Comments Add Comment

एयरपोर्टमा चरा धपाउन पाँच सिकारी

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउन सिकारीको व्यवस्था गरिएको छ । जहाजमा चरा ठोक्किने समस्या भएपछि धपाउन सिकारी राखिएको हो । सिकारी १८ घन्टासम्म चरा धपाउने ड्युटीमा हुन्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता पि एन ठाकुरले चरा धपाउन पाँचजना सिकारी रहेको जानकारी दिए । उनका अनुसार सिकारीले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म चरा धपाउने ड्युटी गर्छन् ।

चरा धपाउन सिकारीलाई गुलेली, भरुवा बन्दुक, टर्च लाइटजस्ता सामग्री उपलब्ध गराइएको छ । चरा धपाउन आवाज आउने मेसिन ग्यास क्यानन तथा वेलर, एक्रोक्रोलगायतका प्रविधिको पनि प्रयोग गरिएको छ । विमानस्थल क्षेत्रमा गिद्ध, काग, चिललगायतका चरा आउने गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विमानस्थलमा खटिएका सबै सिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका कर्मचारी हुन् । सिकारीलाई विमानस्थलभित्रै बस्ने र खाना–खाजाको व्यवस्था छ । विभागका महानिर्देशक मनबहादुर खड्काले विमानस्थलका सिकारीलाई वेलावेला सरुवा गर्ने गरिएको जानकारी दिए ।

नेपाली आकासमा चरा ठोक्किएर दर्जनौँ दुर्घटना भइसकेका छन् । तर, नागरिक उड्डयन प्राधिकरणसँग सबै तथ्यांक छैन । प्राधिकरणले मानवीय तथा जहाजको क्षति भएका दुर्घटनाको मात्र सूची राख्ने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, पोखरा र विराटनगर विमानस्थलमा पनि यस्ता घटना हुने गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment