Comments Add Comment

प्रचण्ड र कमल थापाको प्रेमालापः कहिले होला गणतन्त्रसँग राजतन्त्र मिसाउने !

भूपू मायालुजस्तै राजावादी र माओवादी

६ फागुन, काठमाडौं । विगतमा माओवादीले जतिबेला १० वर्षे जनयुद्ध गरिरहेको थियो, उसको प्रमुख निशानामा संसदवादी शक्ति (कांग्रेस र एमाले) हरु थिए । बाबुराम भट्टराईको शब्दमा भन्नुपर्दा त्यसबेला राजा र माओवादीवीच ‘अघोषित सहकार्य’ नै थियो ।

शुक्रबार भृकुटीमण्डपमा आयोजित राप्रपाको महाधिशवेनमा फेरि उही राजावादी र माओवादीवीचको सहकार्यको ‘कोरस’ सुन्न पाइयो ।

राप्रपाको महाधिवेशनमा शुक्रबार साँझ अलि रमाइलै राजनीतिक परिदृश्य देखिएको महसुस गर्न सकिन्थ्यो । गणतन्त्रविरोधी पुनरुत्थानवादी शक्तिहरुले चलखेल गरिरहेको बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ अकस्मात राजावादीसँगको आफ्नो पूर्वप्रेमको टुसो पुनः अंकुरण गरे ।

प्रधानमन्त्री प्रचण्डको मायालु कुरा सुनेपछि कमल थापा पनि के कम ! उनले पनि ‘निर जैल्यै रिसाउने, कैले होला मायासँग माया मिसाउने’ भन्ने गीतकै झल्को दिने गरी प्रचण्डको ‘आमूल परिवर्तनसँग राजसंस्थालाई मिसाउने’ राष्ट्रवाद र माओवादको चास्नी घोल्न कुनै ढिलाइ गरेनन् ।

प्रचण्डको राप्रपा प्रेम

कार्यक्रममा शुभकामना मन्तव्य दिन केही ढीलो गरेर भृकुटीमण्डप पुगेका प्रधानमन्त्री प्रचण्डले यसो भने-

‘म जनयुद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर । तर, थाहा छैन, तपाई -राप्रपा)हरुसँग दार्शनिक रुपले, वैचारिकरुपले, वैज्ञानिकरुपले कैंयौं मतभेद पनि छन् । तर, किन किन राप्रपासित चाहिँ नजिक-नजिक जस्तो लाग्छ । मिलौं मिलौं जस्तो लाग्छ । कताकता भावनाले छुन्छ । सहकार्य गरौंगरौं जस्तो लाग्छ, त्यसैले टाढा नजानुहोला ।’

कमल थापाको जवाफी प्रेम

कार्यक्रममा प्रचण्डलाई फुर्क्याउँदै राप्रपा अध्यक्ष थापाले यसो भने-

महाधिवेशनमा उहाँ(प्रचण्ड)को उपस्थितिको प्रतिकात्मक महत्व पनि रहेको छ । उहाँले जसरी अघि भन्नु भो, राप्रपा देख्दा कताकता मलाई एउटा भावनात्मक सम्बन्धको अनुभूति हुन्छ । वास्तवमा प्रचण्डसँग सहकार्य गर्दाखेरि मलाई पनि अनुभव त्यही हुन्छ । उहाँसँग काम गर्दाखेरि, उहाँसँग विचार विमर्श गर्दाखेरि म अत्यन्तै निकटताको अनुभव गर्छु । शायद हामीलाई यो निकट गराउने काम राष्ट्रियता हो ।

यो देशलाई बलियो बनाउनुपर्दछ भन्ने तपाईको मान्यता र यो देशलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो मान्यताका वीचमा निकटता छ भन्ने मलाई लाग्दछ । त्यसैले जब म राजासहितको प्रजातन्त्रको कुरा गर्छु, आजदेखि म राजासहितको लोकतन्त्र भन्न थाल्छु । राजासहितको लोकतन्त्रको कुरा गर्दाखेरि मलाई वीपी कोइरालाले भनेको याद आइराखेको छ । ०३३ सालमा उहाँले राष्ट्रिय मेलमिलापको नीति लिएर आउनुभयो । उहाँले भन्नुभएको थियोः प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क । पञ्चहरु प्रजातन्त्रवादीसँग नतर्स । राष्ट्रियता र प्रजातन्त्रलाई एक ठाउँमा लिएर जानुपर्छ ।

म आज भन्न चाहन्छुः गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क । राजसंस्थाका पक्षधरहरु गणतन्त्रसँग नतर्स ।

हामीले एउटा यथार्थलाई बुझ्नुपर्दछ कि नेपाल गणतन्त्रमा प्रवेश गरिसकेको छ । संविधानले गणतन्त्रलाई संस्थागत गरिसकेको छ । यो अवस्थामा परिवर्तनकारी पक्षधरहरुलाई पनि चित्त बुझ्ने ढंगबाट हामीले एउटा साझा संस्थाको रुपमा राजसंस्था र राजसंस्थासहितको लोकतन्त्रलाई ग्रहण गर्न सक्नुपर्दछ ।

सम्माननीय प्रधानमन्त्री माओवादीका अध्यक्ष प्रचण्डजीले धेरै चमत्कार गर्नुभएको छ । एउटा अर्को चमत्कारको आवश्यकता छ । तपाईको विद्रोह र मेरो परम्परागत मूल्य र मान्यताका वीचमा सामाञ्जस्यता कायम गरौं । तपाईको आमूल परिवर्तन र हाम्रो निरन्तरतासहितको परिवर्तनका वीचमा सामञ्जस्यता खोजौं । त्यो नै यो नेपालको अस्थित्वको ग्यारेन्टी हुनेछ । कुनै शक्तिले पनि नेपालको राष्ट्रियता र अखण्डतालाई चुनौती दिन सक्दैन ।

यही मान्यतामा साथ नेपालको राष्ट्रिय राजनीतिमा अघि बढिराखेका छौं । हामी परिवर्तनका विरोधी होइनौं, हामी केवल निरन्तरता सहितको परिवर्तनका पक्षधर हौं ।

लगनपछिको पोतेजस्तै प्रेम !

[sam_list] राजसंस्थासँग माओवादलाई मिसाउने अनि कांग्रेस-एमालेलाई तह लगाउने एउटा ‘अवसर’ इतिहासले कमल थापा र प्रचण्डलाई दिएको थियो । यो ‘अवसर’ लाई चुकाएका दुबै नेताहरु यतिबेला आएर फेरि मिलौं मिलौं जस्तो लाग्यो भन्ने ठाउँमा आइपुग्नु निकै उदेकलाग्दो विषय हो ।

राजावादी र माओवादीको एउटा लाइन चाहिँ आपसमा मिल्छ । कमल थापाले यसलाई राष्ट्रियता भनेका छन् । तर, कमल थापा र प्रचण्डवीच आपसमा मिल्ने कुरो भनेको अहिलेको संविधानले स्थापना गरेको व्यवस्थालाई अल्पकालीनरुपमा मात्रै मान्ने र यसको विकल्प खोज्ने नै हो । प्रचण्ड देव्रेतिर अघि बढेर जनवाद स्थापना गर्न चाहन्छन् भने कमल थापा केही दाहिनेतिर ढल्केर राजतन्त्र फर्काउन चाहन्छन् ।

हिजो ‘जनयुद्ध’कालमा ‘तरबार बेचुवा र घिउ बेचुवा’ जसरी दुबै शक्तिले संसदवाद विरुद्ध एकअर्कालाई प्रयोग गर्न खोजेका थिए । अहिले पनि एमाले र कांग्रेसको विकल्पमा उनीहरुले आ-आफ्नो स्पेस खोजिरहेका छन् ।

तर, गणतन्त्र स्थापनापछि राजावादी र माओवादीको दुरी नै निकै धेरै नेटो काटिसकेको छ । भूपू मायालुसँग जति नै मिलौं मिलौं जस्तो लागेपछि अर्कैसँग घरबार भइसकेपछि पुनर्मिलन निकै दुरह हुन्छ । माओवादीले बाह्रबुँदेमार्फत एमाले कांग्रेससँग घरजम गरिसकेपछि ‘गणतन्त्र’ नाम गरेकी पुत्रीलाभ भइसकेको अवस्थामा शुक्रबार फेरि भृकुटीमण्डपमा ‘बुढेसकालको प्रेम’ प्रकट हुनु एउटा रोचक संयोग हो या, भवितव्यको संकेत, छुट्याउन सहज छैन ।

जतिखेर ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेका थिए, त्यसपछिको सरकारमा कमल थापाहरु नै सारथी थिए । त्यसअघि पनि कमल थापाको नेतृत्वमा माओवादी नेताहरुसँग वार्ता भएकै थियो । दोस्रो वार्ताकाल अघिसम्म माओवादीहरुले गणतन्त्रको वकालत गरेका थिएनन्, सांस्कृतिक राजा मान्न सक्ने संकेत दिएकै थिए । तर, ज्ञानेन्द्र र कमल थापाहरुकै संकीर्णताका कारण गणतन्त्रको वातावरण बनेको हो । अहिले माओवादीलाई ‘आमूल परिवर्तनकारी’ देख्ने राजावादीहरुले भित्तामा नढेलेको भए प्रचण्डले उसबेलै ‘राष्ट्रवादी शक्ति’ मिलेर अघि बढ्ने प्रस्ताव पञ्चहरुसँग गरेकै हुन् । तर, राजावादीकै घ्राणशक्तिमा रहेको कमजोरीका कारण राजनीतिक कोर्ष बाहू्रबुँदेतिर पुगेको हो ।

अहिले फेरि माओवादी र राजावादी मिलेर आमूल परिवर्तन र परम्परालाई फ्युजन गर्ने नारा लगाउनु भनेको बियाँलो गरेर दिन गुमाउने अनि जुनेली रातमा बिस्कुन सुकाउने आहान जस्तै पो हो कि ?
प्रधानमन्त्री प्रचण्डले एकताका आरोप लगाएका थिए कि केपी ओली परिवर्तनलाई उल्टाउनतिर लागेका छन्, संघीयता र गणतन्त्रलाई नै उल्टाउनतिर लागेका छन् । तर, शुक्रबार राप्रपाको कार्यक्रममा ओली चाहिँ बरु प्रचण्डभन्दा बढ्ता गणतन्त्रवादी देखिए । उनले भने-‘गौरवपूर्ण इतिहास बोक्नुपर्छ । तर, जे पनि होइन । पृथ्वीनारायण शाहलाई मानियो भन्दैमा तिनका सन्तान, जो ड्रग्स पनि खान्छन्, तिनलाई पनि बोक्नुपर्छ भन्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment