Comments Add Comment

दाइजोले पिल्सिएको समाजः किन चुप हामी ?

हाम्रो समाजलाई दाइजो प्रथाले निकै नराम्ररी गाँजेको छ । कस्तोसम्म अवस्था छ भने, सिन्दूर लगाइसकेकी श्रीमती समेत दाइजोमा कुरा नमिल्दा छोडेर हिँड्ने प्रवृत्ति देखिन्छ ।

बिहेको रीत र संस्कारभन्दा पनि छोरी बिकाउने र ज्वाइँ किन्नुपर्ने अवस्था छ । मोलतोलमा तलमाथि हुनासाथ ज्वाइँ भडि्कने त्रास व्याप्त छ । पहाडमा भन्दा पनि तराईका जिल्लाहरुमा दाइजो प्रथा ठूलो महामारीको रुपमा फैलिएको छ । बिहेको कुरा छिन्ने बेलामै हिसाबकिताब गर्ने गरी दाइजोलाई संस्कृतिको हिस्सा बनाइएको देखिन्छ ।

एक महिनाअघि महोत्तरी जिल्लामा भएको एउटा घटनाले सञ्चारमाध्यममा राम्रै स्थान पायो । दुलहा पक्षलाई बुहारीभन्दा पनि लैनो भैंसी प्यारो देखियो । विवाह सम्पन्न भएर बुहारी लैजाने बेलामा लैनो भैँसी दाइजो नपाएकै कारण विवाह रद्द गरेको घटनालाई धेरैले धिक्कारे ।

महोत्तरी बर्दिबास ८ फूलबारी बस्तीका रामप्रकाश कापरकी छोरी अमृतालाई अन्माउन लाग्दा सम्धी दुखी कापर र ज्वाइँ रौदी कापरले अन्तिम समयमा घर लैजान मानेनन् । सम्धीलाई एक लाख ६० हजार नगद बुझाइसकेका कापरले ज्वाइँलाई एक लाख ९० हजारको मोटरसाइकल दिएका थिए । तर, दाइजोमा एउटा लैनो भैसी नदिएकै कारण बिहे टुट्यो ।

लाखौं खर्च गरेर पनि अन्तिममा छोरी बिदा गर्न नपाएका कापरले ‘गरिबको कुनै जिन्दगी नहुने’ भन्दै बिलौना गरेका छन् ।

नौ कक्षाको पढाइ सकेर बसेकी अमृता उमेरले सानै छिन् । गरिबीकै कारण अभिभावकले सानैमा ऋण खोजेर, जग्गा बेचेरै भए पनि छोरीको विवाह गराउन खोजेका थिए । तर, फिल्मको दृश्य जस्तो भइदियो उनको विवाह समारोह ।

यो त पछिल्लो समयको प्रतिनिधि घटना मात्र हो, तराईका जिल्लाहरुमा दाइजोको बहानामा महिलाहरु हिंसाको शिकार हुने सिलसिला विगत लामो समयदेखि चलिरहेको देखिन्छ ।

दाइजो दिने र लिने नेपाली समाजको पहिलेदेखिकै प्रचलन हो । माइतीले स्वेच्छाले सगुनको रुपमा आफ्नी छोरीलाई दिने यही दाइजो कुनैबेला अपराधको बीउ बनेका अनेकन दृष्टान्त समाजमा देखिन्छ ।

दाइजो स्वेच्छाले दिने भनिए पनि तराईका जिल्लाहरुमा तोकेर लिने प्रचलन छ । यसले एकातिर अभिभावकले आर्थिक बोझ बोक्नुपर्छ भने, केटा पक्षको चित्त नबुझ्दा धेरै छोरी-चेली हिंसाको शिकार हुने गरेका छन् । हुनेखानेहरुको सिको गर्दा निम्न मध्यमवर्गीय परिवारका छोरीको विवाह गर्न समेत असहज हुने अवस्था छ ।

एउटा छोरीको विवाह गर्दा बाउ-आमा बाँचुन्जेल ऋणमा डुब्नुपर्छ । त्यसरी छोरीलाई बिदा गरेर पठाए पनि माइती पक्ष ढुक्क हुने अवस्था रहँदैन, कतिबेला छोरीमाथि आक्रमण हुन्छ भन्ने पिरलो भइरहन्छ । कति महिलाहरु अनाहकमा मारिन्छन्, बाँचेकाहरु प्ानि अनेक प्रताडना सहन बाध्य हुन्छन् ।

चलेको चलन भन्दै समाजका गन्यमान्यहरुले समेत दाइजो प्रथालाई अपनाएको पाइन्छ । समाज सुधारका ऐन कानून बनाउने तहमा पुगेका राजनीतिक दलका उच्च तहका नेताहरु नै दाइजोका प्रेमी देखिएका छन् । मन्त्री भएपछि उनीहरुले सार्वजनिक गर्ने सम्पत्ति विवरणले यही कुराको पुष्टि गर्छ । विवरणमा मन्त्रीले ८०/९० तोलासम्म सुनचाँदी देखाउँछन् र त्यसको स्रोत बिहेको दाइजो भनेर उल्लेख गर्छन् ।

मन्त्री, नेता र सांसदले यसरी दाइजोको प्रचार र भोक जाहेर गरेपछि त्यही भेगको गरिबले आफ्नो ज्वाइँलाई कसरी खुसी बनाउने ? समाजमा दाइजो विरोधी सोच विस्तार गर्न भूमिका खेल्नुपर्ने जिम्मेवारहरुले नै आफ्नो ससुराली सुनैसुनले छाएको देखाएपछि यो प्रथाप्रति बहस कसरी होस् ?

त्यसबाट दाइजोको पक्षपोषण भएर सिको गर्न साधारण नागरिकहरु बाध्य पारिएका छन् । केही नहुनेहरुले समेत चलेको चलन मान्दै जग्गाजमिन बेचेर तथा ऋणपान गरेरै भए पनि छोरीको घरपक्षलाई रिझाउनुपर्ने हुन्छ ।

दाइजो प्रथाले हाम्रो समाजका हरेक वर्गका मानिसलाई नराम्ररी पिरोलिरहेको छ । छोरी जन्मदादेखि नै बाआमालाई उसको पढाइलेखाइभन्दा पनि भोलि कसरी उसको बिहे गरिदिने भन्ने चिन्ताले छोप्छ । कतिपय ठाउँमा भ्रुणहत्यामा समेत दाइजोको डर जोडिएको हुँदो हो ।

तराईमा त छोरीको बिहे गराउनुभन्दा पहिले ज्वाइँसँग लेनदेनमा कुरा मिलाउनुपर्ने अचम्मको परिपाटी छ । केटाले आफूले पढेदेखिको खर्च दाइजोबाट असुल गर्छन् । जागिरेको सवालमा भाउ झन् चर्को हुन्छ । छोरीको बिहे गराउन सामान्य मान्छेको औकातले भ्याउँदैन ।

विद्यमान सामाजिक व्यवहार सुधार ऐनले दाइजोका रुपमा जिन्सी वा नगद लिन नहुने र लिए दण्ड-सजायको व्यवस्था गरेको छ । तर, यथार्थमा भने लैनो भैंसी तथा मोटरसाइकल नपाउँदा छोरी अन्माउनै गाह्रो पर्ने अवस्था छ । यस हिसाबले हाम्रो कानुन कागजको खोस्टा मात्र भएको देखिन्छ ।

विवाह, व्रतवन्ध जस्ता कार्यमा भइरहेको भडि्कलोपना र फजुल खर्चमा नियन्त्रण गर्ने उद्देश्यले ०३३ सालमा सामाजिक व्यवहार -सुधार) ऐन जारी भएको हो । तर, सामाजिक सुधार ऐनको आधारमा कुन परिवारले आफ्नी छोरीको विवाह गरेका छन् ? उदाहरण खोज्नुपर्ने अवस्था छ । कानुन उल्लंघन गर्नेमाथि न कसैले उजुरी दिन्छ, न कसैले कारवाही नै गर्छ । समाज नै गैरकानुनी कामलाई निरन्तरता दिने बाटोमा अग्रसर देखिन्छ ।

घरेलु हिंसाको कारणमध्ये दाइजो प्रथा पनि एक हो । यो प्रथा समाजका लागि विष हो भन्ने थाहा पाउँदापाउँदै पनि पुँजीपति वर्गले यसको खुलेर विरोध गर्न सक्दैन । फलस्वरुप समाजमा महिला शोषण र उत्पीडनको एउटा बलियो हतियार बन्दै दाइजोको चलनले माइती पक्षलाई गरिबै बनाइरहेको छ ।

दाइजो नदिएकै निहुँमा अझै कति छोरीहरु अन्मिने बेलामा अमृताको जस्तै नियतिमा पुग्ने हुन्, यो सिलसिला रोकिने छाँट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment