कोही बगाउँछन् आँसु, कोही लुकाउँछन् आँसु
मनका सबै दुःख-पीडा कहाँ देखाउँछन् आँसु ?
जब आफ्नै कोही आई अँगालोमा समेटिन्छ,
त्यतिखेर गहभरि कहाँ अटाउँछन् आँसु ?
मनमा बस्ने पीडाको त आयु धेरै हुँदै हुन्न,
पीडा बोकी एकैछिनमा त्यसै हराउँछन् आँसु ।
त्यो मन ठूलै होला जसका छल्किँदैनन् आँखाहरू,
जहाँ पीडा सँगसँगै थोरै अटाउँछन् आँसु ।
पोखूँ लाज हुने होला, राखूँ मुटु निसासिन्छ,
आफ्नै मनका साथ लागी बडो सताउँछन् आँसु ।
आँखाले त मनको भाका सही-सही भनी दे न,
खुशी हुँदा पनि यही आँखा बगाउँछन् आँसु ।