Comments Add Comment

मजफ्फरपुरबाटै नेपाललाई ग्यास दिन भारत सहमत, वीरगञ्ज नजिकैसम्म पाइपलाइन ल्याइने

आयल निगमका प्रवक्ता भन्छन्- मासिक १८ करोड लागत घट्छ

सांकेतिक तस्वीर

७ फागुन, काठमाडौं । भारतले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने भएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।

मुजप्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको छ । हालै भारतको मुम्बईमा भएको नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीचको बार्तामा मुजफ्फरपुरको निर्माणाधीन ग्यास डिपोबाट नेपाललाई पर्याप्त लोड दिने सहमति भएको आयल निगमका अधिकारीले बताएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले आईओसी मुजफ्फरपुरबाट नेपाललाई चाहिए जति ग्यास दिन तयार भएको अनलाइनखबरलाई जानकारी दिए । मुजफ्फरपुरमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास नेपाल भित्रिनेछ ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका बीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।

भारतले अहिले मुजप्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ । त्यहाँ ग्यासको भण्डारण केन्द्र पनि बनाइँदैछ ।

अबको डेढ वर्षभित्रै डिपो सञ्चालनमा ल्याइसक्ने भारतको तयारी छ । अहिले रक्सौल हुँदै ग्यास ल्याउन हल्दिया र बरौनी पुग्नुपर्ने बाध्यता छ । सबैभन्दा छोटो दूरीमा रहेको बरौनीकोग्यास डिपो पनि सीमा क्षेत्रबाट २४० किलोमिटरको दूरीमा छ । त्यहाँबाट पनि आईंओसीले सबै बुलेटमा ग्यास भर्न क्षमता राख्दैन ।

नेपालले अहिले बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तरप्रदेशको मथुरा, हरियाणाको कर्नाल, उडिसाको पाराधीबाट ग्यासको लोडिङ सुविधा पाउँदै आएको छ ।

अब मुजफ्फरपुरसम्म नै ग्यासको पाइपलाइन आउने भएकाले भारतले नेपालका लागि आवश्यक सबै ग्यास त्यहीँबाट दिन सक्ने अवस्था बन्दैछ ।

नेपालको मासिक १८ करोड खर्च घट्ने

प्रवक्ता खनाल मुजफ्फरपुरबाट ग्यास आउन थालेपछि ढुवानी लागत ठूलो मात्रामा घट्ने दावी गर्छन् । उनका अनुसार अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्ने उनको भनाइ छ ।

‘मुजफ्फरपुरबाटै ग्यास पाएपछि टाढाबाट ग्यास ल्याउनुपर्ने समस्या हट्नेछ, छोटो दूरीबाटै ग्यास ल्याउन पाइने भएकाले आपूर्ति ब्यवस्था पनि सहज हुन्छ’ खनालले भने,’मुजफ्फरपुर डिपो नेपाललाई ग्यास लोड गर्न केन्दि्रत भए हामीले प्रशस्त लाभ उठाउन सक्छौं ।’

अहिले नेपालमा मासिक ३० हजार मेटि्रक टन ग्यासको माग छ । झण्डै ५ सय भारतीय बुलेटहरुले नेपालका लागि ग्यास बोक्छन् ।

नेपाली उद्योगीहरु आफैंले किनेर ल्याएका बुलेटहरु अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । भारतले नेपाली बुलेटलाई बिष्फोटबाट खतरामुक्त रहेको प्रमाणित गर्ने ढिलाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment