Comments Add Comment

गुगलमा जागिर खान ७ वर्षीया बालिकाको निवेदन, सिइओले दिए जवाफ

सामान्यतया बच्चाहरु ठूलो भएर डाक्टर, पाइलट वा हिरो-हिरोइन बन्ने सपना देख्छन् । तर सात वर्षीया क्लोइ ब्रिजवाटरको विश्वविख्यात कम्पनी गुगलमा आँखा परेको छ । गुगलको कार्यालयका शानदार तस्वीरहरु इन्टरनेटमा देखेकी यी बेलायती बालिकाले उक्त कम्पनीमा जागिर खान इच्छुक छिन् ।

क्लोइले आफ्ना सुन्दर अक्षरमा गुगलका सिइओ सुन्दर पिचाइलाई जागिर माग्दै एउटा पत्र नै लेखेकी छिन् । उनका पिता एन्डी व्रिजवाटरले बिजनेस इन्साइडरमा सार्वजनिक गरेको पत्रको पूर्णपाठ यस्तो छ ।

प्रिय गुगल बोस

मेरो नाम क्लोइ हो र म अली ठूली भएपछि गुगलमा जागिर खान चाहन्छु । म चकलेट कारखानामा काम गर्न र ओलम्पिकमा पौडी खेल्न पनि चाहन्छु । मलाई कम्युटर पनि मन पर्छ र मेरो आफ्नो एउटा ट्याब्लेट छ जसमा म गेम खेल्ने गर्छु । मेरो बुवाले मलाई एउटा गेम दिनुभएको छ जहाँ मैले रोबोटलाई तल र माथि सार्नुपर्ने हुन्छ । उहाँले भन्नुभएको छ कि मैले कम्युटरको बारेमा धेरै कुरा जान्नु पर्छ । उहाँले मलाई एक दिन कम्प्युटर ल्याइदिने बाचा पनि गर्नुभएको छ । म सात वर्षकी भएँ र मेरा शिक्षकहरुले मेरो बुवा र आमालाई भन्नुभएको छ कि कक्षामा मेरो पढाई धेरै राम्रो छ र म राम्ररी स्पेलिङ भन्न, किताब पढ्न र हिसाब गर्न सक्छु । मेरो बुवाले भन्नुभएको छ, यदि मैले यसरी नै पढाईमा राम्रो गरिरहेँ र कम्प्युटर सिकेँ भने मैले एक दिन गुगलमा जागिर खान सक्नेछु । मेरी बहिनी होल्ली पनि धेरै बाठी छिन् तर उनी एउटी डल जस्तै छिन् । उनी पाँच वर्षकी भइन् । मेरो बुवाले गुगलमा जागिर पाउनका लागि तपाईंलाई एउटा पत्र लेख्न भन्नुभएको छ । मेरो पत्र पढ्नुभएकोमा धन्यवाद । यसअघि मैले फादर क्रिसमसलाई मात्र पत्र लेखेकी थिएँ । गुड बाई ।
                                                                                                                                                                     क्लोई ब्रिजवाटर, उमेर ७ वर्ष

यो पत्रले गुगलका सिइओ पिचाइको ध्यानाकर्षण गरेको छ । उनले क्लेइलाई प्रोत्साहन दिँदै जवाफ पनि पठाएका छन् । पिचाईको पत्र यस्तो छ ?

प्यारी क्लोइ
तिम्रो पत्रका लागि धन्यवाद । म खुशी भएँ कि तिमी कम्प्युटर र रोबोटमा रुची राख्दिरहिछौ र आशा गर्छु कि तिमीले प्रविधिको विषयमा सिक्ने क्रम जारी राख्नेछौ । यदि तिमीले मिहिनेत गरिरह्यौ र आफ्नो सपनालाई पछ्याइरह्यौ भने तिमीले सोचेका कुराहरु, गुगलमा काम गर्नेदेखि लिएर ओलम्पिकमा पौडी खेल्नेसम्म, पुरा हुनेछन् । तिमीले स्कुल सिध्याएपछि जागिरका लागि निवेदन दिनु है । तिमी र तिम्रो परिवारलाई शुभकामना ।

यो पत्रलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै क्लेइका बुवाले आफ्नी छोरी केही वर्षअगाडि कार दुर्घटनामा परेकी र पिचाईको पत्रले उनको आत्मविश्वास जगाउन ठूलो मद्दत गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment