डिजिटल युगमा प्रविधिसँग एकाकार हुनु स्वभाविकै हो । यसले हाम्रो जीवनशैलीलाई सहज बनाइदिएको छ । स्मार्टफोन ज्ञान बढाउन, जानकारी जुटाउन, गेम खेल्नका साथै अन्य कामका लागि उपयोगी हुन्छ ।
आजभोलि साना बालबालिका समेत स्मार्टफोनमा अभ्यस्त छन् । अभिभावकले पनि आफ्ना बालबालिकालाई प्रविधिसँग नजिकिन छुट दिएका छन् । यद्यपि यसको साइट इफेक्ट के छ भने, बालबालिकामा स्मार्टफोनको लत बस्दैछ ।
हरक्षण उनीहरु स्मार्टफोनमै रमाउन थालेका छन् । यसले उनीहरुलाई वाह्य संसारबाट अलग गर्दैछ । भर्चुअल संसारमा रमाउने उनीहरुलाई यसबाट छुटाउन टाउको दुखाईको बिषय समेत बन्न थालेको छ ।
बालबालिका प्रविधिसँग एकाकार हुनु स्वभाविक हो । तर, यसकै लतमा फस्नु सही होइन । किन ?
१. सामाजिक एवं पारिवारिक जीवनबाट टाढिन्छ
जब बच्चा सानो हुन्छ, उनीहरुको मस्तिष्क तेज र इन्द्रीय अधिक संवेदनशील हुन्छ । यसबेला बच्चासँग जे कुरा उपलब्ध हुन्छ, त्यसैसँग उसको गहिरो सम्बन्ध बस्छ । यो उमेरमा उनीहरु स्मार्टफोनमा रमाउन थाल्यो भने उनीहरु अन्य सामाजिक कुराबाट विमुख हँुदै जान्छन् । परिवारमा घुलमिल हुदैनन् । अभिभावक र बच्चावीचको प्राकृतिक सम्बन्ध नै बद्लिन्छ । त्यसैले उनीहरुलाई भर्चुअल संसारबाट बाहिर ल्याउनु पर्छ । यसका लागि जुनसुकै समयमा स्मार्टफोन, ट्याबलेट खेल्न दिनु हुँदैन ।
२. शारीरिक विकासमा अवरोध
जब बालबालिका स्मार्टफोन, ट्याब्लेटमा झुन्डिन्छन्, उनीहरु शारीरिक रुपले सक्रिय हुन सक्दैनन् । एउटै कुनामा बसेर, एउटै पोजिसनमा घन्टौसम्म स्मार्टफोन खेलाइरहन्छन् । यसले उनीहरुको शारीरिक विकासमा अवरोध पुग्छ । खेल्ने, उपि|mने, दौडने जस्ता क्रियाकलापलाई यसले बन्देज लगाउँछ ।
३. मोटोपन र रोगको शिकार
शारीरिक रुपमा निस्कृय हुने भएपछि बालबालिकामा मोटोपन बढ्छ । यसले अन्यखाले रोग समेत निम्त्याउँछ । कम उमेरमै उनीहरु रोगी हुन्छन् ।
४ मानसिक तनाव बढ्छ
बच्चाहरु प्रविधिमा रुची राख्न थालेपछि उनीहरुको शारीरिक क्रिया प्रभावित हुन्छ । खानपान र सुत्ने एवं उठ्ने समय तालिका नियमित हुँदैन । यसले उनीहरुमा मानसिक समस्या निम्त्याउँछ ।
५. आधारभूत योग्यताको प्रयोग हुँदैन
भर्चुअल खेलमा अधिक रुची हुँदा उनीहरुको आधारभूत योग्यताको प्रयोग हुन पाउदैन । गणितको अभ्यास एवं अन्य दिमागी व्यायम हुन पाउँदैन ।