काठमाडौं । तत्कालीन अंग्रेज सेनालाई गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक ठाउँको रुपमा सिन्धुलीगढीको छुट्टै ऐतिहासिक चिनारी छ । त्यसबारे लामो समयदेखि अनुसन्धान गर्दै आएका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक प्रकाशन गरेका छन् ।
समृद्ध सिन्धुली अभियानले भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरियो ।
वक्ताहरुले पुस्तकले सिन्धुलीगढी क्षेत्रको वैदिककालीन अस्तित्व र धार्मिक महत्वका साथै सामरिक र आर्थिक महत्वका रोचक सन्दर्भहरु समेत केलाएको टिप्पणी गरे । पुस्तकमा खासगरी नेपालको एकीकरण अभियानमा अवरोध पुर्याउन आएका अंग्रेज फौजसँग गोर्खाली फौजले गरेको युद्धको बारेमा विस्तारमा चित्रण गरिएको छ । लेखकले सिन्धुलीगढीको युद्घ भएको तिथिमिति यकिन गरेर विजय दिवसको दिन समेत पत्ता लगाएका छन् ।
गढी दरबार किन र कसरी बन्यो, बडाहाकिम भएर आएकाहरुले के-के काम गरे भन्ने पनि पुस्तकमा उल्लेख गरिएको छ । जंगबहादुरको अवसानपछि प्रधानमन्त्री बमबहादुरका छोरा बमवीरविक्रमले सिन्धुलीगढी दरबार बनाएको तथ्यसहित त्यसबारे व्याख्या गरिएको छ । नेपालको एकीकरणपछि पनि गढी क्षेत्रमा शासकहरुले आँखा लगाएको सन्दर्भ पुस्तकमा चर्चा गरिएको छ ।