Comments Add Comment

‘मान्छे सानी सानी’ भन्दै प्रलितासँग छमछमी नाचे कमल थापा !

राप्रपाको बन्दशत्रमा कोमल ओली र रेखा थापाले नचाए

७ फागुन, काठमाडौं । नायिका रेखा थापा जुन पार्टीमा लाग्छिन्, सो पार्टीका अध्यक्षले कम्मर मर्काएर नाचेको समाचार सुन्न पाउनु शायद एउटा संयोग नै मान्नुपर्छ । राप्रपा अध्यक्ष कमल थापा महाधिवेशनको बन्दसत्र हलमा शनिबार साँझ श्रीमती प्रलितासँग छमछमी नाचेका छन् ।

शनिबार साँझ भृकुटीमण्डस्थित बन्दशत्र हलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख आकर्षण थिए- कोमल ओली, रेखा थापा र गायिका मीरा राणा ।

बन्द शत्रमा राप्रपा नेताहरुलाई कोमल ओली र रेखा थापाले गीत गाएर नचाएका हुन् । बन्द सत्रमा गायिका एवं केन्द्रीय सदस्य कोमल ओलीले ‘मान्छे सानी सानी, खोज्दै आयो जवानी, दुर्गा होइन भवानी’ बोलको गीत गाएकी थिइन् । कोमलको यही गीतमा अध्यक्ष थापा पत्नीसहित छमछमी नाचेका हुन् ।

कोमल ओलीले गीत गाउने क्रममा अध्यक्ष कमल थापाको जोडीले जसरी पनि नाच्नुपर्ने प्रस्ताव आयो । सबैले हाँ मा हाँ मिलाउँदै अध्यक्ष थापाले नाच्नै पर्ने प्रस्ताव राखे । त्यसपछि थापा दम्पति कोमल ओलीको गीतमा नाचेका हुन् । उनीहरु धक फुकाएर करिब पाँच मिनेटसम्म नाचेको बन्दशत्रमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

अध्यक्ष दम्पती नाच्न थालेपछि राप्रपाका नेता कार्यकर्ताहरुमा उत्साह भरिएको देखिन्थ्यो ।

कोमल ओलीले जस्तै रेखा थापाले पनि बन्दशत्रमा गीत गाएकी थिइन् । रेखाले हलमा केही बेर भाषण पनि गरिन् । उनले गीत गाउन माइक्रोफोन समातेको मौका पारेर राप्रपाकै झण्डामुनि मर्ने इच्छा रहेको बताउँदै केन्द्रीय सदस्यमा जिताइदिन भोटसमेत मागिन् ।

राप्रपामा लाग्नुपूर्व माओवादीमा प्रवेश गरेकी नायिका रेखाले माओवादीको हडतालका बेला सिंहदरबार अगाडिको सडकमा माओवादी अध्यक्ष प्रचण्डलाई ‘लालुपाते नुग्यो भुईंतिर’ बोलको गीतमा छमछमी नचाएकी थिइन् ।

विधान र प्रतिवेदन पारित भयो, उम्मेद्वारी मनोनय भोलि

यसैवीच राप्रपाको बन्दसत्रले राजसंस्थासहितको लोकतन्त्र राजनीतिक कार्यदिशा रहेको थापाको राजनीतिक प्रतिवेदन पास गरेको छ । विधान पनि पास भएको छ ।

डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्र भने छलफलमै रहेको छ । छलफलमा ११४ जनाले भाग लिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शुक्रबारबाट सुरु भएको राप्रपा एकता महाधिवेशनमा भोलि बिहानदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । भोलि आइतबार बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता र सोमबार मतदान गर्ने कार्यक्रम छ ।

अध्यक्ष पदका लागि कमल थापा र डा. प्रकाशचन्द्र लोहनी भिड्ने सम्भावना छ । महाधिवेशनको पूर्वसंध्यामा कमल थापाको नाममा सर्वसम्मत जुटेको भए पनि लोहनी पछि हटेका छन् र अध्यक्षमा उठ्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment