Comments Add Comment

‘बर्दीवाला गुण्डा’ का चर्चित भारतीय लेखक वेदप्रकाश शर्माको निधन

आमिर खानको लागि फिल्म लेख्दै थिए, पूरा भएन योजना

भारतीय साहित्यकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको उत्तरप्रदेशको मेरठस्थित शास्त्रीनगरमा रहेको निवासमा शुक्रबार राति निधन भएको हो । उनको शनिबार दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक सय ७६ वटा उपन्यास लेखेका वेदप्रकाश ‘बेस्टसेलर’ लेखक थिए । उनले सन् १९९३ मा प्रकाशित ‘बर्दीवाला गुण्डा’ बाट बढी लोकप्रियता पाए । सो उपन्यास अहिलेसम्म आठ करोड प्रति बिक्री भइसकेको बताइन्छ । उपन्यासमै आधारित रहेर ‘बर्दीवाला गुण्डा’ नामको फिल्म पनि बनेको थियो । यस्तै, उनको ‘लल्लू’ उपन्यासमाथि ‘सबसे बडा खिलाडी’ फिल्म बनेको थियो । यी सहित उनले आधा दर्जन फिल्म र केही टीभी सिरियल पनि लेखेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार, पछिल्लो समय अभिनेता आमिर खानले एउटा फिल्मको स्क्रिप्ट लेख्न आग्रह गरे अनुसार उनी त्यसमा काम गरिरहेका थिए ।

सन् १९७३ मा पहिलो उपन्यास ‘दहकता शहर’  प्रकाशन गरेका वेदप्रकाशले १९८५ मा आफ्नै प्रकाशन संस्था तुलसी पाकेट बुक्स स्थापना गरेका थिए । उनका एक सय ७६ वटा उपन्यासमध्ये ७० वटा यही प्रकाशनबाट छापिएका थिए । भारतमा उनको लेखनको ख्याति यस्तो थियो, किताब आउनु अगाडि नै अग्रीम बुकिङ हुने गर्थ्यो । नेपालमा पनि एउटा पुस्ताका पाठक उनको लेखन व्यग्र भएर पढ्थे ।

वेदप्रकाश १९५५ जून ६ तारिखमा उत्तरप्रदेशको बुलंदशहर जिल्लाको बिहरा गाउँमा जन्मिएका थिए । उनका प्रिय लेखक मुंशी प्रेमचन्द थिए ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment