Comments Add Comment

यातायातमा कमजोर लगानीः चीनबाट नसिके भुटानबाट सिकौं !

नेपालमा ५२ हजार किलोमिटर मात्रै सडक सञ्जाल छ

छिमेकी मुलुक चीनले विकासमा ठूलो छलाङ मारेर युरोप र अमेरीकालाई चुनौति दिएको छ । विश्वभर चीनले उत्पादन गरेका सामानहरु आयात हुने गर्छन् । आखिर यत्रो विकास कसरी सम्भव भयो त ? हामी किन पछि पर्‍यौं ?

देश विकासमा सडक सञ्जाल विस्तारको महत्वपूर्ण भूमिका हुन्छ । यातायात क्षेत्रमा गरिएको ठूलो लगानीका कारण अहिले कैयन देशहरुको द्रुत गतिमा आर्थिक वृद्धि भएको छ ।

तर, आर्थिक रुपमा रुपमा सबल हुन भने सडक सञ्जाल बिस्तार मात्रै अचुक उपाय भने होइन । साथसाथै देशमा राजनीतिक स्थायित्व र उद्योगधन्दाको विकास पनि हुन जरुरी छ ।

अर्थतन्त्र मजबुत बनाउनका लागि यातायात क्षेत्रको बिकास महत्वपूर्ण हुन्छ । विश्वमा ठूलो अर्थतन्त्र भएका राष्ट्रहरु हुन् या आर्थिक रुपमा फड्को मारेका राष्ट्र, ती सबैको इतिहास खोतल्ने हो भने यातायात क्षेत्रमा ठूलो लगानी भएको देखिन्छ । तर, हाम्रो देशमा भने यातायात क्षेत्रमा आवश्यक पर्ने ठूलो लगानी नै हुन सकेको छैन । जसका कारण नै देशले आर्थिक रुपमो फड्को मार्न नसकेको हो ।

चमत्कारिक विकासका लागि चमत्कारिक लगानी

छिमेकी राष्ट्रको बिकास चमत्कारिक छ । तर, यो चमत्कारिक विकासको कारण भने यातायात क्षेत्रमा चामत्कारिक रुपमा गरेको लगानी नै हो । चीनले सन् २००९ मा कुल गार्हस्थ उत्पादनको ९ प्रतिशतसम्म लगानी गरेको देखिन्छ । अहिले पनि यसको यातायात क्षेत्रमा भएको लगानी उत्साहजनक अर्थात कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत देखिन्छ ।

हामीले अहिले कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतको हाराहारीमा लगानी गरिरहेका छौं । चीनले आर्थिक रुपमा फड्को मार्नका लागि ९ प्रतिशत लगानी गरेको थियो, जुन हाम्रो तुलनामा ३ गुणा बढी हो । दिगो बिकासका लागि यातायात क्षेत्रमा गर्दै आएको लगानी ठूलो मात्रामा बढाउनुपर्ने देखिन्छ ।

हाम्रा विगतका २० वर्षहरु नियाल्ने हो भने कुल गार्हस्थ उत्पादनको २ प्रतिशतको हाराहारीमा मात्रै यातायात क्षेत्रमा लगानी भएको देखिन्छ । गत वर्षदेखि भने यो करिब ३ प्रतिशतको हाराहारीमा पुगेको छ । तर, यो अझै कम छ । किनकि हाम्रोजस्तो देशले यातायात क्षेत्रमा ठूलो मात्रामा लगानी गनुपर्ने देखिन्छ ।

७५ प्रतिशत समथर भूभाग भएको भारत र हाम्रो प्राथमिकता उस्तै

हाम्रो देशको कुल भूभाग मध्ये ८३ प्रतिशत पहाडी भुभागले समेटेको छ । यहाँ समथर भनेको १७ प्रतिशत मात्रै हो । समथर भागको तुलनामा पहाडी भुभागमा सडक निर्माण गर्न दोब्बर भन्दा बढी खर्च लाग्छ । तर, हामीले ७५ प्रतिशत समथर क्षेत्र रहेको भारतकै तुलनामा अहिले यतायात क्षेत्रमा लगानी गरिरहेका छांै । भारतले अहिले पनि कुल गार्हथ उत्पादनको ३ प्रतिशतकै हाराहारीमा लगानी गरिरहेको छ ।

भुटानको यातायातमा बर्षेनी ५.५ प्रतिशत लगानी

हाम्रो भौगोलिक स्वरुप भूटानसँग मिल्छ जसले बर्षेनी कुल गार्हस्थ उत्पादनको ५.५ देखि ६ प्रतिशतसम्म यातायात क्षेत्रमा लगानी गर्छ । जसका कारण नै अहिले यो देशको आर्थिक बृद्धि ७ प्रतिशतका हाराहारीमा छ । विकासमा धेरै अघि बढेको भुटानबाटै पनि हामीले सिक्नुपर्ने बेला आएको छ ।

अर्काे, दक्षिण कोरिया जसले पनि विकासमा ठूलो फड्को मारिसक्यो । साथै अर्थतन्त्रमा पनि यो मजबुत बन्दै गएको छ । दक्षिण कोरियाले यातायात क्षेत्रलाई प्राथमिकता राखेको छ । विगतमा कोरियाले यातायात विकासमा फड्को मार्न औसतमा कुल गार्हस्थ उत्पादनको ४ देखि ५ प्रतिशतसम्म यातायात क्षेत्रमा लगानी गर्दै आएको थियो ।

युरोपुली मुलकमा मर्मतमै १ प्रतिशत लगानी

युरोपेली मुलुकहरुले सडक निर्माण तथा विस्तारका काम सकिसकेका छन् । त्यसैले उनीहरुले अहिले यातायात क्षेत्रमा गरेको लगानी सानो देखिन्छ । उनीहरुले अहिले कुल गार्हस्थ उत्पादनको १ प्रतिशतको हाराहारीमा लगानी गरेका छन् ।

यातायात क्षेत्रमा अधिकांश विकासका काम सम्पन्न भइसकेका कारण उनीहरुले छुट्याएको लगानी भनेको मर्मत तथा सम्भारका लागि मात्रै हो । तर, हाम्रो प्राथमिकता अहिले युरोपियन मुलुकहरुले मर्मत तथा सम्भारका लागि छुट्टाएको बराबर जस्तै छ ।

विश्व अर्थतन्त्रलाई नियाल्दा यातायात क्षेत्रमा लगानी गरेपश्चात नै कैयन मुुलुकहरुले आर्थिक रुपमा फड्को मारेका छन् । तर, यातायात क्षेत्रमा लगानी गर्दैमा मात्रै पनि मुलुक समृद्ध हुने होइन, सर्वप्रथमत आर्थिक समृद्धिका लागि देशमा चाहिने भनेको राजनीतिक स्थिरता हो ।

अहिले हाम्रो देश द्वन्द्वबाट बाहिर आएको छ । देश द्वन्द्वबाटै बाहिर आएसँगै पछिल्लो समयमा विकासका कामहरु अघि बढेका छन् । तर, पनि यातायात क्षेत्रमा जुन मात्रामा लगानी हुनु पर्दथ्यो, त्यो मात्रामा हुन सकेको छैन ।

नेपालमा अहिले यातायात क्षेत्रमा तीन प्रतिशतको हाराहारीमा भएको लगानीलाई बढाएर अब ५ प्रतिशतभन्दा माथि लानुपर्दछ, यो वर्ष हामीले ७९ अर्ब ७२ अर्ब बजेट यतायातको क्षेत्रका लागि छुट्टाएका छौं तर, यो कम्तिमा पनि १ खर्ब २० अर्बको हाराहारीमा हुन पर्दथ्यो

अब हामीले कति लगानी गर्न उचित ?
छिमेकी मुलुकहरुको तुलनामा हाम्रो विकास निकै पछि परेको छ । दक्षिण एसियामै रहेको सानो राष्ट्र भुटानले आफ्ना आर्थिक सूचक मजबुत बनाएको छ त्यसको एउटै कारण छ यातायात क्षेत्रमा भएको ठूलो लगानी ।

यातायात क्षेत्रमा भएको लगानीको प्रतिफल आजको भोलि नै देखिने होइन यसका लागि केही समय कुर्नपर्छ । तर, अब हामीले भने यातायात क्षेत्रमा लगानी नबढाई कुनै उपाय नै छैन ।

नेपालमा अहिले यातायात क्षेत्रमा तीन प्रतिशतको हाराहारीमा भएको लगानीलाई बढाएर अब ५ प्रतिशतभन्दा माथि लानुपर्दछ । यो वर्ष हामीले ७९ अर्ब ७२ अर्ब बजेट यतायातको क्षेत्रका लागि छुट्टाएका छौं । तर, यो कम्तिमा पनि १ खर्ब २० अर्बको हाराहारीमा हुन पर्दथ्यो ।

अहिले नेपालमा हामीसँग ५२ हजार किलोमिटर मात्रै सडक सञ्जाल छ । तर, नेपालमा मेरो आँकलनमा १ लाख २० हजार किलोमिटर सडक आवश्यक छ । यसरी हेर्दा अझै आधाजसो सडक निर्माण गर्नै बाँकी छ ।

देशमा अहिले राजनीतिक स्थिरता देखिएको छ, त्यसैले अब दिगो विकासका लागि हाम्रो प्राथमिकतामा सडक तथा यातायात पर्नुपर्दछ ।

(भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अधिकारीसँग सुदिल पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment