Comments Add Comment

चीनमा कुमारी केटीको खडेरी, अविवाहित केटाहरु सकसमा

५ फागुन, काठमाडौं । चीनमा ३० वर्ष कटेका अविवाहित पुरुषलाई ‘शेंगनान’ भन्ने गरिन्छ । यसको अर्थ हो ‘बाँकी रहेका पुरुष’, जसले बिहे गर्न केटी पाएनन् ।

संसारको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा पुरुषको संख्या अत्यधिक छ । यसको कारण हो असन्तुलित लैंगिक अनुपात । एक अनुमान अनुसार सन् २०२० सम्ममा चीनमा तीन करोडभन्दा बढी पुरुषहरु अविवाहित बस्न वाध्य हुनेछन् ।

चीनको एक बच्चा नीतिलाई २०१५ मा खारेज गरिएको थियो, तर यसको असर देखिन अझै कयौं दशक लाग्नेछ । थुप्रै दशकदेखि एक दम्पत्ती एक बच्चा नीतिका कारण केटाको तुलनामा केटीहरुको संख्या असाध्य कम भएको छ । अब यो समस्या झनै चर्केर जाने सम्भावना रहेको बताइन्छ ।

केटीहरुको खडेरीले गर्दा विवाहका लागि उम्मेदवार खोज्न चीनका पुरुषहरुलाई ठूलै कसरत गर्नुपर्ने अवस्था छ ।

अमरिकी राजनीतिक अर्थशास्त्री निकोलस एबरस्टाडले आफ्नो पुस्तक द डेमोग्राफिक फ्यूचरमा लेखेका छन् कि सन् २०३० सम्ममा ३० को उमेर पार गरिसकेका एक चौथाईभन्दा बढी चिनियाँ पुरुष अविवाहित रहनेछन् ।

केटी भेट्टाउन अनेक उपाय

यही मेसोमा विवाहका लागि केटीलाई मनाउनका लागि केटाहरुले अनेक नयाँ उपायहरु लगाइरहेका छन् । सन् २०१५ मा ४० वर्ष पार गरिसकेका एक चिनियाँ व्यवसायीले विवाहका लागि केटा-केटी खोजिदिने सांघाइको एक एजेन्सीमाथि मुद्दा दायर गरे । उनको भनाई थियो, १० लाख डलर आफूसँग लिएर पनि एजेन्सीले केटी खोजिदिन सकेन ।

चीनको दक्षिणी शहर ग्वांङ्जोमा एक कम्प्यूटर प्रोग्रामरले आफ्नी गर्लफ्रेन्डलाई ९९ वटा आइफोन दिएर विवाहको प्रस्ताव राखेका थिए । सामाजिक सञ्जालमा पनि यसको निकै चर्चा भयो तर उनकी गर्लफ्रेन्डले विवाह गर्न अस्वीकार गरिन् ।

चीनमा नयाँ वर्षको उत्सवलाई कुमार केटा र कुमारी केटीहरुको मिलन हुने राम्रो अवसरका रुपमा लिइन्छ । जनवरी-फेबु्रअरीका बीचमा नव वर्षको अवसरमा मानिसहरु आफ्नो घरमा परिवारसँग हुन्छन् । यस दौरानमा विवाहका लागि केटा र केटीहरु भेट गराउने काम तीव्र हुन्छ ।

अनलाइन डेटिङको सहारा

अहिले परम्परागत शैली विस्तारै हराउँदै गइरहेको छ भने अनलाइन डेटिङ चीनमा निकै लोकप्रिय बनिरहेको छ । म्यासेजिङ एप ‘वी च्याट’ चीनमा औधी लोकप्रिय छ । एक युवती जून ली भन्छिन्, ‘पछिल्ला केही वर्षमा चीनमा पनि पश्चिमी देशमा जस्तै डेटिङको खुलापन बढेको छ । युवाहरुसँग अहिले धेरै विकल्प उपलब्ध छन् र उनीहरु आफ्नो आमा-बुवाको भन्दा आफ्नो दिलको कुरा सुन्ने गर्छन् ।’

चीनको पूर्वमध्य तट नजिक रहेको शूजाउमा बस्ने जून लीको उमेर २० वर्ष कटिसकेको छ । चीनमा कुमार केटाहरुको समूहका तर्फबाट डेटिङका लागि सामूहिक कार्यक्रम बढिरहेको उनी बताउँछिन् ।

विवाहका लागि केटीलाई पट्याउन केटाहरुले मनोवैज्ञानिक र स्टाइलिस्टको पनि सहारा लिने गर्छन् । यसैगरी आमा-बुवाबाट विवाहका लागि लगातार दबाव नआओस् भनेर फर्जी गर्लफ्रेन्ड राख्ने चलन पनि फस्टाउँदै गएको छ । यस्तो फर्जी गर्लफ्रेन्डका लागि केटाहरु ‘हायर मी प्लीज’ जस्ता ऐपको सहारा लिने गर्छन् । समाचार अनुसार यस्ता गर्लफ्रेन्डका लागि एक दिनको दस हजार युवान अर्थात करिब १५ सय डलरसम्म खर्च गर्नुपर्छ ।

गाउँका कुमारहरुका लागि केटीको समस्या अझै तीव्र छ किनकी यहाँ परम्परागत किसिमले विवाहका लागि केटाको आर्थिक अवस्था राम्रो हुनु आवश्यक हुन्छ ताकि उसले आफ्नी पत्नीलाई सुरक्षित भविष्य दिन सकोस् ।

करिब ३५ वर्षका होङ याङ यसलाई चिनियाँ ‘सासुको अर्थशास्त्र’ को संज्ञा दिन्छिन् । उनका अनुसार भावी सासुले दुलाहालाई पहिले घर किन्न भन्छिन् । यसैले पछिल्ला केही वर्षमा घरको मूल्य आकासिएको छ ।

पति-पत्नीमा १०-२० वर्षको अन्तर

विवाहभन्दा अगाडि आफ्नो आर्थिक अवस्था मजबुत बनाउन पुरुषहरुलाई कयौं वर्ष लाग्छ । यस्तोमा उनीहरुको विवाहमा ढिलाई हुन्छ । तर यस्ता पुरुषहरु सकेसम्म कम उमेरका केटीसँग बिहे गर्न चाहन्छन् । यही कारणले चीनमा विवाहित जोडीहरुबीच १० देखि २० वर्षको अन्तराल सामान्य कुरा हो । केटीहरुले पनि आर्थिक मजबुतिलाई पहिलो प्राथमिकतामा राख्ने भएकाले बढी उमेरका पुरुषसँग विवाह गर्न तयार हुन्छन् ।

छोरा-छोरी अविवाहित रहँदा आमा-बुवाले प्रशस्त सामाजिक दबावको सामना गर्नुपर्ने हुन्छ । विवाहको प्रतिक्षामा रहेका कुमारहरुको बढ्दो संख्याका कारण चीनमा विवाहको खुल्ला बजारको चलन पनि चलेको छ ।

(बीबीसी हिन्दीबाट भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment