Comments Add Comment

तस्वीर हेर्नुहोस्, के यसरी ‘आत्महत्या’ हुन सक्छ ?

'भ्यालेन्टाइन डे' को पूर्वसन्ध्यामा प्रियाको रहस्यमय मृत्यु

३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अघिल्लो दिन राजधानीमा एउटा प्रेमविवाहको दुखान्त भयो । ललितपुरको इमाडोलमा बस्ने पि्रया देउजाले सोमबार अनौठो मृत्युवरण गरिन् । उनले इञ्जिनियर विप्लव सुवेदीसँग प्रेम विवाह गरेको करिब दुई वर्षमात्रै भएको थियो ।

३८ लाख खर्चेर गरिएको ‘लभ म्यारिज’

२१ वर्षीया प्रिया र उनीभन्दा केही वर्ष जेठा विप्लव सुवेदीको ०७१ वैशाख ११ गते विहे भएको थियो । विप्लव आइटी इन्जिनियर हुन् । काठमाडौं युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा उनीहरु प्रेममा परेका थिए । उनीहरुको प्रेमसम्वन्ध थाहा पाएपछि दुवै परिवारको सहमतिमा बिहे भएको थियो ।

मिराकल पार्टी प्यालेसमा भएको बिहेमा आफूले ३८ लाख रुपैयाँ खर्च गरेको प्रियाका पिता म्यानपावर व्यवसायी प्रद्युम्न बताउँछन् ।

विवाहपछि दुवैजना अष्ट्रेलिया जाने योजनामा थिए । प्रद्युम्नका अनुसार छोरी-ज्वाइँलाई अष्ट्रेलिया पठाउन उनले आफ्नो घर धितोमा राखेर ५० लाखको बैंक ग्यारेन्टीसमेत गरिदिएका थिए । तर, उनीहरुको भिसा लागेन ।

कम्युटर इन्जिनियरिङ सकेर विप्लवले एउटा कम्पनीमा जागिर खाए । तर, पछिल्लो समय जागिर छोडेर घरमै अफिस खोलेर काम गरिरहेको विप्लवकी आमा रेनु सुवेदी बताउँछिन् ।

विवाहपश्चात श्रीमान र श्रीमतीको सम्वन्ध सुमधुर थियो । प्रिया र विप्लव दुई परिवारबीचको सम्वन्ध पनि न्यानो थियो ।

‘छोरा र बुहारीले एक दिन पनि एक-अर्कासँग ठूलो स्वरले बोलेको मलाई थाहा छैन,’ विप्लवकी आमा भन्छिन्, ‘बुहारी लक्ष्मीजस्ती थिइन्, मैले छोरीसरह माया गरेर राखेकी थिएँ ।’

प्रियाका पिता प्रद्युम्नले पनि अहिलेसम्म छोरी-ज्वाइँबीच झगडा भएको आफूलाई थाहा नभएको बताए ।

अचानक कथा कसरी मोडियो ?

प्रियाका पिता प्रद्युम्न शनिबार पोखरामा थिए । उनका अनुसार राति ११ बजे ज्वाइँ विप्लवले फोन गरेर तुरुन्त काठमाडौं आउन भने । के कारण पर्‍यो भनी सोध्दा विप्लवले तपाईंकी छोरीको अन्तै अफेयर छ भन्ने मैले सुनेँ, कुरा गर्न आउनुपर्‍यो भनेको प्रद्युम्न बताउँछन् । उनी भन्छन्- ‘त्यसपछि मैले छोरीलाई फोन गरेँ, छोरीले यस विषयमा आफूलाई केही थाहा नभएको बताइन् ।’

प्रद्युम्नले थपे- ‘आइतबार हतार-हतार म काठमाडौं फर्किएँ र छोरीलाई फोन गरेँ । तर ज्वाइँका काकाका छोराले फोन उठाए । उनले दाजु-भाउजूको झगडा परिरहेको छ भनेर सुनाए । हामीले लोग्ने-स्वास्नीको सामान्य झगडा होला भन्ने ठान्यौं । तर, राति नौ बजे छोरीले फोन गरेर तुरुन्तै आउनुस भनी । साढे ९ बजे हामी छोरीको घरमा गयौं ।’

प्रियाका पिता भन्छन्- ‘त्यहाँ कुराकानीका क्रममा ज्वाइँले प्रिया अर्कैसित लागेको आरोप दोहोर्‍याउनुभयो । छोरीले त्यो कुरा नकारी । यत्तिकैमा आक्रोशित भएर ज्वाइँंले ‘छोरी फिर्ता लैजानू, नत्र मारिदिन्छु’ भनेर धम्की दिनुभयो । मैले पनि ‘भाँडाकुटी खेलेको हो र मन लागे ल्याउने, मन लागे फर्काउने ?’ भनेर जवाफ फर्काएँ । ज्वाइँंकी आमाले छोरालाई गाली गरेर चुप लगाउनुभयो । सबै साम्य भएपछि हामी साढे ११ बजे घर फर्कियौं ।’

प्रदुम्नले घटनाको विवरण सुनाउँदै अगाडि भने- ‘भोलिपल्ट, अर्थात सोमबार बिहानै प्रियाले आमालाई फोन गरिन् । राति श्रीमानले आफूलाई सँगै सुत्न नदिएको र नन्दसित सुतेको रुँदै सुनाइन् । सासूकै अगाडि श्रीमानले आफूलाई मारिदिने धम्की दिएको पनि छोरीले बताइन् । फोनमा यसो भनेपपछिप्रियाकी आमाले उनलाई श्रीमानलाई फकाउनू, भात पकाएर खुवाउनू भनेर सम्झाइन् । प्रियाले हुन्छ भनेर फोन राखिन् ।’

‘१० बजे म भात खाएर अफिस हिडेँ । दिउँसो १ बजेर ७ मिनेटमा मेरो मोबाइलको घन्टी बज्यो । ‘भाउजूले आत्महत्या गर्नुभयो, छिट्टै आउनुपर्‍यो,’ भनेर उताबाट आवाज आयो’ प्रद्युम्नले भने- ‘ज्वाइँका काकाका छोरा रहेछन्, मेरो होसहवास उड्यो । हुर्रिँदै छोरीको घर पुगेँ । त्यहाँ छोरी झुण्डिरहेकै अवस्थामा थिइन् । उनको आधा पैतालाले भुईंमा टेकेको थियो । पहिलो हेराइमै मलाई यो आत्महत्या हुनै सक्दैन भन्ने लाग्यो ।’

उनले भने- ‘हामी पुग्दा घटनास्थलमा प्रहरी आइसकेको थियो । कोठाको ओछ्यान लथालिंग थियो । ट्वाइलेटको भेन्टिलेसनको एउटा सिसा फुटेको थियो । छोरीको निधारमा नीलडामहरु थिए ।’

‘मलाई लाग्छ, ज्वाइँले छोरीलाई आक्रमण गरे र छोरी बेहोश भएर ढलेपछि काकाको छोरासँग मिलेर उसलाई सलको पासो लगाएर झुण्ड्याइदिए,’ प्रद्युम्नले आरोप लगाए ।

विप्लवको परिवारमा उनकी आमा र बहिनी बस्थे । नन्द र भाउजूबीच दिदीबहिनीको जस्तैसम्वन्ध रहेको प्रियाकी सासू रिनाले बताइन् । विप्लवका बुवा भने केही समयअघिदेखि जापानमा छन् ।

घटनाको दिन सोमबार विप्लवकी आमा खाना खाएर अफिस गएकी थिइन् । उनी मेडिकेयर हस्पिटलमा काम गर्छिन् । बहिनी पनि कलेज गएकी थिइन् । विप्लवका काकाका छोरा उनका घरमा आएका थिए ।

प्रियाकी सासू रीना के भन्छिन् ?

विप्लवकी आमा रीना भन्छिन्- ‘मेरा बुवाको १७ दिन अगाडि देहान्त भएको थियो । माइतीमा उहाँको काम सकेर म शनिबार घर फर्केँ । आइतबार ड्यूटी गएँ । बेलुका खाना खाएर सुतेकी मात्रै थिएँ, बुहारीका आमाबुबा आउनुभएछ । त्यति अबेर उहाँहरु किन आउनुभएको थियो, मलाई थाहा भएन । सबैजना बसेर कुराकानी गर्‍यौं । सामान्य पारिवारिक कुराहरु भए । कुनै विवाद भएको थिएन । राति नै उहाँहरु फर्किनुभयो ।’

आफ्नो छोराले बुहारीलाई मार्छु भनेर धम्की नदिएको रीनाले बताइन् । उनले भनिन्, ‘अघिल्लो दिन राति बुहारीका बुवाआमा हाम्रो घरमा आउनुभएको थियो । त्यति अबेर किन आउनुभयो, मलाई थाहा भएन । उहाँहरुसँग हाम्रो सहज वातावरणमा पारिवारिक कुराकानी भएको थियो । त्यहाँ कुनै वादविवाद भएको थिएन । बुहारी कलेजबाट ढीलो घरमा आउने गरेको विषयमा मैले उहाँहरुको ध्यानाकर्षण गराएकी थिएँ, त्यत्ति हो ।’

रीनाका अनुसार बुहारी प्रिया बिहान ६ बजे कलेज जान घरबाट निस्किन्थिन् र बेलुका ६ बजेपछि मात्रै घर फर्किन्थिन् ।

रीना अगाडि भन्छिन्, ‘भोलिपल्ट (सोमबार) म उठ्दा बुहारी सुतिरहेकी थिइन् । बिहान सात बजे म चिया लिएर बुहारीको कोठामा गएँ र उनलाई उठाएँ । उनी अत्तालिँदै उठिन् । मैले भनेँ- अत्तालिनुपर्दैन, बिस्तारै बढार कुँडार गर, खाना पकाउ । उनले खाना पकाइन् । खाना खाएर म सदाझैं अफिस गएँ ।’

‘दिउँसो घरबाट फोन आयो । बुहारीको नराम्रो खबर सुनेँ । म छाँगाबाट खसेजस्तै भएँ’ रीनाले भनिन्- ‘अफिसको गाडीले मलाई घरसम्म ल्याइदियो । घर आउँदा बुहारी झुण्डिएकै अवस्थामा थिइन् । उनलाई देख्नेवित्तिकै म बेहोस भएर ढोकामै ढलेँ ।’

बुहारीको वियोग सहन आफूलाई गाह्रो भएको रीना बताउँछिन् ।

‘चोट उहाँहरु (माइती पक्ष) लाई मात्र परेको छैन, हामीलाई पनि परेको छ । हामी पनि भावविह्वल छौं । मैले लक्ष्मीजस्ती बुहारी गुमाएकीछु’ रीनाले एकै सासमा भनिन्- ‘हाम्रो एउटै छोरा हो । बुहारीमा खोट लगाउने कुरा केही पनि थिएन । लाउँलाउँ र खाउँखाउँको उमेरमा बिहे भएकाले पनि म बुहारीलाई बढी नै हेरविचार गर्थेँ । यसको भगवान साक्षी छन् । तर, सबैको माया पाउँदा-पाउँदै उनले किन आत्महत्या गरिन् ? मलाई थाहा भएन ।’

तस्वीर हेर्दा उब्जिने प्रश्नः यसरी पनि आत्महत्या हुन्छ ?

प्रिया झ्यालमा जसरी ‘झुण्डिएर मरेकी’ भनिएको छ, तस्वीरमा उनले खुट्टा टेकेको दृश्य प्रष्ट देख्न सकिन्छ । यसले उनको मृत्युमाथि शंका उब्जिएको माइतीपक्षको दाबी छ । प्रियाका माइती पक्षले आफ्नी छोरीको हत्या भएको आरोप लगाएका छन् भने घरपट्टकिाले उनले आत्महत्या गरेको दावी गरेका छन् ।

यो घटनाको निश्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्दै माइती पक्षले सातदोबाटो प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् । प्रहरीले विप्लवलाई कागज गराएर बोलाएका बेला कार्यालयमा उपस्थित हुने गरी छोडेको छ । मृतकको पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।

घटनास्थलको तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । करिब साढे पाँच फिट अग्लो झ्यालको ग्रीलमा झुण्डिएकी प्रियाले दुबै खुट्टा आधा भुईंमा टेकेकी छिन् । उनले झ्यालको ग्रील र पर्दामा समात्न सक्ने अवस्था पनि देखिन्छ । नजिकै रहेका स्टुल र टेबल पंखा ढलेका छैनन् । के उनले सरक्कै आत्महत्या गरेकी हुन् ? तस्वीरले यसै भन्छ ।

प्रियाका बुबा प्रद्युम्नले आफ्नी छोरीले यो अवस्थामा आत्महत्या गरेको हुनै नसक्ने अनलाइनखबरलाई बताए । ज्वाइँले छोरीको हत्या गरेर झ्यालमा झुण्ड्याएको उनको आशंका छ ।

‘पोष्टमार्टम रिपोर्ट आइसकेपछि ज्वाइविरुद्ध किटानी जाहेरी दिनेछु,’ उनले भने ।

तर, प्रियाकी सासू रिना सुवेदीले भने बुहारीले आत्महत्या नै गरेको दाबी गरिन् । आत्महत्या गर्नुपर्ने कारण भने आफूलाई थाहा नभएको उनले बताइन् । उनले आफ्नो छोरो हत्यारा हुनै नसक्ने दाबी गरिन् ।

के भन्छन् विशेषज्ञ ?

दुबैतर्फका कुरा सुनिसकेपछि हामीले वरिष्ठ फरेन्सिक विशेषज्ञ तुलसी कँडेललाई सोध्यौं, के खुट्टा टेकी-टेकी मानिसले झुण्डिएर मर्न सम्भव छ ? उनले यस्तो जवाफ दिएः

‘खुट्टा टेकेको अवस्थामै पनि झुण्डिएर आत्महत्या गर्न असम्भव छैन । आत्महत्या गर्नका लागि तुर्लुङ्ग झुण्डिनुपर्छ भन्ने हुँदैन । कुर्सीमा बसी-बसी आत्महत्या गरेका उदाहरण पनि छन् । नजिकै समात्न र टेक्न सक्ने अवस्था हुँदाहुँदै पनि आत्महत्या हुन सक्छ । झुण्डिएर मर्न कम्तिमा डेढ मिनेटदेखि बढीमा पाँच मिनेट लाग्छ । तर, आत्महत्या हो कि होइन भनेर टुंगोमा पुग्न पोष्टमार्टम नै मुख्य आधार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment