Comments Add Comment

विमला तुम्खेवाका तीन प्रेम कविता

१. छली मुस्कान

तिम्रो आँखामा देखिएको सपना जस्तो
मसँग केही छैन
जीवनको उमंग

छन् त
खालि यी नीला सागर छन्
जसमा सलबलाइरहेछन् अनेक दुःखहरु
यो विरही क्षितिज छ
र केही उदास गीतहरु छन्
जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ

अब,
दोहोरिने छैन कहिल्यै पृथ्वीमा
एउटा यस्तो सत्य
तिम्रो आँखा जस्तै सुन्दर
तिम्रो मुस्कान जस्तै शालीनता

हिँडेर कहिल्यै नसकिने यी बाटाहरु जस्तै
देखेर कहिल्यै नसकिने यी सपनाहरु जस्तै
एक्लै मुस्कुराइरहेकी तिमी
थाहा छ तिमीलाई ?
तर,
जीवन जस्तै छली तिम्रो मुस्कान मलाई औधी मन पर्छ ।

२. रातो गुलाफ

मायाले मेरो आँखामा नियाल्दै भन्यो-
गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको
समुद्र
हिमाल
र महादेशहरु नाघ्दै
आइपुगेको एक्लो मान्छे तिमी
कुनै देशको एक्लो राजा जस्तै

फेरि भन्यो-
तिमी छौ र यो मरुभूमिमा पानीको दह छ
तिमी छौ र संगीत छ
तिमी छौ र मेरो आँखामा सपना छ

औंलाहरु सुम्सुम्याउँदै भन्यो फेरि-
एक्लो तारा हेर त मुस्कुराइरहेको…
मैले सोधेँ
के हामी रातो गुलाफको पत्रमा शीत झैं सुहाउन सक्छौं !

जवाफमा
तिम्रो आँखामा मेरो जस्तो सपना थिएन
एक्लो राजा जस्तो
उदास जीवन जस्तो
सैनिकको कब्जामा परेको निहत्था मान्छे जस्तो
मैले हेरिरहेँ
सबै सपना भत्किएको तिम्रो आँखा

कति हुरी सहेर
कति दुःख काटेर
उभिएकी छु तिम्रो सामु रातो गुलाफ लिएर
म भन्छु, तिमीसँग पनि मेरो जस्तै सपना होस्  ।

३. अनुभूति

तिम्रो स्पर्श
कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ
र, अल्झिरहेछ
त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान

मसँग
झरीमा रुझेर हतार गर्दै
भीड पन्छाउँदै तिमीसम्म आउने
त्यो चाह छैन
सँगै,
आकाश नियाल्नु, प्रेमको कुरा गर्नु केही छैन

तर,
किन दोहोरिन्छ अतृप्त चाहना
किन बिर्सिनसक्नु ती क्षणहरुले पछ्याइरहन्छन्
सायद, अल्झिएर अतीतहरुमा बाँच्नु जीवन हो ।

(‘संस्मरण एउटा बूढो रुखको’ संग्रहबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment