Comments Add Comment

झापामा यसरी फेरिँदैछ राजनीतिक दलको कार्यशैली

रचनात्मक काम गरेर जनताको मन जित्ने होडबाजी

७ फागुन, झापा । केही वर्ष अघिसम्म राजनीतिक दलले आन्दोलन, आमसभा, र्‍याली, कोणसभा, जुलुस, प्रदर्शनलगायतका कार्य गरेर जनताको ध्यान आफूतर्फ आकषिर्त गर्दै आएका थिए । तर, अहिले राजनीतिक दलको शैली फेरिन थालेको छ । र, यसको सुरुवात झापाबाट भएको छ ।

पुरानै शैलीमा अब जनताको मन जित्ने गाह्रो हुने राजनीतिक दलका नेताले निष्कर्ष निकालेका छन् । र, अहिले उनीहरु विभिन्न रचनात्मक काम गरेर जनताको विश्वास जित्ने प्रयासमा होमिन थालेका छन् । नेताहरुले अब आफूहरुको भूमिका फेरिएको बताएका छन् ।

रचनात्मक काम गर्ने होड

झापाको मेचीनगरमा नेपाली कांग्रेसले माघ ८ गतेदेखि १४ गतेसम्म स्वास्थ्य महोत्सवको आयोजना गर्‍यो । त्यस लगत्तै एमालेले मेचीनगरमै फागुन ९ गतेदेखि ११ गतेसम्म बालउत्सव गर्ने घोषणा गर्‍यो ।

अहिले माओवादी केन्द्रले पनि मेचीनगरमै ज्येष्ठ नागरिक महोत्सव गर्ने घोषणा गरिसकेको छ । यी सबै कार्यक्रम एउटै प्रकृतिका छन् । विधा फरक-फरक भए पनि उद्देश्य एउटै हो । यस्ता कार्यक्रम गरेर उनीहरु जनताको मन जित्न चाहन्छन् ।

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अब राजनीतिक एजेण्डा बदल्नु पर्ने भन्दै कांग्रेसले सकारात्मक कुराको थालनी गरेको बताए ।

झापामा कांग्रेसले स्वास्थ्य महोत्सव सुरु गरेपछि अन्य राजनीतिक दलहरुले पनि उस्तै प्रकृतिको कार्यक्रम घोषणा गरेका छन् । र, अहिले राजनीतिक दलबीच रचनात्मक काम गरेर जनताको मन जित्ने होड नै चलेको छ ।

यसरी बन्यो स्वास्थ्य महोत्सवको योजना

विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले झापामा पहिलोपटक स्वास्थ्य महोत्सव गरेको थियो । त्यसपछि लगातार अन्य राजनीतिक दलले कार्यक्रम घोषणा गरे । ‘जसरी एउटा व्यवसाय गर्दा सफलता भयो भने अरु पनि त्यसको सिको गर्छन्’, कार्यक्रमका नेतृत्वकर्ता कांग्रेस नेता शर्माले भने, ‘त्यसरी नै यो महोत्सव फैलिएको छ । राम्रो कुराको अनुशरण हुँदा खुशी लागेको छ ।’

‘देशमा संविधान जारी भएपछि राजनीतिक दलले नयाँ ढङ्गले अघि बढ्नु पर्छ भन्ने हाम्रो मान्यता हो’, उनले अनलाइनखबरसँग भने, ‘त्यही मान्यता अनुरुप हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य महोत्सव आयोजना गरेका थियौं ।’

आफूहरुले भिन्न काम गर्न चाहेको भन्दै उनले सुनाए, ‘अब पनि हामीले जुलुस र भाषण गरेर हुँदैन । जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने काम गर्नु पर्छ ।’

एमाले सांसद भन्छन्, ‘हाम्रो भूमिका फेरियो’

एमालेका झापा क्षेत्र नं. १ का सांसद रविन कोइरालाले विगतमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि आन्दोलन भएको स्मरण गर्दै संविधान जारी भइसकेपछि अब सामाजिक र आर्थिक रुपान्तरणको पालो आएको बताए ।

‘देश निर्माण गर्ने अभ्यासमा राजनीतिक दलले अब रचनात्मक काम गर्दै जानुको विकल्प छैन’, उनले सुनाए, ‘अब हाम्रो भूमिका फेरिएको छ ।’

‘बदलिँदो पस्थितिसँगै स्वरुप फेरिएको हो’

माओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरियाले शान्ति प्रक्रियापछि पार्टीले जनआधारित र जनउत्तरदायी कार्य थालेको बताए ।
‘बदलिँदो पस्थिति र समयसँगै कार्यक्रम र स्वरुप फेरिएको हो’, उनले भने, ‘जनताको भावना, दैनिक क्रियाकलाप, विद्युत्, विकास निर्माण लगायतको विषयमा काम नगरी हामीलाई छुटै छैन ।’

स्वास्थ्य शिविरदेखि साहित्यिक बहससम्म

कांग्रेसले गरेको स्वास्थ्य महोत्सवबाट करिब २१ हजार लाभान्वित भएको महोत्सव आयोजक समितिका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए । उनका अनुसार महोत्सवमा १ सय ६३ जना स्वास्थ्यकर्मी स्वास्थ्यसेवा दिन खटेका थिए ।

देशभरबाट आएका स्वास्थ्यकर्मीहरुले मुटु, मिर्गौला, कलेजो, मधुमेह, इएनटी, हाडजोर्नी, बालरोग, स्त्रीरोग, आँखा, नसा, फोक्सो, बुढ्यौली जस्ता रोगको उपचार गरे । कार्यक्रम उपचारमा मात्र सीमित थिएन, त्यहाँ ‘स्वास्थ समाजका लागि स्वस्थ साहित्य’ विषयमा बहस पनि भयो ।
बहसमा स्वास्थ्यमन्त्री गगन थापा, नेता प्रदीप गिरी, प्रा.डा. अभी सुवेदी, खगेन्द्र  सङ्ग्रौला, पत्रकार रविन्ऽ मिश्र, मुमाराम खनाल लगायत सहभागी भए । महोत्सवमा ‘प्यानल डिस्कसन’ आकर्षणको केन्द्रविन्दु बन्यो ।

छलफलमा सहभागीले दलले आयोजना गरेको स्वास्थ्य महोत्सवलाई सामाजिक आन्दोलनको मौलिक प्रयोग भएको बताए । साहित्य, कला र संस्कृतिसँग सम्बन्धित महोत्सवहरु धेरै हुने गरेता पनि यो भने फरक धारको महोत्सव भएको उनीहरुको भनाइ थियो ।

महोत्सवमा स्वस्थ रहनका लागि खेलकुदको भूमिका बारेमा सचेतना जगाउने उद्देश्यले भलिवल र कराते प्रतियोगिता पनि राखिएको थियो । साथै, रक्तदान एवम् रक्त समूह पहिचान समेत गरियो ।

बालउत्सव सर्वोत्तममा हितमा केन्द्रित

त्यस्तै एमालेले क्षेत्र नं. १ को आयोजनामा धुलाबारीमा फागुन ९ गतेदेखि ११ गतेसम्म हुने बालउत्सवमा बालबालिकाको सरोकारसँग सम्बन्धित विषय उठाइने एमाले सांसद रविन कोइरालाले अनलाइनखबरलाई बताए ।  उनका अनुसार बालबालिकाको चौतर्फी विकासका लागि बालउत्सवको आयोजना गरिएको हो ।

‘महोत्सवमा बालबालिकालाई समाज निर्माण, राजनीति, शिक्षासँग सम्बन्धित विषयवस्तुमाथि उत्प्रेरणा जगाउने किसिमको छलफल पनि हुनेछ’, उनले सुनाए, ‘बालबालिकामा पठन संस्कृति, बालमैत्री स्थानीय शासन, नेपालको संविधान र बालअधिकार, वैदेशिक रोजगार र बालमनोविज्ञान लगायतको विषयमा पनि छलफल हुनेछ ।’

यसका साथै, कार्यक्रममा बालबालिकाको क्षमता विकास र प्रष्फुटनका लागि विज्ञान प्रदशर्नी, पुस्तक प्रदशर्नी, तारामण्डल प्रदशर्नी, नृत्य, चित्रकला, कविता प्रतियोगिता लगायतका कार्यक्रम पनि हुनेछन् ।

समग्रमा यो कार्यक्रम बालबालिकाको सर्वोत्तम हितमा केन्द्रीत हुनेछ । महोत्सवको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

ज्येष्ठ नागरिक महोत्सवको चर्चा

बालमहोत्सव सकिनेवित्तिकै माओवादी केन्द्रको ज्येष्ठ नागरिक महोत्सव कार्यक्रम हुँदैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरियाका अनुसार ज्येष्ठ नागरिक महोत्सवको बारेमा छलफल भइएको छ ।

‘यो विषयमा छलफल भइरहेको छ, ठोस निर्णय नै चाहिँ भइसकेको छैन’, उनले अनलाइनखबरसँग भने, ‘अब जनतासँग सरोकार राख्ने कार्यक्रम नगरी हामीलाई धरै छैन ।’

माओवादी केन्द्र, झापाका जिल्ला सचिवालय सदस्य समेत रहेका कडरियाले अहिले विकास निर्माणका योजना गाउँगाउँमा ल्याएर जनताको मन जित्ने प्रयास गरिरहेका छन् ।

उनले सडक, विद्युतीकरण, पुल, खानेपानी, स्वास्थ्य, सिँचाई, नदी नियन्त्रण, विषादि परीक्षण प्रयोगशाला लगायतका थुप्रै योजनाहरु भित्र्याउन महत्वपूर्ण भूमिका खेलेर जनताको मन जित्ने कोशिस गरिरहेका छन् ।  प्रस्तुत तीन राजनीतिक दलको गतिविधिले दलहरुको शैली फेरिँदै गएको देखाएको जिल्लाका नागरिक अगुवा बताउँछन् ।

जनता लाभान्वित

पहिले आन्दोलन र प्रदर्शन गर्दै आएका राजनीतिक दल अहिले रचनात्मक काम गरेर जनताको मनमा बस्ने होडमा होमिएका छन् ।
सिर्जनशिल कामका लागि राजनीतिक दल बीच होडबाजी चल्दा जनता प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । जसले समाजलाई प्रत्यक्ष रुपमा फाइदा पुर्‍याएको छ ।

कार्यक्रम आयोजनाका लागि उद्योगी, व्यापारी र कार्यकर्ताबाट सहयोेग उठाइने गरिएको छ । त्यसको पारदर्शितामा पनि राजनीतिक दलहरु सचेत हुनु पर्ने नागरिक अगुवा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment