Comments Add Comment

निमित्त प्रहरी प्रमुख पोखरेलको निर्देशन- प्रहरीको साख गिर्ने काम नगर्नू

३ फागुन, काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेलले प्रहरीको साख गिर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन् ।

निमित्त प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन पोखरेल मंगलबार दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी पुगेका थिए ।

ब्रिफिङमा सहभागी एक डीएसपीका अनुसार पाखरेलले आफूलाई विसम परिस्थितिले अहिलेको अवस्थामा ल्याएको भन्दै चेन अफ कमाण्ड नतोड्न आग्रह गरेका थिए । कार्यक्रममा उनले भने, ‘म डाक्टर मान्छे परिस्थितिले यो अवस्थामा ल्यायो । म भन्दा तपाइँहरुलाई प्रहरीको बारेमा धेरै जानकारी छ । मेरो कार्यकाल भरी प्रहरीमा आँच आउने काम नहोस् ।’

कानुन अनुसार गर्नु पर्ने काममा कुनै पनि सम्झौता नगर्न पनि निमित्त आईजीपी पोखरेलले निर्देशन दिएका छन् ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले यो निर्णय कार्यान्वयनमा अन्तरिम रोक लगाएपछि सरकारले सोमबार साँझ मात्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो ।

प्राविधिकतर्फका एआईजी पोखरेललाई प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिन प्रहरी नियमावली नै संशोधन गरिएको थियो ।

प्रहरी प्रवक्तामा खनाल

यसैबीच नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी एसएसपी सर्वेन्द्र खनाललाई दिइएको छ । डीआईजी हेमन्त मल्लले अवकाश पाएपछि खाली भएको प्रवक्ताको जिम्मेवारी मंगलबार एसएसपी खनाललाई दिइएको हो ।

आइजीपी सचिवालयमा डीआइजी पद पनि रिक्त भएपछि एसएसपी खनाललाई नै प्रवक्ता तोकिएको हो । एसएसपी खनाल दुई साता अघि मात्रै महानगरीय अपराध महाशाखाबाट आईजीपी सचिवालयमा सरुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment