराएको छु, अब मैले केवल महिनाको पचास डलर तिरे पुग्छ ।’

उताबाट श्रीमतीले के भनिन्, मैले सुन्न सक्ने कुरा त थिएन । तर, पक्कै पनि उसको बठ्याइँको तारिफ गरेको हुनुपर्छ । ऊ निकै खुसी देखिन्थ्यो । आफूलाई नेपालको प्रख्यात तबलावादक र अमेरिकामा रहेका नेपालीहरुबीच परिचित दाबी गर्ने ऊ विभिन्न व्यक्तिसँग सधैं पैसा सापटी मागिरहन्थ्यो । तर, तिर्ने सुरसार भने कहिल्यै देखाउँदैनथ्यो । मसँग पनि सापट लिएको थियो ।

परदेशको ठाउँमा आफूलाई साह्रै आपद् परेको अवस्थामा एकदिन मैले आफ्नो पैसा फिर्ता मागेँ । ऊ मसँग उल्टै रिसायो । अनि मैले भनेँ, ‘यो रिस मलाई होइन, आˆनी श्रीमतीलाई देखाऊ ।’ त्यसपछि खुरुक्क पैसा तिर्‍यो ।

न्युयोर्कमा टिक्न कुनै काम त गर्नैपथ्र्याे । कामका लागि त्यहीँ बसिरहेको कसैले यो मेरो विश्वासको मान्छे हो भनिदिनुपथ्र्यो । अचानक नेपालमा गायनमा धेरथोर परिचय बनाएका र हाल न्युयोर्कमै बस्ने मित्र राम श्रेष्ठसँग भेट भयो । उनकै सिफारिशमा एक भारतीय मूलका व्यक्तिकहाँ काम पाइयो ।

पैसा पुग्दो नभए पनि अब भने अमेरिकामा भोकै मरिँदैन भन्ने लाग्यो । अरु राम्रो काम नपाउन्जेल यही काम गर्नुपर्‍यो भन्ने विचारले मैले काम थालेँ । त्यो ठाउँमा सबै झ्यालढोका बन्द गरेर बत्ती बालेर काम गर्नुपथ्र्यो । कतैबाट एउटा ठूलो ड्रममा गनाउने झोल ल्याइन्थ्यो र त्यो झोललाई स-साना शीशीमा भरेर विभिन्न किसिमका लेबल टाँस्नुपर्थ्याे  । अचम्म त के भने, ड्रमबाट खन्याएको झोल एउटै भए पनि शीशीमा भने थरीथरीका लेबल टाँसिन्थ्यो ।

कसैले तिमी के मा काम गर्छौ भनेर सोधेमा रेस्टुरेन्टमा काम गर्छु भन्नु भनेर निर्देशन दिइएको थियो । मेरो विचारमा त्यो भारतीयले गैरकानुनी काम गथ्र्यो । काम गर्ने ठाउँमा बलिया पाखुरा भएका स्पेनिस मूलका पालेहरु राखिएको थियो । त्यहाँ पैसा माग्न मान्छेहरुलाई पालेहरुले तर्साएर पठाउँथे ।

त्यो भारतीय यति निर्दयी थियो, कामको बेला शौचालय गएको पनि सहँदैनथ्यो । केवल ‘लर्न करो’ (काम सिक) भनिरहथ्यो । मनमा त यस्तो जाबो काम गर्न के सिक्नुपर्छ भन्दिउँ कि जस्तो हुन्थ्यो । तर, मुख फोरेर भन्ने साहस आउँथेन ।

मन नभए पनि त्यस्तै उकुसमुकुसमा काम गरेर दिन बित्दै थियो । यस्तैमा एकदिन एक मित्रको सिफारिशमा मसाचुसेट्स राज्यको लरेन्स भन्ने ठाउँमा रहेको नेपालीको पसलमा काम गर्न गएँ । न्युयोर्कभन्दा करिब पाँच घण्टाको गाडीयात्रापछि त्यहाँ पुगियो ।

त्यो ठाउँ अजीवकै थियो, अमेरिकाभरिका लागूपदार्थ दुव्र्यसनी, अपराधी र देहव्यापार गर्ने महिलाहरुको अखडा यही नै हो कि जस्तो लाग्थ्यो । असल मान्छे कोही पनि छैन जस्तो ।

म पसलमा काम गर्न थालेँ । त्यस क्रममा कोही मसँग पैसा छैन, मलाई सामान देऊ भन्थे । कोही त कम्मरमा पेस्तोल भिरेरै आउँथे । त्यहाँ लगभग हरेक दिनजसो विभिन्न विरोधी समूहबीच ग्याङ फाइट र हवाई फायर हुन्थ्यो । प्रहरीले गोली हानेर मान्छे मारेको कुरा सुनिराखिन्थ्यो ।

जे-जस्तो भए पनि अर्को विकल्प केही नरहेकोले लौ त काम गरूँ भनेर बसिरहेको थिएँ । त्यो पसलको मालिक हो वा म्यानेजर, पहिलो दिनदेखि नै ऊ मप्रति त्यति सकारात्मक थिएन । म जस्तै दुःख पाएका, कागजपत्र नभएका र चिनजानका व्यक्तिले काम गर्ने ठाउँ थियो त्यो । आफ्नो दुनो नसोझिएसम्म काम गर्‍यो, सबै मिलेपछि हिँड्यो । त्यसैले उसले राम्रो व्यवहार नगरेको हुन सक्छ ।

दौड्यो भने हिँड्नुपर्छ भन्थ्यो, हिँड्यो भने किन नदौडेको भनेर निहुँ खोजेको जस्तै गथ्र्यो ऊ । आफूलाई अमेरिकाको घाटघाटको पानी पिएको अनुभवी, तालिम दिन खप्पिस र निकै पैसावाल ठान्थ्यो । मलाई चाहिँ अनुभवहीन र कसैलाई नाइँ भन्न नसकेर काममा राख्नुपरेको जस्तो मात्र देखाउन खोज्थ्यो ।

पसलमा काम गर्न थालेको पहिलो दिनदेखि नै म अर्को विकल्प सोच्न थालेको थिएँ । तर, अर्को काम नपाउञ्जेल यत्तिकै हिँड्नु बुद्धिमानी नहुने देखेर सबथोक सहँदै काम गरिरहेको थिएँ ।

काम गर्ने ठाउँमा त आत्मसम्मान थिएन नै, कामपछि आराम गर्ने ठाउँ पनि सुँगुरको खोर जस्तो थियो । खाना पकाउने भान्छा र शौचालय जोडिएको थियो । राति काम गर्न दिनभरि सुत्नुपथ्र्यो । तर, वरिपरि र खासगरी घरको पल्लो तलामा बस्ने स्पेनिस मूलका व्यक्तिले चर्को स्वरमा गीत बजाउँदा झिमिक्क सुत्न पाइन्थेन । राति काम गर्ने मान्छे दिनमा सुत्यो भने त शरीर बिग्रिन्छ भनिन्छ, अब दिनमा समेत सुत्न नपाएपछि मेरो हालत के भयो होला !

करिब साढे एक महिना काम गरेपछि मैले त्यो काम छाडेँ । बिदा हुने बेला सबैलाई भेटेर काम दिएकोमा धन्यवाद भनेर हिँड्ने विचार थियो । तर, मैले पाउने पैसा अघिल्लो दिन नै हिसाब गरेर राखिएको रहेछ । अर्थात् साहुहरुले मलाई भेट्न चाहेनन् भन्ने बुझेँ । कुरा नगरी हिँडेँ ।
मैले त्यहाँ काम गरेँ र त्यसवापतको पूरै पैसा पनि पाएँ । तर, त्यो अवधिलाई म जीवनको कालो धब्बा मान्छु । गर्ने बेलामा काम गरिस्, अहिले अनेक गुनासो गर्छस् भनेर कसैले भन्ला । त्यो त भन्नेहरुको समस्या हो ।

त्यसपछि नेपालमै छँदा साथी रहेको अर्का व्यक्तिसँग मेरो भेट भयो । कुनै अहंकार नभएको र आफूलाई धेरै प्रचार पनि गर्न नचाहने उनको बानी छ । अहिले उनकै सहयोगमा अर्को काम गर्दै छु । यो काममा आनन्दित छु । मलाई लाग्छ, यो नै मैले इच्छाएको काम हो ।

यो परदेशमा मैले जस्तै वा मैलेभन्दा बढी दुख खेप्ने अनेकौं व्यक्ति होलान् । तर, आफूले भोगेको दुःख नै सबैभन्दा ठूलो हो भन्ने स्वार्थी मानोवृत्तिबाट अरु जस्तै म पनि मुक्त हुन सकेको छुइनँ । यस्तो साधारण मान्छेको तर्फबाट भगवानसँग एउटै प्रार्थना छ, मसँग जस्तो परीक्षा कसैसँग नलिनू !

(यो मेरो व्यक्तिगत कथा होइन, नाम खुलाउन नचाहने एउटा पीडित नेपालीको हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment