Comments Add Comment

नांगिनु नारी स्वतन्त्रता हो ज्योतिजी ?

नांगो शरीरमा कुनै सौन्दर्य रहँदैन

ज्योति मगर

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।

अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं वर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणी गर्छन् वैज्ञानिकहरू । प्रकृति विरूद्धको संघर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आएका छन् र भविष्यमा पनि हुँदै जाने निश्चित छ ।

मान्छेका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । त्यसैले त अन्य विभिन्न ग्रहहरूमा मानव बस्ती बसाउने विकल्प खोज्दैछन् मान्छेहरू । कुनै दिन अवश्य सफलता प्राप्त हुनेछ मान्छेलाई ।

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।

हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्त्तव‍य हो । केही नकारात्मक कुराहरूमध्ये यहाँ नारी स्वतन्त्रताको अभियानमा देखापरेका विकृतिहरूमाथि टिप्पणी गरिनेछ ।

राधा पोखरेल

खासगरी भारतवर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्र लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ । वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाईं अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूष सहयोगको खाँचो छ ।

नारी स्वतन्त्रताविना किमार्थ, घर-परिवार, समाज र देशमा सुख, शान्ति, खुसी र समृद्धि सम्भव छैन । तर, स्वतन्त्रता भनेको के हो ? सबभन्दा पहिला यो बुझ्न जरूरी छ । मेरो बिचारमा स्वतन्त्रता भनेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो । अधिकारबिनाको कर्तब्य निरंकुश र कर्तब्यबिनाको अधिकार अराजक हुन्छ । पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ ।

हाम्रो संस्कृति, कला, साहित्यको बेइज्जत गर्नमा नारीहरूको शारीरिक सुन्दरता प्रयोग भइरहेको छ । कतिपय नारीहरू पनि त्यसैलाई नारी स्वतन्त्रता बुझेर गौरव गरिरहेका छन् । स्वतन्त्रता भनेको सर्बांग अंग प्रदर्शन हो? पक्कै होइन । यो एक प्रकारको उपभोक्तावाद हो । के नारी उपभोगको साधन हो ? नारीलाई नंग्याएर वा नारी आफु स्वयं नांगिएर नारीको सम्मान बढ्छ ? नारी स्वतन्त्रता सुनिश्चित हुन्छ ? किन हामी यस्तो विनाशका बाटो हिंडिरहेका छौं ? समाज र देशका शासकहरू के हेरिरहेका छन् ? समाज र देशको बेइज्जत हुँदा शासकहरूलाई लाज लाग्नुपर्दैन ?

पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर-परिवार,समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्- ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’

श्लील र अश्लीलको परिभाषा आ-आफ्नो समाज र संस्कृति अनुसार फरक-फरक देखिन्छ । पश्चिमा समाजमा सामान्यत: नारी-पुरूष ‘हग’ गर्नु र ‘किस’ गर्नुलाई संस्कृतिकै रूपमा लिइन्छ । तर, हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइँदैन । तर, नांगिनुलाई पश्चिमेली र पूर्वेली दुबै समाजले पचाउन सक्दैन । अझ हाम्रो समाजले अंग प्रदर्शनलाई वर्जित नै गरेको छ ।

रिया श्रेष्ठ

अंग प्रदर्शनको कारण ज्योति मगर र रिया श्रेष्ठ अहिले चर्चाको चुलीमा हुनुहुन्छ । ब्यक्तिगत रूपमा म उहाँहरूलाई इज्जत गर्छु । उहाँहरूको कलाको सम्मान गर्छु । तर, ब्यक्तिगत स्वतन्त्रताको नाममा देशका विभिन्न भागहरूमा ज्योतिजी र विदेशमा रियाजीले नेपाली संस्कृति र कला प्रदर्शन गर्ने बाहानामा जसरी आफूलाई नंग्याइरहनुभएको छ, त्यसले म जस्ता नेपाली नारीहरूको लज्जाले शीर नुहेको छ ।

मेरो प्रश्न छ उहाँहरूलाई- तपाईंहरूले कस्तो संस्कार दिन चाहनुभएको हो भावी पुस्तालाई ? अनि कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ?

यस पुरूषप्रधान समाजमा स्टेजमा तपाईंहरूको नग्न शरीर र कामुक हाउभाउ देख्दा जुन ताली र प्रसंशाको बर्षा हुन्छ, स्टेजबाट झरेपछि त्यसको सयगुणा बढी निन्दा र भत्सर्ना हुन्छ । बाहिर छोटो कपडामा नारी सुन्दरता देख्ने पुरूषहरू घरमा सकेसम्म बुर्काभित्र देख्न चाहन्छन् नारीलाई । पुरूषको यस्ता संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ । तर, सीमा नाघेर होइन ।

तपाईंहरूले आफूलाई बोल्ड र आधुनिक नारी पनि भन्न सक्नुहोला । तर, अन्ततः तपाईंहरूको क्रियाकलापले नारीलाई केवल भोग्या र पुरूषको मनोरञ्जनको साधन नै बनाउने छ । के यो हामी नेपाली नारीहरूका लागि सुखद कुरा हो ? कृपया एकचोटि निधार खुम्च्याएर सोंच्ने कि ?

अन्तमा, मेरो विनम्र अनुरोध छ- सर्वाङ्ग नांगिन पाउनु नारी स्वतन्त्रता होइन । नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही व्य क्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment