६ फागुन, काठमाडौं । राप्रपाको महाधिवेशनमा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी चलेको छ ।
कार्यक्रम चलिरहँदा मञ्चमा एकै ठाउँमा बसे पनि देउवा र ओलीबीच खासै सम्वाद भएन । ओली नजिकै रहेका राप्रपा अध्यक्ष कमल थापासँग र देउवा डा. प्रकाशचन्द्र लोहनीसँग भने बेलाबेला कानेखुसी गरिरहेका देखिन्थे ।
शुभकामना दिने क्रममा ओली र देउवाले जुहारी खेले । सुरुमा सम्बोधन गरेर एमाले अध्यक्ष ओलीले राप्रपाले एमाले बाहेक अरु दललाई धक्का दिन सक्ने बताए ।
मञ्चमा बसेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले अरु पार्टीलाई अन्यथा भन्न नखोजेको भन्दै भने, ‘होसियार भए हुन्छ भनेको ।’
ओली सम्बोधनपछि हिँडे । तर, आफ्नो पालो आएपछि कांग्रेस सभापति देउवाले जवाफ दिए ।
राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको उनले बताए । चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको उनले बताए ।
देउवाले हाँस्दै भने, ‘ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापाबाटै आएको छ । होस् गर्नुस् ।’
झापा एमाले अध्यक्ष ओलीको गृहजिल्ला हो ।