Comments Add Comment

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ६ महिनामै बिछ्याउने योजना, टेण्डर अर्को साता

प्रतिकात्मक तस्वीर

६ फागुन, काठमाडौं । नेपाल र भारतका अधिकारीहरु रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विछ्याउने कार्य अघि बढाउन सहमत भएका छन् । अब छिट्टै टेण्डर प्रक्रिया सुरु गर्ने र आगामी ६ महिनाभित्र नै पेट्रोलियम पाइपलाइन बिछ्याउने योजना बनाइएको छ ।

मुम्बईमा हालै भएको नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन (आइओसी)को बैठकमा आगामी १५ दिनभित्रै पाइपलाइनको ‘रुट (स्पट) एलाइग्नमेन्ट’ टुङ्गो लगाउने सहमति भएको छ ।

सहमति अनुसार पाइप आपूर्ति र पाइपलाइन बिछ्याउने कामको लागि पाइप आपूर्ति गर्न  भारतले अर्को साता टेण्डर आहृवान गर्नेछ ।
४१ किलोमिटर लामो पाइपलाइन बनाउन भारत सरकारले कूल २ सय ७५ करोड भारतीय रुपैयाँ लगानी गर्दैछ ।

साथै नेपाल आयल निगमले ७५ करोड भारतीय रुपैयाँ खर्चिनेछ । पाइपलाइनको २ किलोमिटर भारतीय र ३९ किलोमिटर नेपाली भूभागमा पर्नेछ ।

६ महिनामै बिछ्याइसक्ने योजना

मुम्बई बैठकमा आईओसीले यसै साता पाइप आपूर्तिका लागि टेण्डर आहृवान गर्न लागेको जानकारी दिएको छ ।र, उसले पाइपलाई सुरक्षित रुपमा राख्ने स्थानको माग गरेको छ ।

वीरगञ्जस्थित चिनी कारखानामा पाइप राख्न सहमति दिने प्रक्रिया अघि बढाएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

उनका अनुसार भारतले अबको ६ महिनाभित्र पेट्रोलियम पाइपलाइन तयार गर्न कार्ययोजना अघि सारेको छ ।

चार हजार टहरा भत्काइने

आइओसीले पाइपलाइनको काम छिटो गर्न चासो देखाएकाले नेपालले गर्नुपर्ने सबै काम १५ दिनभित्र सक्ने गरी प्रक्रिया अघि बढेको खनालको भनाइ छ । ‘पाइप किन्दा भन्सार छुट दिन हामीले आपूर्ति मन्त्रालयमार्फत अर्थलाई पत्र लेख्दैछौं,’ आयल निगम प्रवक्ता खनालले भने ।

सडक विभागसँग एक चरणको बैठक गर्नासाथ पाइपलाइन बिछ्याउने अनुमति प्राप्त हुने भन्दै खनालले भने, ‘प्रक्रियामा ढिलाइ नहोस् भनेर आयल निगमले यहाँबाट गर्नुपर्ने कामहरु तदारुकताका साथ गरिरहेको छ ।’

अब पाइपलाइन बिछ्याउँदा सडकको २५ मिटर दायाँ-बायाँका ४ हजार घर-टहरा पनि भत्काइनेछ । पाइपलाइन बिछ्याउने सडकका छेउका बिजुलीका पोलहरु पनि हटाउन बाँकी छ । यसका लागि नेपाल विद्युत प्राधिकरणसँग अनुरोध गरिएको आयल निगमले जनाएको छ ।

कसरी बन्दैछ पाइपलाइन ?

यो पाइपलाइन सडकको केन्द्र भागबाट १२ मिटरको दुरीमा हुनेछ, जुन सडक विस्तार गर्दा गि्रन बेल्टमा पारिनेछ र, जमिनबाट झण्डै २ मिटर मुनि राखिनेछ । पाइपको आकार १० इन्चको हुनेछ ।

भारतबाट पेट्रोलियम पाइपलाइनमा तेल आएपछि अमलेखगञ्जको डिपोमा भण्डारण गर्ने योजना छ । हाल त्यहाँ रहेको डिपोको विस्तार गरेर ८ करोड ३६ लाख लिटरको बनाउनु पर्नेछ ।

अहिले काठमाडौंका लागि वीरगञ्जबाट आयात गरिने पेट्रोलियम पदार्थको भण्डारणका लागि यो मुख्य डिपो हो । र, त्यहाँको भण्डारण क्षमता हाल २ करोड ३६ लाख लिटर छ । यसको क्षमतालाई वृहत रुपमा विस्तार गरेर मुख्य भण्डारण केन्द्रका रुपमा विकास गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment