Comments Add Comment

आइफोनको नयाँ संस्करणमा होम बटन ‘गायब’ !

आइफोनको होम बटन अब लामो समय यो संसारमा रहने छैन । एप्पललाई ‘आइआर डिओड्ससहितको अन्तरक्रियात्मक डिस्प्ले प्यानल’ का लागि प्रतिलिपी अधिकार प्रदान गरिएको छ ।

यो एउटा प्रणाली हो, जसले प्रयोगकर्ताहरुलाई टच स्क्रिनभित्र राखिएको भर्चुअल होम बटनमार्फत मोबाइल एक्टिभेट गर्ने सुविधा प्रदान गर्छ ।

यूएस प्याटेन्ट एन्ड ट्रेड अफिसले मंगलबार सार्वजनिक गरेको यो प्रविधिले परम्परागतरुपमा आइफोनको स्क्रिन तल ठाउँ ओगटिरहेको भौतिक होम बटनलाई प्रतिस्थापन गर्न सक्नेछ । यो प्रविधि सबैभन्दा पहिले एप्पलको ट्र्याकिङ साइट एप्पल इन्साइडरले पत्ता लगाएको थियो ।

सन् २००७ मा एप्पलका सहसंस्थापक स्टिभ जब्सले आइफोनको निर्माण गरेपछि यसलाई सञ्चालन गर्ने सबैभन्दा मुख्य बिन्दुका रुपमा गोलाकार होम बटन रहँदै आएको थियो ।

सन् २०१३ मा एप्पलले टच आइडीको विकास गरेपछि होम बटनको विस्थापनको अड्कलवाजी चल्न थालेको थियो । टच आइडी एउटा फिंगरपि्रन्ट सेक्युरिटी सेन्सर हो, जसले यसको आइफोन ५ एसका प्रयोगकर्तालाई पासवर्ड टाइप गर्नु नपर्ने सुविधा दिलाएको थियो । अहिले टच आइडी सेन्सरलाई होम बटनभित्रै राखिएको छ ।

एप्पलले २०१५ मा होम बटनको आवश्यकता नरहने गरी फिंगरप्रिन्ट सेन्सरलाई टचस्क्रिनको शीशामुन्तिर सार्नका लागि प्रतिलिपी अधिकारको निवेदन दिएपछि उक्त अड्कलबाजी अझ झांगिएको थियो ।

एप्पलले पहिलो आइफोनका १० औं वाषिर्कोत्सव मनाइरहँदा आउँदा अर्को पुस्ताको फोन, जसलाई धेरैले आइफोन ८ भनिरहेका छन्, को हार्डवेयरमा ठूलो परिवर्तनको अपेक्षा गरिएको छ ।

अपेक्षित परिवर्तनमा भौतिक होम बटनको उन्मुलन पनि एउटा हो । यसका अन्य सम्भावित परिवर्तनहरुमा घुमाउरो डिस्प्लेसहितको ग्लास र स्टील बडी, ताररहित चार्जिङ र मोबाइल अनलक गर्ने एउटा विधिका रुपमा आइरिस स्क्यानरको प्रयोग लगायत रहेका छन् । यद्यपि यस विषयमा एप्पलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment